हरेक वर्षायाममा कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्दै आएको छ। नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिणमा भारतले घाँघरा (कर्णाली) नदीमा गिरिजापुरी बाँध (कैलाशपुरी बाँध) बनाएर बाँधको ढोका थुन्ने गरेका कारण कैलाली र बर्दिया डुबानमा पर्ने गरेका हुन्। बाँधको ढोका थुनिएपछि कर्णाली, मोहना, कनरी, कान्द्रा, पथरैया, काँढालगायत ठूला–साना नदीको पानीको बहाव रोकिन गई कैलालीको दक्षिणी भू–भाग डुबानमा पर्छ।
कैलालीको चुरेबाट निस्केका मोहना, कनरी, कान्द्रा, पथरैया, काँढालगायत नदी कर्णाली नदीमा मिसिन्छन्। भारतले आफ्नो जमिन डुबानबाट जोगाउन घाँघरा ९कर्णाली० नदीमा गिरिजापुरी बाँध बाँधेकै कारण कर्णाली नदी थुनिएर कर्णालीमा मिसिएका साना ठूला सबै नदीको बहाव रोकिन गई कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको भूगोलविद् डा. लोकबहादुर बिष्ट बताउँछन्।
‘बाँधका कारण कर्णालीको बहाबले गति लिन नसक्दा पानी थुनिन गई अन्य सहायक नदी तथा खोलासमेत भरिएर बस्ती डुबान हुने गरेको हो’, उनले भने। गिरिजापुरी बाँधकै कारण कर्णाली र यसका सहायक नदी थुनिन गई टीकापुर नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको फूलबारी पच्चीस घर, उर्मीलगायतको भूभाग डुबानमा पर्ने उनको भनाइ छ। बाँधको असर धनगढी र गोदावरी नगरपालिकासम्म पर्ने बताउँदै उनले भने, ‘मोहनाले पनि बहावको गति लिन नसक्दा मोहनामा मिसिने धनगढीका शिवनगर खोला, कैलाली नाला पनि भरिएर सन्तोषीटोल, शिवनगर, भन्सार क्षेत्र, तारानगर क्षेत्र, बैया बेहडी र उत्तरबेहडीको केही क्षेत्र डुबानमा पर्छन्।’
त्यसो त पछिल्ला वर्षहरूमा खोला तथा नालाहरु अतिक्रमणको चपेटामा परेका कारण पनि धनगढी जलमग्न हुने गरेको छ। ‘ठूलो पानी पर्दा हुने डुबान भारतीय बाँधको समस्या हो भने सानो पानीमा पनि धनगढी डुब्नुको कारणचाहिं खोला अतिक्रमण नै हो’, बिष्टले भने। ‘धनगढीलाई डुबानबाट बचाउन खोलाको अतिक्रमित क्षेत्र खुलाउनुपर्छ,’ उनले भने।
अनियन्त्रित बसाइँसराइका साथै अव्यवस्थित सहरीकरणले पनि धनगढी डुबानमा पर्ने गरेको हो। नागरिक समाजका अगुवा हरि रेग्मी भन्छन्, ‘धनगढी डुबानको कारण अव्यवस्थित सहरीकरण र ढलमा जथाभावी फोहर थुपारिँदा वर्षाको पानी बग्न नपाउनु पनि हो।’
यस्तै ६ लेन सडक अग्लो भएपछि धनगढीको विशालनगर क्षेत्रको पानी बग्न नपाउँदा सो क्षेत्र डुबानमा पर्ने स्थानीय धनबहादुर बोहराले बताए। ‘६ लेन सडक अग्लो भएकाले होचा स्थानमा पानी जमेर विशालनगर, चौराह पछाडिको भाग, विद्युत् क्षेत्र, रिङरोड आपासको बस्ती डुबानमा पर्छ,’ उनले भने। धनगढी उपमहानगपालिकाका इन्जिनियर दीजराज भट्टले प्राकृतिक रूपमा पानी बग्ने स्थानमा घर, सडक निर्माण हुँदा बहाव रोकिएर पनि धनगढी डुबानमा पर्ने गरेको बताए। उनले भने, ‘पहिले खेतमा पानी जम्थ्यो तर अहिले खेतमा संरचना बन्दा डुबानको समस्या निम्तियो।’ उनले डुबान समस्या समाधानका लागि नाला अतिक्रमण रोक्नुपर्ने र गुरुयोजना बनाएर निकासको व्यवस्थापन गर्नुपर्ने बताए।
६ हजार ३ सय ४ घर डुबानमा
साउन १४ गते अहिलेसम्मकै सबैभन्दा बढी पानी प¥यो। मौसम पूर्वानुमान महाशाखाका अनुसार साउन १४ मा कैलालीमा १ सय ६७ मिलिमिटर वर्षा भयो। वर्षाको पानीले कैलालीमा ६ हजार ३ सय ४ घर डुबानमा परे। बाढीले बगाउँदा तीनजनाको ज्यान गयो। बाढीका कारण भएको क्षतिको तथ्यांक संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए। नागरिकबाट साभार