डोटेली समाज परिवर्तनकी एक अथक अभियन्ता
2021/12/22, 10:37
 
ss

यशोदा ओझा डोटीकी वरिष्ठ अनमी हुन्। उनी मौवा नगरदह स्वास्थ्यचौकीमा कार्यरत छिन्– साढे दुई दशकदेखि। उनी जब भर्खर सेवा प्रवेश गरेकी थिइन्, त्यति बेला पनि खेतमा काम गरिरहेका महिलाको छेउमै गएरसम्झाउँथिन्– गर्भ जाँच गर्नुपर्छ है भनेर। तर, उनको कुरा सुनेर अरू महिला शरम मान्थे। उनले गर्भ जाँच गराउने मान्छे नपाएपछि उनको क्षमता बढ्ने कुरै भएन। उनको जिम्मेवारी थियो– महिलाको गर्भ जाँच्नु, सुरक्षित रूपमा सुत्केरी गराउने लगायत मातृसेवा गर्नु।

यस्तो जिम्मा लिएर डोटीको ग्रामीण भेगमा खटिएकी उनलाई अब कसरी सेवा सुरु गर्ने भन्ने कुराले उनलाई सताइरहन्थ्यो। ती दिन सम्झिँदै सुनाउँछिन् उनी, ‘त्यतिबेला गाउँका महिला सीधै भनिदिन्थे– तमी पो सरकारको तलब पचाउन आया, हामरो त काम छ।’  सम्झाई–बुझाई स्वास्थ्य चौकी आउने बनाएकी महिलालाई सुई लगाउन राजी गराए पनि इन्कार गरिदिन्थे– औषधिका ट्याब्लेट खान। निकै मेहनत गर्नुपरेको थियो उनले। समय बित्दै गयो। आंशिक रूपमा भए पनि गर्भ जाँच गर्नुपर्छ भन्ने जनचेतना फैलाउँदै गइन्। ट्याब्लेट खान नमान्नेलाई खाने बनाइन्।

बिस्तारै बिरामीको चाप बढ्न थाल्यो। आजभोलि स्वास्थ्यचौकीमा गर्भ जाँच गर्न आउने महिला उनले ब्लड–प्रेसर जाँच्न बिर्सिइन् वा ढिलाइ गरिन् भने सोध्ने गर्छन् रे– ‘पाखुरो त नइ जाँच्या के बज्यै १ अनि यो महिना मेरो तौल किन बढेन रु आदि आदि।’ जुन उनका लागि ठूलो उपलब्धि हो।  यशोदालाई अधिकांश महिला सम्बोधन गर्छन्– ‘बाहुनी बज्यै’ भनेर। समस्या पर्दा सोध्छन्। विगतभन्दा धेरै कुरा बुझ्ने भएका छन् गाउँघरका महिला। तर, पनि गाउँघरतिर घरेलु हिंसा पारिवारिक जटिलता कायमै रहेको कुरा बताउँछिन् उनी।

वरिष्ठ अनमी यशोदाका अनुसार, रुखो जमिनमा मलजल हालेजस्तै हो सुत्केरी अवस्थामा खानपिन गर्नु पनि। सुत्केरी अवस्थामा अझै पनि सबै महिलाले पाइरहेका छैनन्, उचित आहार। जुन तीतो अनुभव उनी स्वयम्ले भोगेरै आएकी हुन्।  ‘म आमा हुँदा झानेको मोहीसँग भात खान्थेँ। हरियो साग खाँदा बच्चाको जीउमा पिट्का निस्किन्छन्, अनि मासु खाँदा पेट रहन्छ अर्थात् अपच हुन्छ भन्थे’, विगतका दिन सम्झिँदै सुनाइन् उनले। जीवनको गोरेटोमा थुप्रै अनुभव सँगालेकी उनको जीवन कुनै उपन्यासका पात्रभन्दा कम छैन। 

मनमा बेलाबखत पल्टिन्छन्– स्मृतिका पत्रहरू। यादगार बनिदिन्छ त्यो समय। जतिबेला आएको थियो– जीवनमा आँधीबेहरी। सहनु परेको थियो– कहिले मातृवियोग त कतै भातृ वियोग। पढ्ने चाहनालाई तिलाञ्जलि दिएर बनाउनु परेको थियो पराइको आँगनलाई आफ्नो आँगन।  ‘जीवनमा कैयौँपल्ट जोखिम उठाएँ। नसुतेर तनाव लिएर काम गरेँ। अनि सँगसँगै आफैँले रोग पनि बटुलेँ। अहिले मुटुसम्बन्धी समस्याले औषधि सेवन गरिरहेकी छु,’ भर्खर ४८ वर्ष टेकेकी यशोदा ओझाले ‘नोस्टाल्जिक’ बन्दै सुनाइन्।

पिता अङ्गेजी विषयका नाम चलेका शिक्षक। आमा गृहिणी। दुइटी बहिनी, एउटा भाइ। एक सुन्दर परिवार थियो। पहाडमा खानलाउन पुग्ने जग्गाजमिन पनि छँदै थियो। उनको पढाइ पनि चलिरहेकै थियो।   १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा एकाएक बज्र प्रहार भएझैं भयो। हृदयघातका कारण ऐया पनि भन्न नपाएरै धर्ती छोडिन्– आमा रुखुदेवीले। बुवा केदारनाथ जोशीलाई आफन्त र शुभचिन्तकले दोश्रो बिहे गर्न दबाब दिन थालेपछि भनेछन्,‘बढेकी छोरीको सामु सौतेनी आमा ल्याउनुभन्दा पहिले छोरीको बिहे गरिदिन्छु।’

१५ वर्षको उमेर। ९ कक्षामा पढ्दै थिइन्। डोटी हिन्नेकाँडाका धर्मराज ओझासँग विवाह हुन गयो– यशोदाको। दश कक्षा पढ्नेताका १६ वर्षकै उमेरमा छोरो पाइन्। वर्ष दिनको छोरा छोडेर उनी रेडक्रसको परिवार नियोजन शाखामा जागिर गर्न थालिन्।  छोरो अढाई वर्षको हुँदा अनमी पढ्ने निर्णय गरेपछि घरपरिवार र छरछिमेकका सबैले भन्न थालेछन्– ‘छोरो बिग्रे पुलिस, छोरी बिग्रे नर्स। यो कस्तो खानदानकी छोरी हो। मान्छे छोरो पाउन पाँच बिहे पनि गर्छन्। यो छोरो छोडेर पढ्न जाने १’

समाजका अगाडि यशोदाका पति ढाल बनेर खडा भए। ती दिन सम्झँदै यशोदाले भनिन्,‘श्रीमान् बुज्रुक हुनुहुन्थ्यो। श्रीमानको साथ सहयोग र माया पाएर नै यहाँसम्म पुगेकी हुँ।’  १९ वर्षको कलिलो उमेमा मुटुको समस्याका कारण उनका भाइ पनि हिँडेछन्– आमा गएकै अनन्त यात्रामा। सिङ्गो आकाश खसेझैं हुन गएछ खबर सुन्नुपर्दा। आँशुको त के नै कुरा रह्यो र १

आषाढ–श्रावणको बलेसीझैँ चुहिरहे– एकोहोरो आँखा। जति आँशु बगे पनि छोडिनन् उनले संघर्षको गोरेटोमा पाइला चाल्न। सेती प्राविधिक शिक्षालय दिपायलमा छात्रवृत्तिमा नाम निस्किएपछि सुरु गरिन् अनमी पढ्न। दिपायल सिलगढी नगरपालिकाले सहयोग गर्‍यो पढ्नलाई। बालक छोरो घरमा छोडेर पढाइमा होमिइन् उनी। 

परिवारकी कान्छी भएकीले भतिजा–भतिजीले कान्छीआमा भन्थे। छोरोले बिर्सिसकेको थियो। घर आएको बेला छोरो पनि कान्छी आमा भन्न थाल्यो। तँ दिपायल कैल जाने है कान्छी आमा भन्थ्यो’, ती दिन सम्झिदै एकछिन भावुक बनिन् उनी। 

पढाइ सिद्घिनेबित्तिकै लोकसेवामा नाम निकालेर स्थायी जागिरे बनेकी ओझाले स्वास्थ्य सेवामा काम गरेको २३ वर्ष भयो। यो अवधिमा कैयौं अनुभव बटुलेकी उनी पहिलेको तुलनामा पछिल्लो समय समाजमा निकै परिवर्तन भएको बताउँछिन्।  यसै प्रसङ्गमा विगतको एउटा घटना सम्झिँदै यशोदाले भनिन्, ‘एउटा महिला राम्रैसँग सुत्केरी भएर स्वास्थ्यचौकीबाट घर जाने क्रममा बाटोमा ‘ब्लिडिङ’ भएछ। मलाई खबर नै गरेनन्। साथमा रहेकी सौतेनी आमाले छुन पनि मानिनछन्। नन्दले बोकेर ल्याउँदा–ल्याउँदै बाटैमा बितिन्।’ 

यसरी अकालमै महिलाको ज्यान जान थालेका घटनाले उनलाई सताइरह्यो। तत्पश्चात् उनले लिइन दुई महिने दक्ष प्रसूतिकर्मी तालिम। अहिले बाहिरबाट गर्भवती महिलाको पेट मुसारेरै बताइदिन्छिन्, गर्भको शिशु कस्तो अवस्थामा छ भनेर।   अनुभवले निखारिएकी यशोदाले आफूले उपचार गर्न नसक्ने बिरामीआउँदा अप्ठेरोमा परेका महिलालाई कैयौँ पटक आफैँले खर्च दिएर पनि उपचार गर्न पठाएकी छिन्। 

झट्ट सुन्दा चलचित्रको कथाजस्तो लाग्ने थुप्रै यथार्थ दृश्यकी प्रत्यक्षदर्शी हुन् उनी। एकपल्ट एउटी गर्भवती महिलाको गर्भमा तेर्सो अवस्थामा थियो– शिशु। बच्चाको एक हात बाहिर आइसकेको थियो। उनका पति २४ घण्टा रक्सीको नशामा हुन्थे।  पतिले वास्ता नगरेपछि पाँच हजार रूपयाँ दिएर डडेल्धुरा अस्पताल ‘रेफर’ गरी बचाउँन सफल भएकी थिइन् उनी। चारवर्ष पछि ती महिलाले दुई दाना अमिला दिँदै भनिछन्, ‘बज्यै, तम्रो ऋण रहिग्यो। पैसा कहाँबाट दिऊँ यो खानु।’ यशोदाले निकै नै आत्मीयतापूर्वक ग्रहण गरिछन् अमिलाका दाना। 

११ वर्षअघिको कुरा हो। बिरामीको सेवा गर्दागर्दै दशैँको दिन घरमा टीका लगाउन जानसम्म फुर्सद पाइनछन्। घरबाट दशैँको ‘अघिल्लै दिन आइजा’ भनेका थिए। दशैँको बिहान जाने सोच बनाएकी उनीसामु बिहान चार बजे नै आइदिएछन्– दुइटा केश।  त्यसपछि क्रमैसँग थपिए छन्– तीन वटा अरू। उनका श्रीमान्ले धर्मराज ओझाले फोनमा भनेछन्, ‘छोरालाई टीका लगाउन फुर्सद नपाउने तक्मा पाउलिस् अब।’  भित्री मनको दुखाइ लुकाएर उल्टै जवाफ दिइछन् उन ले, ‘तक्मा सस्तो लोकप्रियता हो। दसशैँ पनि दोश्रो वर्ष आइहाल्छ। पाँच जनाको ज्यान बचाइयो यो ठुलो उपलब्धि हो।’

कतिपय अवस्थामा ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्‍या छ’ भन्ने स्वर सम्राट नारायणगोपालले गाएको गीत सम्झिनुपर्ने मोडहरू आइदिन्छन् मान्छेको जीवनमा। यो क्षेत्रमा काम गर्न थालेपछि यस्तै हो भन्ने ढंगले श्रीमान्सँग भनेर मनाए पनि घरजान नपाउँदा मन त उनको पनि दुखेकै थियो।  कसैको जीवन मरणको सवाल थियो कहाँ सक्थिन् व्यथाले छट्पटाइरहेकी महिलालाई छोडेर जान। आफू दिनभरि भोकै रहिन् छोरोलाई सम्झेर एकान्तमा आँशु पुछिन्। नभन्दै दोश्रो वर्ष राष्ट्रिय पुरस्कार पनि पाइन्। 

दुःखको कुरो १ पछिल्लो समय राजनीतिक आँकडाहरूको थलो बनेको समाजमा कुनै पार्टीको सदस्यता नलिएका यशोदाजस्ता समाजसेवी, कर्मठहरूको मूल्याङ्कन पनि त्यही ढंगले भइदिन्छ।   हुन त पछिल्लो समय जताततै घुस्याहा, चाकडीबाज, दलाल र झोलेहरूको बाहुल्य रहेको कुरा जगजाहेर नै छ। स्वास्थ्य मन्त्रालय र विभागको आयोजनामा ‘इण्टरनेसनल अवार्ड’मा छनौट भएकी उनलाई रोक लगाइयो पुरस्कार लिनबाट। तर, उनलाई केही थाहा थिएन। 

‘डा। बाबुराम मरासिनीले डकुमेण्ट मगाउनुभएको थियो। नेपालगञ्ज तालिममा गएको बेला सबैले बधाई दिन थाले। जीतकुमारी दिदीले मोबाइलमा चिठ्ठीको फोटो नै देखाइन्। थाइल्याण्डमा प्रदान गरिने भनिएको उक्त पुरस्कार एक लाख राशीको रहेछ। म त ट्वाँ परेर हेरिरहेँ। पछि बुझ्दै जाँदा खुल्यो रहस्य। जिल्लाले उनलाई खबर गरेर पठाउनुपर्ने ठाउँमा उल्टै मन्त्रालयले पठाएको चिठी च्यातिदिएछ। 

उनलाई पैसा र पुरस्कारको त्यस्तो मोह पनि छैन तर कुनै पार्टीको झण्डा बोक्न नमान्ने इमान्दार, स्वाभिमानी, सेवाप्रति निष्ठावानहरूको मूल्याङ्कन कसरी हुँदै छ भन्ने एउटा उदाहरण थियो त्यो चिठी च्यातिनु पनि। तथापि समुदायको नजरमा उनी सधैँ सम्मानित हुने पात्र हुन्। 

दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य चेतनामा परिवर्तन ल्याउनमा उनले ठूलो भूमिका निर्वाह गरेकी छन्। उनी सहजै भनिदिन्छिन्– सेवाग्राहीको आशिर्वाद पाएर नै अहिलेसम्म बाँचेकी छु।  २३ वर्षको समयावधिमा धेरैलाई बचाइन्। थुप्रै अनुभव बटुलिन् तथापि २०६५ साल भाद्र २५ गते उनको जीवनकै अविष्मरणीय दिन बन्यो। जुन दिन उनले निकै ठूलो जोखिम मोलेकी थिइन्।  पहिलो श्रीमतीबाट बच्चा हुँदा कान्छी श्रीमतीका रूपमा नारुदेवीलाई भित्र्याएका थिए– आदर्श–४ का बहादुर बिष्टले। नारुबाट लगातार पाँच छोरी जन्मिन्। छैटौँ पटक व्यथा लागेर मौवा स्वास्थ्य चौकी पुगेकी नारुले यशोदाको सहयोगमा सजिलैसँग छोरोलाई जन्म दिइन्। 

जन्मेको आघि घण्टासम्म नवजात शिशुको न मुटुको धड्कन सुनियो न त सास नै फेरिरहेको थियो। न त हातको नाडी नै चलेको थियो। यशोदा निकै तनावमा आइन्। दक्ष प्रसूतिकर्मी तालिममा पढेको कुरा सम्झिन्। जहाँ भनिएको थियो– बच्चाले जन्मेको आधि घण्टासम्म कुनै प्रतिक्रिया नजनाएमा १० मिनेट अरू पर्खिने। कुनै सुधार नदेखिएमा मृत घोषणा गरिदिने।  सोही बमोजिम १० मिनेट पर्खिइन्।  बीसको उन्नाइस नभएपछि बच्चालाई मृत घोषणा गरी पोको पारेर खटियामुनि राखी नारुदेवीलाई सम्झाउन थालिन्। घर लगी आफ्नै माटोमा गाड्ने निर्णय गर–े बहादुर विष्टले। तुरुन्तै मृत भनिएको बच्चा पनि दिइनन्। 

‘त्यो दिन अरू कुनै केश पनि हेरिनँ। बाहिर गएर टोलाइरहेँ। मनमा एउटै प्रश्नले हिर्काइरह्यो– सबै ठीक छ आखिर बच्चा मर्‍यो कसरी रुआधि घण्टा पछि पुनः भित्र गएर पोको खोलेँ र नाइटो हेरेँ जहाँ नाडी भेटाएँ। अनि हत्त नपत्त मुखबाट सास दिइरहेँ। शिशुले स्वाँक्क गरेपछि बल्ल लामो सास फेरेँ’, उनले सुनाइन्।  अनि सम्झिइन् उनले पढ्ने बेला गुरु डा। हेमराज पण्डेले त्यस्तो अवस्थामा शिशुलाई ‘सेफोट्याक्सिन इन्जेक्सन’ दिएको कुरा। नजिकैको प्राइभेट क्लिनिकबाट ल्याइन्, उक्त औषधि र लगाइन सुई। 

‘तेल मालिशदेखि सास दिने र छातीमा टासेर राख्ने लगायतका थुप्रै उपाय अपनाएँ। शिशु रोएको सुनेर आश मारिसकेका दम्पतीका पनि आँखामा हर्षका आँशु बग्न थाले। त्यसपछि पाँच दिनसम्म आफ्नै निगरानीमा स्वस्थ्यचौकीमै राखेँ आमा र बच्चालाई। अहिले बच्चा छ कक्षामा पढिरहेको छ’, उनले गर्वका साथ बताइन्।  उनले वर्षमा पाँच सयको हाराहारीमा गर्भवती आमाहरूलाई सेवा दिइन्। एकै रातमा नौ जनालाई सुत्केरी गराइन्। सुत्केरी भएपछि पनि कम्तिमा छ घण्टासम्म अस्पतालमा आफ्नै निगरानीमा राखेर मात्र घर पठाउने चलन सुरु गरिन्। उनकै कारण आज मौवानगरदह स्वास्थ्य चौकी जिल्लाकै नमूना बनेको छ। 

सात दिनसम्म नाल ननिस्केका, पाठेघरमा तर्सो बसेकादेखि टाउको ठूलो भएका कैयौँ घटनाहरूको जोखिम मोलेर उनले आमा र शिशुको ज्यान जोगाएकी छन्। अहिले पनि चाहँदैनन्– दक्ष चिकित्सकहरू सुदूरपश्चिमका पहाडी जिल्ला जान। उतिबेला त झन् अहिलेको जस्तो मोटर बाटो जोडिएको थिएन गाउँसम्म। अकालमै ज्यान जान्थ्यो कतिपय गर्भवती आमाहरूको। आफ्नो गाउँमा स्वास्थ्यचौकी हुँदाहुँदै पनि उनीप्रतिको विश्वासका कारण कयौँ गर्भवती महिला टाढा–टाढाबाट आइपुग्छिन्, उनी भएकै ठाउँमा। गरिबी अशिक्षा र पितृसत्तात्मक हैकमवादी समाज भएको दुर्गमको बस्तीका महिलाले उनलाई देवीसरह नै ठान्छन्।