​​​​​​​सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण घटेको बेला नयाँ भेरियन्ट ओमिक्रोनको त्रास
2021/12/01, 3:05
 
aa

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण घटेको बेला नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेको छ । भारततर्फबाट आउनेसंगै ओमिक्रोन भित्रिने खतरा रहेकाले त्रास बढ्न थालेको हो ।

भारतमा तत्काल ओमिक्रोन फेला परेको नसुनिए पनि ढुक्क भइहाल्ने अवस्था भने नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अफ्रिकाबाट विश्वका अन्य देशमा फैलिरहेको ओमिक्रोन भारतहुँदै नेपालमा आउन सक्ने सम्भावनातर्फ सतर्क रहन सो मन्त्रालयले प्रदेशवासीलाई आग्रह गरेको छ ।

नेपाल वरिपरिका राष्ट्रहरुमा ओमिक्रोन फेला परेको अहिलेसम्म नसुनिए पनि बाह्य मुलुकबाट फर्किने व्यक्तिले सजगता अपनाउन आवश्यक रहेको मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । ‘अहिलेसम्म हाम्रो वरिपरिका मुलुकमा ओमिक्रोन रहेको सुन्नमा आएको छैन । तर, एकै जनामा देखियो भने पनि यसको जोखिम छ’, उनले भने । ‘त्यसैले सबैले सजगता, सतर्कता अपनाउन आवश्यक छ ।’ 

सुदूरपश्चिम प्रदेशमा सीमा पारिबाटै आउनेहरुबाट कोरोना सल्केको तथ्य सबैलाई जगजाहेर छ । यदि, छिमेकी राष्ट्रमा नयाँ भेरियन्ट फेला प¥यो भने विगत जस्तै प्रदेशमा खतरा हुन सक्नेतर्फ मन्त्रालयले सचेत गराएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरससंग जुध्नु परिरहेकाले ओमिक्रोन भित्रिन नदिन बाहिरबाट आउने सबै व्यक्ति जिम्मेवार बन्न आवश्यक रहेको कार्कीले उल्लेख गरे । ‘बाहिरबाट आउने व्यक्ति स्वयम् जिम्मेवार भएर आइसोलेसनमा बसि दिएमा राम्रो हुन्छ’, प्रवक्ता कार्कीले भने ।

पहिलो र दोस्रो लहरको क्रममा ठूलो कष्ट भोगेको सुदूरपश्चिम प्रदेशमा अचेल कोरोना सङ्क्रमण धेरै घटेको छ । सङ्क्रमण घटेसंगै बजार क्षेत्रमा पनि सामाजिक दूरी नराख्ने, मास्क नलगाउने, जमघट गरी रमाइलो गर्ने जस्ता गतिविधि बढेको छ । विद्यालयहरु सञ्चालनमा आएका छन् ।  सङ्क्रमण घटेको बेला भइरहेको यस्तो गतिविधिले ओमिक्रोनको जोखिम बढाउन सक्ने देखिएको छ । खास गरेर भारतबाट आउने व्यक्तिहरुले नाकामै कोरोना परीक्षण गराइ दिएमा जुनसुकै भेरियन्टको जोखिमबाट जोगिन सकिने प्रवक्ता कार्कीले बताए । 

सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय कोरोना सङ्क्रमण घटेको छ । तर, शून्यमा भने झरिसकेको छैन । अझै पनि दैनिक केही व्यक्तिमा सङ्क्रमण पुष्टि भइरहेको छ । नोभेम्बर महिनाको सुरुदेखि हालसम्म यो प्रदेशमा १९५ जना नयाँ सङ्क्रमित थपिएका छन् । यद्यपि, पहिलेको तुलनामा सङ्क्रमण न्यून छ । 

अहिले कोरोना सङ्क्रमण कम भए पनि फाटफुट केही व्यक्तिमा सङ्क्रमण देखा परिरहेको प्रवक्ता कार्कीले बताए ।सङ्क्रमण नरोकिएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्न सकेको छैन । प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयको आइतबारको तथ्याङ्क अनुसार प्रदेशभरि हाल ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यो प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा हालसम्म ४८ हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट जाँच गर्दा सङ्क्रमण पुष्टि भएकामध्ये ३८ हजार चार र एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएकामध्ये नौ हजार ५९० जना निको भएका छन् । कोरोना सङ्क्रमण भएपछि मृत्यु हुनेको सङ्ख्या ६०९ पुगेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।