बैतडीको हवाई सेवा एक महिनादेखि बन्द
2022/02/02, 4:11
 
da

 बैतडीको हवाई सेवा एक महिनादेखि बन्द रहेको छ। गत पुस १६ गते बैतडी–धनगढी उडान भए पनि त्यसपछि बन्द रहेको हो। साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो। नियमित रूपमा उडान हुने गरेकोमा हाल यात्रु नपाउँदा बन्द रहेको बैतडी नागरिक उड्डयन कार्यालय, पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले बताए।  मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको जनाइएको छ।

१८ यात्रु क्षमताको समिट एयरको जहाजका लागि समेत यात्रु नहुँदा समस्या भएको  छ। बैतडीदेखि धनगढीसम्मको हवाई भाडा ४ हजार १ सय रुपैयाँ छ । १७ मिनेटमा पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीयले बताएका छन्। यता समिट एयरका पाटन विमानस्थल सम्पर्क व्यक्ति कृष्ण भट्ट भने अन्य कुनै कारणले नभई यात्रु अभाव र मौसम अनुकुल नहुँदा हवाई सेवा हुन नसकेको बताए। गत वर्ष पनि खराब मौसमका कारण एक महिना हवाई सेवा बन्द  भएको थियो।  शुरुमा ३ हजार ८५० रुपैयाँ भाडा भए पनि इन्धनको मूल्य बढेर ४ हजार १ सय पुगेको हो।

पाटनमा विमानस्थल २६ वर्षपछि वि.सं. २०७७ असोज अन्तिम साताबाट पुनः सञ्चालनमा आएको थियो। वि।सं। २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिवेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो।