सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सञ्चार जगत निष्पक्ष हुनु पर्ने बताएका छन् । सोमबार धनगढीमा प्रेस सेन्टर नेपालको प्रदेश स्तरीय दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री भट्टले पेशागत रुपमा सञ्चार जगत निष्पक्ष हुन आवश्यक रहेको उल्लेख गरे । ‘यदि, त्यसो भएन भने मिडिया जगत पूर्वाग्रही हुन्छ र कहिलेकाँही हामी त्यस्तो भएको देख्ने गर्दछौ’, उनले भने, ‘नेपालमा विशुद्ध स्वतन्त्र मान्छे भेटिदैनन् । हरकोही कहीँ न कहीँ आस्थावान हुन्छ तर, सञ्चार जगत निष्पक्ष हुनै पर्दछ ।’
मुख्यमन्त्री भट्टले सञ्चार जगत स्वतन्त्र रहनु पर्ने कुरामा कसैको दुईमत नरहेको बताए । यद्यपि, सञ्चारकर्मी कति स्वतन्त्र हुनुपर्छ भन्ने कुरामा भने बहस गर्न आवश्यक रहेको उल्लेख गरे । हिलेकाँही सञ्चारकर्मीले अनावश्यक दुःख पनि दिने गरेको भन्दै उनले एउटा स्वतन्त्र व्यक्तिले अरु व्यक्तिलाई कति अप्ठ्यारोमा पारिरहेको छ भन्ने कुराको पनि ख्याल गर्न आवश्यक रहेको बताए ।
‘मिडिया जहिले पनि सरकारको प्रतिपक्षीको रुपमा भूमिका निर्वाह गर्छ यो कुरा मैले बुझेको छु’, मुख्यमन्त्री भट्टले अगाडि थपे,‘मिडियाले सरकारको रचनात्मक आलोचना गर्न आवश्यक पनि छ । तर, एकोहोरो प्रतिपक्षमात्रै भइयो भने वादविवादमात्रै हुन्छ । त्यसले कुनै निष्कर्ष दिदैन ।’ पार्टीगत विचारधारा बोकेका पत्रकारका सङ्गठनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सबै पत्रकारका साझा सङ्गठन नेपाल पत्रकार महासङ्घले छलफल चलाउन जरुरी रहेको मुख्यमन्त्रीको भनाइ थियो । यसैगरी, उनले सञ्चार जगत जस्तै सरकार पनि निष्पक्ष हुन आवश्यक रहेको औंल्याए ।