शनिवार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय संक्रमित पुरूषको स्वास्थ्य अवस्था गम्भीर वन्दै गएको छ । सेती प्रादेशिक अस्पतालले आईसियूमा राखेर उपचार गरीरहेकोमा मंगलवार रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । उनलाई एयर एम्बुलेन्स मार्फत उद्धार गरी काठमाडौँ पठाउने तयारी भईरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महशाखा प्रमुख नरेन्द्र कार्कीले बताए ।
सेती प्रादेशिक अस्पतालले हवाइ उद्धारका लागि अनुरोध गरेपछि आफुहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई हवाइ उद्धारको व्यवस्था मिलाई दिन आग्रह गरिसकेको कार्कीले बताए । संक्रमित पुरुष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बस चालक हुन्। यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो ।
नवजिवन अस्पतालमा जान अघि उनी धनगढीकै माया मेट्रो अस्पतालमा पनि गएका थिए । माया मेट्रो अस्पतालले भर्ना हुनुपर्ने सुझाव दिएकोमा उनी भर्ना नभई सिधै घर गएका थिए भने अर्को दिन नवजिवन अस्पताल आएका थिए । उनले अत्तरियाको क्लिनिक र अस्पतालमा उपनि जाँच गराएको पारिवारिक स्रोतले जनाएको छ ।
यसै बिच धनगढीमा एक बर्षीय बालकमा कोरोना पुष्टि भएको एक दिन वितिसक्दा पनि उनको परिवार सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । मंगलवार दिउँसो धनगढी उप–महानगरपालिका वडा नम्वर १ का एक बर्षीय बालकमा कोरोना पुष्टि भएको थियो ।
धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले कोरोना पुष्टि भएपनि संक्रमित वा संक्रमितको परिवारलाई सम्पर्कमा ल्याउन नसकिएको बताए । सेती प्रादेशिक अस्पतालबाटै स्वाब संकलन गरिएकोले ती वालक र उनको परिवारलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको उनले जानकारी दिए ।
यसअघि धनगढीमै दुई वर्षीया बालिकामा पनि कोरोना पुष्टि भएको थियो । गत मंगलवार धनगढी उप–महानगरपालिका वडा नम्वर १ की एक महिला र उनकी दुई वर्षीया छोरीमा कोरोना पुष्टि भएको थियो । धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उनीहरुको अहिले उपचार भईरहेको छ ।