नेपाल–भारत सीमामा आवतजावत गर्न परिचयपत्र अनिवार्य
2021/12/02, 10:21
 
ss

दार्चुलास्थित नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्नका लागि परिचयपत्र अनिवार्य देखाउनुपर्ने भएको छ । पिथौरागढमा सम्पन्न भारत–नेपाल समन्वय समितिको बैठकमा परिचयपत्रको आधारमा मात्रै सीमा क्षेत्रमा मानिसहरुलाई आवतजावत गर्न दिने विषयमा अधिकारीहरुबिच सहमति भएको हो ।

अहिलेसम्म सीमा क्षेत्रबाट जो पनि सिधै प्रवेस गर्न सक्ने परिस्थिती भएकोले एक आपसमा विभिन्न किसिमका गतिविधि हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै परिचयपत्र अनिवार्य गर्ने समझदारी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले जानकारी दिए ।कुनैपनि परिचय खुल्ने परिचयपत्रको आधारमा आवतजावत गर्न दिने र समस्या बुझेर आवश्यक सहजिकरण समेत गर्ने विषयमा सहमति भएको उनले बताए । टाढाबाट आएको मान्छे कसैसंग परिचयपत्र नभएको अवस्थामा भने स्थानीय प्रशासन संग सहजिकरण गरेर समस्या समाधान गर्न सकिने बताईएको छ ।

दार्चुला सदरमुकाम खलंगास्थित झोलुगें पुलघाटमा भारतीय एसएसवीले नेपाली नागरिकलाई अनिवार्य परिचयपत्र देखाउन साइनबोर्डमा सूचना नै राखेको छ । हरेक दिन किनबेच, मदजुरी गर्न र अन्य काम विशेषले भारत जानेलाई पनि परिचयपत्र अनिवार्य गरिएको छ । सामान किनबेच गर्न भारतीय बजार धार्चुला जाने नेपालीहरुको पुलमै लाइन लगाएर एसएसविले नागरिकता वा अन्य परिचयपत्र हेरेर मात्रै भारतीय क्षेत्रमा प्रवेस दिइरहेको खलंगाका व्यापारी रबिन्द्रबहादुर बमले जानकारी दिए । परिचयपत्र देखाउनकै लागि लाइन बस्नुपर्दा समय बढी खर्च हुनुका साथै सास्ती भोग्नुपरेको उनको गुनासो छ ।