कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री पदमा भट्टको उम्मेदवारी
2021/11/29, 11:10
 
ss

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हुने सुदूरपश्चिम प्रदेश कार्यसमितिको अधिवेशनमा कञ्चनपुरका नेता तथा महाधिवेशन प्रतिनिधि चिन्तामणि भट्टले महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन्। बैतडी र कञ्चनपुरको पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील भट्टले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन्।

भट्ट कांग्रेसभित्र सभापति शेरबहादुर देउवानिकट मानिन्छन्। पार्टीका नेता–कार्यकर्तासँगको छलफलपछि प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने निष्कर्षमा पुगिएको नेता भट्टले जानकारी दिए। हालै भएको महाधिवेशन प्रतिनिधिको निर्वाचनमा समेत भट्ट कञ्चनपुरको २ नम्बर निर्वाचन क्षेत्रबाट लोकप्रिय मतका साथ विजयी भएका थिए। भट्टले राजनीतिक यात्रा बैतडीको सनातन धर्म माविमा नेविसंघ इकाई अध्यक्ष भएर सुरु गरेका हुन्। उनी २०४२ सालमा नेपाली कांग्रेसद्वारा गरिएको सत्याग्रहमा नेविसंघ बैतडीको तर्फबाट सहभागी भएका थिए।

पार्टीको १०औं महाधिवेशनका क्रममा नेपाली कांग्रेस बैतडी क्षेत्र नम्बर ३ को सचिव भएका उनी २०४९ सालको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए। उनी २०५१–२०६० सालसम्म बैतडी कांग्रेसको जिल्ला कार्यसमिति सदस्य समेत भए। त्यसपछि कञ्चनपुर आएर पार्टीमा सक्रिय भएका भट्ट १२औं महाधिवेशनका क्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ कञ्चनपुरको क्षेत्रीय सभापति बनेका थिए। उनी १३औं महाधिवेशनमा समेत क्षेत्रीय सभापतिमै निर्वाचित भए। हालै सम्पन्न १४औं महाधिवेशनको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका भट्ट नेपाली कांग्रेस संगठन विभागको केन्द्रीय सदस्यमा कार्यरत छन्।

प्रजातान्त्रिक अभियानका क्रममा उनी २०४२, २०४६ र २०६२/६३ सालमा भएका आन्दोलनमा पटक–पटक गरी ३ महिना हिरासतमा समेत परेका छन्। महामन्त्री पदका उम्मेदवार भट्ट सामाजिक संघसंस्थामा समेत आवद्धता हुँदै आएका छन्। २०५८–२०७७ सालसम्म नेपाल बाल संगठन कञ्चनपुरको सचिव भएका उनी शुक्लाफाँटा आरक्ष जग्गा समस्या समाधान आयोगमा पार्टीको प्रतिनिधित्व गरी सहभागी भएका छन्। कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी, हिमालय मैत्री संघ, सामुदायिक विकास कोष झलारीका उनी संस्थापक हुन् । उनले भूमिराज मावि बैतडी र बैजनाथ मावि कसरौल कञ्चनपुरको अध्यक्ष भई प्राविदेखि उच्च माविसम्मको नेतृत्व समेत गरेका छन्।