दुई देशीय खुला सिमानाका कारण कोरोनाको जोखिमसंग जुझदै आएको सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको खोप कभरेज बढ्दै गएको छ । यो प्रदेशमा हालसम्म ३७.५६ अर्थात सात लाख ३१ हजार ७९० जनाले पूर्ण खोपको मात्रा लगाइसकेका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको सङ्ख्या सात लाख ८७ हजार ३४२ अर्थात ४०.४१ प्रतिशत रहेको छ ।
अहिले प्रदेशमा कोरोना विरुद्धको खोपको पहुँच बढ्दै गएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए। ‘अहिले १८ वर्ष उमेरमाथिका सबैलाई खोप लगाउन थालिएपछि कभरेज बढेको छ’, उनले भने । ‘उमेर पुगेका इच्छुक सबैले खोप लगाउन सक्छन् ।’ मन्त्रालयका अनुसार यो प्रदेशमा अहिलेसम्म खोप कभरेज दार्चुलामा सबैभन्दा बढी रहेको छ । सो जिल्लामा ६१ हजार ७५० जना अर्थात ६४.४६ प्रतिशत व्यक्तिले दोस्रो डोजसमेत खोप लगाइसकेका छन् । यसैगरी, पहिलो मात्रा लगाउनेको सङ्ख्या भने ६८ हजार ९२ अर्थात ७१.०८ प्रतिशत रहेको छ । दार्चुलामा ९५ हजार ८०१ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
बाजुरामा २३ हजार ५७३ अर्थात २२.७६ प्रतिशत जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । यसैगरी, यो जिल्लामा पहिलो मात्रा खोप लगाउनेको सङ्खा ४१ हजार १९० अर्थात ३९.७७ प्रतिशत पुगेको छ । बाजुरामा एकलाख तीन हजार ५७८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिइएको छ । यस्तै, एक लाख ४७ हजार ७२३ जनालाई खोप लगाउने लक्ष्य राखिएको बझाङ्मा हालसम्म ५१ हजार ५४ अर्थात ३४.५६ प्रतिशतले पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या भने ५३ हजार ३७९ (३६.१३) प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, डडेल्धुरामा २४ हजार ८८७ अर्थात २३.६४ प्रतिशतले पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । एक लाख पाँच हजार २९१ जनालाई खोप लगाउने लक्ष्य राखिएको यो जिल्लामा पहिलो मात्रा लगाउनेको सङ्ख्या ३१ हजार ६०७ अर्थात ३०.०२ प्रतिशत रहेको छ । बैतडीमा ५४ हजार ८९४ (३१.१४ प्रतिशत) ले दुवै डोज र ६४ हजार ५४४ (३६.६१ प्रतिशत) ले पहिलो मात्रा कोरोना विरुद्धको खोप लगाइसकेका छन् । यो जिल्लामा एक लाख ७६ हजार २९१ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
डोटीमा हालसम्म ५१ हजार ५४६ (३६.६० प्रतिशत) ले पूर्ण मात्रा र ४९ हजार ३३० (३५.०३ प्रतिशत) ले पहिलो डोज खोप लगाएका छन् । यो जिल्लामा एक लाख ४० हजार ८२८ जनालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । त्यस्तै, एक लाख ९१ हजार २७० जनालाई खोप लगाउने लक्ष्य राखिएको अछाममा हालसम्म ६५ हजार ३०४ (३४.१४ प्रतिशत) मान्छेले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैगरी, ५७ हजार ८४८ अर्थात ३०.२४ प्रतिशतले पहिलो डोज खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी, प्रदेशमा सबैभन्दा बढी छ लाख ३४ हजार ६४४ जनालाई खोप लगाउने लक्ष्य राखिएको कैलालीमा हालसम्म दुई लाख ७० हजार ९२६ (४२.६९ प्रतिशत) जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् । ४६.३० प्रतिशत अर्थात दुई लाख ९३ हजार ८७१ जनाले पहिलो मात्रा खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ । यस्तै, कञ्चनपुरमा हालसम्म एक लाख २७ हजार ८५६ अर्थात ३६.२२ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइसकेका छन् । तीन लाख ५२ हजार ९६२ जनालाई खोप लगाउने लक्ष्य राखिएको यो जिल्लामा पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या भने एक लाख २७ हजार ४८० (३६.१२ प्रतिशत) रहेको छ ।