डोटीमा २८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी
2022/03/04, 11:46
 
dd

डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ । 

दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँका स्थानीयवासी दत्तुसिंह खड्काले विसं २०५० सालमा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख एवम् प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताए ।  

  ‘यही फागुन १८ गते बुधवार राति मन्दिरको घण्ट चोरी भएको खबर आएको छ, खोजीका लागि प्रहरी टोली परिचालन गरेका छौँ, कसले र किन चोरको हो भन्ने यकिन गर्न सकिएको छैन,’ उनले भने ।  

मन्दिरमा चढाइएको घण्ट चोरी भएको घटना डोटीमा पहिलो पटक भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला बाहिरबाट सामान बिक्रीका लागि आउने व्यक्तिहरूले मन्दिरको घण्ट चोरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।