भूपेन्द्रको हत्याअघि नवीन रावलको ‘हत्या योजना’ बनेको थियो !
घटनाको दिन सँगै फुटबल मैदानमा थिए भुपेन्द्र र नवीन
2021/12/01, 3:31
 
aa

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या प्रकरणको अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ । प्रहरी अनुसन्धानका क्रममा भुपेन्द्रको हत्या भएकै दिन नवीन रावलको हत्या योजना बनेको प्रहरी अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी गराएका छन् ।

नवीन भुपेन्द्र हत्या आरोपमा फरार छन् । प्रहरीले नवीनकै योजनामा भुपेन्द्रको हत्या भएको बताउँदै आएको छ । गत कात्तिक २३ गते साँझ भुपेन्द्रको टीकापुरमा हत्या भएको थियो । उनीमाथि आर्यन देवकोटाले चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

फुटबल मैदानमा सँगै थिए मृतक नवीन र भुपेन्द्र

कात्तिक २३ गते कैलालीको लम्कीमा रहेको मैदानमा थिए नवीन रावल र भुपेन्द्र बडुवाल । नवीनसँग उनको ‘ग्याङ’का अन्य सदस्य पनि लम्कीकै मैदानमा भइरहेको फुटबल हेरिरहेका थिए । भुपेन्द्रले त्यहाँबाट नवीनका गतिविधिबारे कपिल श्रेष्ठलाई जानकारी दिइरहेका थिए । सो क्रममा कपिलले भुपेन्द्रलाई २६ पटक र भुपेन्द्रले कपिललाई चारपटक फोन गरेको देखिएको छ ।

गुण्डागर्दीमा सक्रिय कपिलले भुपेन्द्र मार्फत् नवीन रावल र उनको समूह फुटबल मैदानबाट कहाँ जान्छन् ? के गर्छन् भन्ने कुराको जानकारी लिइरहेका थिए । प्रहरी अधिकारी भन्छन्, “कपिलले भुपेन्द्र मार्फत् नवीनको सूचना लिइरहेका थिए । तर नवीन फुटबल मैदानबाट कहाँ गए अरुले जानकारी पाएनन् ।”

कपिललगायतलाई नवीन रावल टीकापुर जाने सूचना थियो । सोही सूचनाको आधारमा उनीहरु कैलालीको डुडेझारी जंगलमा खुँडालगायतका धारिलो हतियार लिएर बाटोमा पर्खिएर बसेको अनुसन्धानमा खुलेको छ । कपिलको भनाई उद्धृत गर्दै एक अधिकारी भन्छन्, “हाम्रो समूहले नवीनलाई मार्ने योजना बनाएको थियो । तर योजनाअनुसार फुटबल मैदानबाट नवीन कतिबेला निस्किए सूचना पाउन सकिएन ।”

डुडेझारीको जंगलको बाटो हुँदै नवीन नभएर मदन शाही (प्रहरी इन्सपेक्टर)का भाई जान लागेको अवस्थामा उनी कपिल श्रेष्ठको ग्याङको फेला परे ।  मोटरसाइकलमा रहेका मदनले हतियार सहित देखेपछि उनी मोटरसाइकल कुदाएर त्यहाँबाट उम्किन सफल भए ।

जयन्द्र शाहको समूहले नवीन लगायतको समूहलाई खोजी रहेको थियो । मृतक भुपेन्द्र र जयन्द्रको समेत राम्रो सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । मदन उम्किन सफल भएपछि प्रहरीले डुडेझारीमा रहेको कपिलको समूहका केही सदस्यलाई नियन्त्रणमासमेत लिएको थियो । सोही क्रममा त्यहाँबाट कपिल उम्किन सफल भए । उनी टीकापुरमा बारीमा लुकेका थिए ।

कपिलहरुको पञ्जाबाट उम्किएका मदन र भुपेन्द्रको भेट टीकापुरस्थित रोड साइड क्याफेमा भएको देखिएको छ । त्यहाँ नवीनको समूहले कपिल समूहको खोजी गर्ने र जसलाई देख्यो त्यसलाई सिध्याउने योजना बनाएको पाइएको छ । दुवै समूह एक अर्कालाई खोज्न सक्रिय भए । प्रहरीको हातबाट उम्किएका कपिलले फेरि साँझ आफूलाई लिन जसरी पनि आउन भनेको पाइएको छ । सोही क्रममा भूपेन्द्र नवीन समूहको फेला परे । भूपेन्द्रसँगै रहेका अर्का साथी भाग्न सफल भए । आर्यन देवकोटाले भुपेन्द्रमाथि चक्कु प्रहार गरे । उनको मृत्यु भयो । प्रहरीले आर्यनलाई नै मुख्य अभियुक्त बनाएको छ । केहीदिनमै पत्रकार सम्मेलन गरेर अभियुक्त सार्वजनिक गर्ने प्रहरी तयारी छ । नवीन रावल फरार छन् । उनीविरुद्ध प्रहरीले विभिन्न अपराधमा संलग्न भएका उजुरी पनि रहेको जनाएको छ ।

कपिल केही दिनअघि मात्रै काठमाडौंबाट कैलाली गएका थिए । तर उनी गएकै दिनदेखि घर नगएर टीकापुरकै एक होटलमा बसेका थिए । त्यहाँबाट उनले नवीन र उनको समूहमाथि आक्रमणको योजना बनाएको र त्यसका लागि उनले भूपेन्द्रलाई प्रयोग गरेको खुलेको छ । प्रहरीका अनुसार घटनामा दुई गुण्डा समूहको पुरानो ‘दुस्मनी’ नै रहेको पाइएको छ । आफ्नो प्रभुत्व जमाउन टीकापुर लम्की क्षेत्रमा ५ बढी गुण्डा समूह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गुण्डाहरुलाई विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले समेत संरक्षण गरेको संकेत पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।  एक अधिकारी भन्छन्,“विगतमा भुपेन्द्र पनि कहीँ न कहीँ गुण्डा समूहसँग जोडिएका देखिन्छन् । त्यसैले कपिलले उनलाई प्रयोग गरेका हुन् । तर खासमा दुई गुण्डा समूहको मोहरा उनी बने ।”  काठमाडौंमा बस्दै आएका बडुवाल दसैं मान्न घर फर्किएका थिए । तिहारपछि उनी काठमाडौं फर्किने योजनामा थिए । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयको विशेष टोली सक्रिय छ ।