स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
2022/02/17, 10:59
 
dd

कोरोना संक्रमणको महामारी फैलिएको बेला ज्यानै जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मीहरूले अझै जोखिम भत्ता पाएका छैनन् । जिल्लामा अधिकांश स्वास्थ्यकर्मीहरूले सरकारले दिने भनेअनुसारको जोखिम भत्ता पाउन नसकेका हुन् । सुरुमा केही महिना जोखिम भत्ता पाएका स्वास्थ्यकर्मीहरू सरकारले आस मात्र देखाएको भन्दै गुनासो पोखेका छन् ।

कोरोनाको तेस्रो लहर आइसक्दासमेत जिल्लाका स्वास्थ्यकर्मीहरूले १ रुपैयाँ पनि कोरोना भत्ताबापतको रकम पाएका छैनन् । आफूले कोरोना भत्ता नपाएको जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ मा रहेको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । उनले भने, ‘अहिलेसम्म कोरोनाको जोखिम भत्ता पाएको छैन । सुरुबाटै अहिलेसम्म काम गरिराखेको छु ।’ महामारीमा खटिने पेसा आफूहरूको भए पनि आस देखाएर नदिनु भनेको अपमान गर्नु भएको दुखेसो उनले पोखे ।

पहिलो चरणको कोरोनाका बेला संकलित स्वाब जाँचका लागि डडेलधुरा, जिल्ला अस्पताल ल्याउँदा आफ्नो खर्चबाट काम गरे पनि त्यही रकमसमेत आफूले नपाएको उनले बताए । पालिकामा कार्यरत करारका कर्मचारीहरूले कोरोना भत्ता पाए पनि आफूहरूले नपाएको उनले बताए । अब कोरोना भत्ता पाउने आशासमेत नरहेको उनको भनाइ थियो । अन्य पालिकामा कार्यरत कर्मचारीहरूले केही महिनाको भत्ता पाए पनि आफूहरूले कत्ति पनि नपाएको उनले बताए । उनले भने, ‘कोरोनाको संक्रमणका बखत सबै चरणमा आफ्नो ज्यानको माया मारेर काम गरियो । कसैलाई वास्तै भएन ।’

सरकारले पालिकामा आएको बजेटबाट स्वास्थ्यर्मीहरूलाई कोरोना भत्ताका लागि डल्लो बजेट पठाएको भए पनि कार्यान्वयन नभएको सुर्नया गाउँपालिका–२ को वासुदेव आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी धर्म विकले बताए । ‘सुरुमा त पाए । गत असारबाट पाएको छैन,’ उनले भने, ‘मैले मात्र होइन असार यता पालिकाका अन्य स्वास्थ्यकर्मीहरूले पनि पाएका छैनन् ।’ सबै स्वास्थ्यकर्मीहरूलाई पालिकामार्फत दिने भनिए पनि बजेट भाषणमा मात्र सीमित रहेको उनले बताए ।

कोरोना भत्ता मात्र नभएर कोरोना बिमाको रकम पनि नपाएको उनले गुनासो उनले गरे । उनले भने, ‘कोरोनाको महामारीका बेला खटिँदा मलाई दुई पटक कोरोना संक्रमण भयो । बिमाको फाइल त पठाइयो तर रकम आएको छैन ।’ आफूहरूको कामै यही भएकाले भत्ता नपाउनुमा केही गुनासो नभए पनि दिन्छु भनेर आस देखाएर नदिँदा दुःख लाग्ने गरेको उनको भनाइ थियो ।

यस्तै, कोरोनाको उच्च जोखिममा रहेको नेपाल—भारत सिमानाका झुलाघाटमा कार्यरत स्वास्थ्यकर्मीहरूले पनि कोरोना भत्ता पाएका छैनन् । झुलाघाटको सिमानाको स्वास्थ्य केन्द्रमा कार्यरत रही कोरोना जाँचमा खटिएका ल्याब असिस्टेन्ट गणेश पाण्डेयले बताए । असारबाट झुलाघाटमै काम गरिरहेका उनले अहिलेसम्म १ महिनाको मात्र जोखिम भत्ता पाएको बताए । उनले भने, ‘असारमा मात्र पाएका हौं । त्यसपछि पाएका छैनौं । जोखिम मोलेर काममा खटिँदा पनि भत्ता नपाउँदा नराम्रो लागिरहेको छ ।’ झुलाघाटकै स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी हेल्थ असिस्टेन्ट सुरज धामीले पनि असारबाहेक अरू कोरोना भत्ता नपाएको गुनासो गरे । उनले भने, ‘दिन्छु भनेर आस मात्र देखाएका छन् । अहिलेसम्म दिएका छैनन् । कहिले दिन्छन् खै रु’

यता स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले स्वास्थ्य कार्यालयमार्फत पहिले आएको कोरोना भत्ता स्वास्थ्यकर्मीहरूलाई दिएको बताए । यो आर्थिक वर्षको भत्ता भने सुदूरपश्चिममा कुनै स्वास्थ्यकर्मीले नपाएकाले यहाँ पनि नपाएको सुनाए । ‘स्वास्थ्य कार्यालयमार्फत आउने भत्ता पाउने नै हुन् । संघले कसलाई कति प्रतिशत दिने भनेर कार्यविधि बनाउँछ,’ भट्टले भने, ‘गत वर्षको कार्यविधिले गत वर्ष मात्र काम गरेको हो । बजेट हामीसँग नआएकाले नपाएका हुन् ।’ ढिलो भएमा मन्त्रालयको सहमतिमा काम गर्ने सबै स्वास्थ्यकर्मीहरूलाई भत्ता उपलब्ध गराउने उनले बताए । पालिकामा आएको भत्ता पनि सबै स्वास्थ्यकर्मीहरूलाई लिन आफूले धेरै पटक भनेको उनले बताए ।