कोरोना पुष्टि भएका संक्रमित युवाहरू सिचाई योजनाको काममा 
2020/06/19, 2:01
 
korona

होम आइसोलेसनमा बस्ने सहमति पश्चात घर गएपछि बैतडीका कोरोना संक्रमितहरु न्युनतम स्वास्थ्य सजगता समेत नअपनाउने गरेको पाइएको छ । बैतडीको शिवनाथ गाउपालिका वडा नम्बर ४ का कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्ने सहमतिका आधारमा घर गएपछि गाँउमा जथाभावी डुल्ने गरेको वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण सिंह महताले जानकारी दिए । 

असार १ गते कोरोना पुष्टि भएका वडा नम्बर ४ का २ जना पुरुष कोरोना पुष्टि भएको भोलिपल्टै रत्याल सिँचाई योजनाको कुलामा काम गर्न गएको पाईएको छ । वडा अध्यक्ष महताले अनुसार कोरोना पुष्टि भएका २ जना पुरुष उक्त योजनाको काम गर्न गएका बताए । क्वारेन्टाइनबाट घर जादा स्वास्थ्य सजगता अपनाउने र होम आईसोलेसनमा बस्ने भनेर कागजमा हस्ताक्षर गरेको भएपनि लापरवाही गरीरहेको उनले बताए । 

शिवनाथ गाउपालिकाको वडा नम्बर २ की १० वर्षीय बालिका सहित ७ जना, वडा नम्बर ४ का ५ जना पुरुष र वडा नम्बर ६ का ५ जना पुरुष घर गएका हन् । उनीहरु १७ जना नै होम आईसोलेसनमा रहने गरी घरमै बस्न लगाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र महताले जानकारी दिए । बैतडीका २२ जना कोरोना निको नहुँदै घर गएकोमा शिवनाथ गाउपालिकामा मात्रै २१ जना रहेका छन् ।

४ जना सेती प्रादेशिक अस्पतालले कोरोनाको कुनै लक्षण नभएको भन्दै डिस्चार्ज गरिएको थियो भने १७ जना असार १ गते पुष्टि भएका रहेका छन् । त्यसैगरी पाटन नगरपालिका ८ का एक जना पुरुष पनि कोरोनाका कुनै लक्षण नभएको भन्दै बुधबार डिस्चार्ज गरिएको छ । २२ जना कोरोना संक्रमित घरमै रहेका बेला स्थानीयमा कोरोनाको त्रास फैलिएको छ ।

कोरोनाको कुनै लक्षण नदेखिएको भन्दै २२ जनालाई होम आईसोलेसनमा रहन भनि घर पठाएपछि गाँउमा त्रास फैलिएको हो । कोरोना संक्रमित गाँउमा आएपछि कोरोना सार्ने हो भनेर स्थानीयहरु त्रसित रहेका छन् ।