विश्वकप लिग टु : ओडीआई मान्यता जोगाउने नेपालको लक्ष्य
2023/02/13, 12:15
 
IUUI98

आईसीसी क्रिकेट विश्वकप लिग– टुमा शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना असम्भवजस्तै बनेको छ । तर, फागुन २ गते मंगलबारदेखि घरेलु मैदानमा सुरु हुने लिग टुको त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै ओडीआई अर्थात् एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउने नेपालको लक्ष्य छ ।

आयोजक नेपालसँगै नामिबिया र स्कटल्यान्डबीचको त्रिदेशीय सिरिज टीयू क्रिकेट मैदानमा फागुन २ देखि ९ गतेसम्म हुँदैछ । नेपाली टिमको मुख्य प्रशिक्षक मोन्टी देशाईले प्रतियोगिताका लागि अन्तिम टिमको घोषणा गरिसकेका छन् । जसमा सन्दीप लामिछानेसँगै १४ सदस्यीय टिमको टुंगो लागिसकेको छ । करिब दुई साताको अभ्यासले नेपाली क्रिकेट टिमले त्रिदेशीय खेल्न लागेको हो । विभिन्न विवाद, स्पट फिक्सिङ, सन्दीप प्रकरणजस्ता घटनाले स्तब्ध बनाएको नेपाली क्रिकेट फेरि उदाउने तरखरमा छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द घरेलु मैदानमा भएका कारण चारै खेल जित्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘आफ्नै मैदानमा भएका कारण हामी चारै खेल जित्ने लक्ष्यमा छौँ । छोटो समयमा भए पनि तयारी राम्रो भइरहेको छ । खेलाडीमा जित्नैपर्छ भन्ने मनोबल बढेको छ ।’

लिग टुमा कस्तो छ अवस्था ?

आईसीसी क्रिकेट विश्वकप लिग–टु प्रतियोगितामा नेपाल गर या मरको अवस्थामा छ । अहिले नेपाल छैटौँ स्थानमा छ । नेपालले कुल ३६ खेलमध्ये अब १२ खेल खेल्न बाँकी छ भने २४ खेल खेलिसकेको छ ।

जसमध्ये आठ खेलमा मात्रै जित निकाल्दा नेपालले १४ खेलमा हार ब्यहोरेको छ । एक खेलमा भने बराबरी हुँदै अंक बाँड्दा अर्को एक खेलमा वर्षाका कारण खेल स्थगित हुँदै अंक बाँडेको छ । २४ खेलबाट १८ अंक मात्रै बनाएको नेपाललाई अबको यात्रा सजिलो छैन ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–टुअन्तर्गत यो नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजपछि दुईवटा त्रिदेशीय सिरिज खेल्नेछ । जसमा नेपालले यूएई र पपुवा न्युगिनीसँग आउँदो फेब्रुअरीमा खेल्नेछ । त्यसपछि नेपालले अन्तिम सिरिज यूएई र पपुवा न्युगिनीसँग घरेलु मैदानमै आउँदो मार्चमा त्रिदेशीय सिरिज खेल्नेछ ।

RRTYTR

लिग–टुका शीर्ष तीनले २०२३ मै हुने विश्वकपको छनोटमा स्थान बनाउनेछन् । विश्वकप छनोटमा सिधै पुग्ने नेपालको सम्भावना कस्तो छ त ? एकपटक अंक गणित हेरौँ ।

लिग टुको शीर्ष स्थानमा स्कटल्यान्ड छ । स्कटल्यान्डको ३२ खेलबाट ४६ अंक छ । स्कटल्यान्डले अझै चार खेल खेल्न बाँकी छ । जुन नेपाल र नामिबियासँगको सिरिजपछि सकिँदैछ । यता, दोस्रो स्थानमा ओमान छ । ओमानले आफ्ना सबै ३६ खेलबाट ४४ अंक बनाइसकेको छ । तेस्रो स्थानमा रहेको नामिबियाले अझै ६ खेल खेल्न बाँकी छ । नामिबियाको ३० खेलबाट ३७ अंक छ । चौथो स्थानमा रहेको अमेरिकाले कुल ३६ खेलबाट ३५ अंक बनाएको छ । यूएईको पनि शीर्ष तीनमा पर्ने सम्भावना धेरै छ । पाँचौँ स्थानमा रहेको यूएईले २६ खेलबाट २७ अंक बनाएको छ ।

अब नेपालले बाँकी सबै खेल जिते कुल ४२ अंक हुनेछ । ४२ अंक बनाउँदैमा नेपाल शीर्ष तीनमा पर्छ भन्ने निश्चित छैन । किनभने नामिबिया र यूएईको अहिलेको अवस्था नेपालको भन्दा धेरै राम्रो छ । नेपालले आफ्ना सबै खेल जितेर मात्रै पुग्दैन, नामिबिया र यूएईको खेलमा पनि भर पर्नुपर्ने अवस्था आएको छ । १२ खेलमा १२ नै खेल नेपालले जित्छ भन्ने पनि छैन । पछिल्लो समयमा नेपालको प्रदर्शन निकै खराब हुँदै गएको छ । झनै पछिल्लो समय घटेको काण्डले खेलाडीमा धेरै असर पर्नेछ । जसले गर्दा नेपालको प्रदर्शन खस्किने सम्भावना पनि छ ।

शीर्ष पाँचमा पर्ने लक्ष्य

कुनै बेला शीर्ष तीनभित्र पर्दै विश्वकप छनोटमा सिधै पुग्ने लक्ष्य बनाएको नेपालले आफ्नो लक्ष्यलाई परिवर्तन गरेको छ । अब नेपालको लक्ष्य लिग टुमा शीर्ष पाँचभित्र पर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउने छ ।

शीर्ष पाँचभित्र पर्न पनि नेपाललाई ठूलै चुनौती छ । त्यसका लागि नेपालले सबै खेल खेलिसकेको अमेरिकालाई उछिन्नैपर्छ । अमेरिकालाई उछिन्नका लागि अब नेपालले १२ खेलमध्ये कम्तीमा आठ खेल जित्नैपर्ने हुन्छ । अमेरिकाको ३५ अंक छ । त्यसो त, अहिले पाँचौँ स्थानमा रहेको यूएईलाई उछिनेमा पनि नेपाल पाँचौँ स्थानमा पर्नेछ । तर, दुई खेल मात्रै बढी खेलेको यूएईको २७ अंक छ । जुन नेपालभन्दा ९ अंकले अगाडि हो ।

ओडीआईका लागि १२ खेलमध्ये आठ खेल जित्नु नेपालका लागि ठूलै चुनौती छ । तर, क्यान अध्यक्ष चन्द भन्छन् ‘ओडीआई जोगाउनका लागि हामी शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । हाम्रो लक्ष्य शीर्ष पाँचमा पर्नेछ ।’

नेपाल शीर्ष तीनमा पर्दै विश्वकप छनोटमा सिधै पर्न नसके पनि प्लेअफ खेलेर पुग्न सक्छ । प्ले अफ प्रतियोगिता २०२३ मै नामिबियामा हुनेछ । विश्वकप छनोट खेल्ने यो अर्को प्रतियोगिता हो ।

national cricket team51676206026.jpg

यो प्ले अफमा लिग टुका पुछारका चार टिम र च्यालेन्ज लिग खेलेर आएका दुई टिम गरी ६ टिमको सहभागिता रहनेछ । च्यालेन्ज लिगको क्यानडा विजेता र जर्सी उपविजेता बनेर प्ले अफमा उक्लिसकेका छन् । यता, लिग टुबाट अमेरिका र पपुवा न्युगिनीले खेल्ने पक्का भइसकेको छ । प्ले अफको शीर्ष दुई टिमले विश्वकप छनोटमा स्थान बनाउनेछन् । नेपाल प्ले अफ खेलेर पनि विश्वकपको छनोटमा प्रवेश गर्न सक्छ ।

त्यसो त प्ले अफको शीर्ष चार रहे ओडीआई मान्यता कायमै रहने अध्यक्ष चन्द भन्छन् । ‘प्ले अफको शीर्ष चारमा परे पनि ओडीआईको मान्यता पाइन्छ । तर, हाम्रो लक्ष्य लिग टुकै शीर्ष पाँचमा पर्दै ओडीआई मान्यता निरन्तरता राख्ने हो’, अध्यक्ष चन्दले भने ।

स्कटल्यान्ड र नामिबियासँग निरीह नेपाल 

लिग टुकै यसअघि नेपालले नामिबिया र स्कटल्यान्डसँग दुईवटा त्रिदेशीय सिरिज खेलेको छ, जहाँ नेपालले खेलेका सिरिजहरूमध्ये अहिलेसम्मकै खराब प्रदर्शन गरेको छ ।

नेपालले जुलाई २२ मा घरेलु टिम स्कटल्यान्ड र नामिबियासँग त्रिदेशीय सिरिज खेलेको थियो । सिरिजमा नेपालले चार खेलमध्ये एक खेलमा मात्रै जित निकालेको थियो ।

आफ्नो पहिलो खेलमा नामिबियासँग नेपाल ४० रनले हारेको थियो । त्यसपछि दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले ५ विकेटले पराजित गरेको थियो । तर, आफ्नो तेस्रो खेलमा फेरि नामिबियासँग ६३ रनले हार्न पुग्यो । सिरिजको अन्तिम खेलमा स्कटल्यान्डसँग ८ विकेटले हारेपछि नेपालले त्यो सिरिजबाट दुई अंक मात्रै बटुल्न सक्यो ।

त्यसपछि २०२२ डिसेम्बर १ देखि ८ तारिखसम्म नेपालले घरेलु टिम नामिबिया र स्कटल्यान्डसँग लिग टुकै त्रिदेशीय सिरिज खेल्यो । जहाँ चार खेलमध्ये नेपालले तीन खेलमा हार र एक खेलमा वर्षाका कारण अंक बाँड्दै स्वदेश फर्कियो ।

नामिबियासँग वर्षाका कारण नेपालले एक अंक बाँडेको थियो । त्यसपछि आफ्नो दोस्रो खेलमा तीन विकेटले स्कटल्यान्डसँग हारेको नेपाल तेस्रो खेलमा नामिबियासँग ८६ रनले स्तब्ध बनेको थियो । आफ्नो चौथो खेलमा स्कटल्यान्डसँग ८ विकेटले हारेको थियो ।

यो दुवै सिरिज गरी जम्मा ८ खेलबाट नेपालले ३ अंक मात्र बढुल्न सक्यो । लिग टुमा जुन शीर्ष तीनमा पर्ने नेपालको लक्ष्य थियो, त्यो सबैभन्दा घातक बन्यो ।

national cricket team111676206063.jpg

यसअघि नामिबिया र स्कटल्यान्डविरुद्धको सिरिजमा नराम्ररी हारेको नेपाल आफ्नो घरेलु मैदानमा बदला लिने लक्ष्यमा हुनेछ । तर, योपटक पनि नेपाली टिमको मुख्य समस्या ब्याटिङमा हुने देखिन्छ । ब्याटरको रूपमा ओपनर आशिफ शेखसँगै कुशल भुर्तेल हुँदा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल छन् । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, कुशल मल्ल, सन्दीप जोरा र भीम सार्की छन् । तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र गुल्सन झा छन् । स्पिनरमा सन्दीप लामिछानेसँगै ललितनारायण राजवंशी र पहिलोपटक राष्ट्रिय टिममा परेका सूर्य तामाङ छन् ।