बाघ गणनाका क्यामरा जोगाउनै हम्मे
2022/03/06, 11:47
 
dd

राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्प्लेक्समा पाँच जोडी क्यामरा चोरी तथा फुटाइएका छन् । निकुञ्ज प्रशासनका अनुसार शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र र जोगबुडा तिनै क्षेत्रमा क्यामरा चोरी भएको र फुटाइएको अवस्थामा भेटिएका हुन् । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार तीन जोडी क्यामरा चोरी भएका छन् । दुई जोडी क्यामरा तोडफोड भएको छ । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र एक क्यामरा बाघले लगेर तोडफोड गरेर पुनः त्यही ठाउँमा राखेको पाइएको छ । एक क्यामरा हात्तीले तोडफोड गरेर फालेको अवस्थामा भेटिएको छ ।

‘बाघले क्यामरा निकालेर फेरि त्यही ठाउँमा फालेको अवस्थामा भेटियो, बाघले क्यामरा निकालेको तस्बिर सँगै रहेको अर्को क्यामरामा कैद भयो,’ अर्यालले भने, ‘अर्को ठाउँमा एउटा क्यामरा हात्तीले फुटाएको छ ।’ उनका अनुसार निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमै राखिएको क्यामरा बाघले लगेको हो । लालझाडी संरक्षित क्षेत्रअन्तर्गत डाँडाजाई क्षेत्रमा राखिएका दुई जोडी क्यामरा चोरी भएको उनले बताए ।

यस्तै, लालझाडी संरक्षित क्षेत्रअन्तर्गत नै कृष्णपुरको दोमिल्ला क्षेत्रमा पनि एक जोडी क्यामरा तोडफोड भएको छ । डडेलधुराको जोगबुडाको चिरिकिट्टेमा पनि एक जोडी क्यामरा तोडफोड भएको अर्यालले बताए ।

शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा माघ १९ देखि क्यामरा ट्र्यापिङ विधिबाट बाघ गणना सुरु भएको थियो । निकुञ्जसँगै बाघ देखिने सम्भावित क्षेत्र लालझाडी र जोगबुडालाई २६० ग्रिडमा विभाजन गरेर हरेक ग्रिडमा एक जोडा स्वचालित क्यामरा जडान गरिएका थिए । अहिले क्यामरा संकलन भइरहेको छ । ‘बाघ गण्नाका लागि राखिएका सबै क्यामराहरू संकलन भइसकेका छन्,’ अर्यालले भने, ‘यसका साथै अहिले कुन ग्रिडको क्यामरामा बाघको पर्‍यो र कुनमा परेन भनेर अध्ययन भइरहेको छ ।’

बाघ गणनाका लागि २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइलाई एउटा ग्रिड बनाइएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९५, लालझाडी ब्रह्मदेव क्षेत्रमा १०७ र जोगबुडा क्षेत्रमा ५८ ग्रिड बनाइएका थिए । उक्त ग्रिडमा राखिएका क्यामरा अवलोकनका लागि निकुञ्जमा ४, लालझाडी क्षेत्रमा ४ र जोगबुडामा ३ बवटा क्याम्पहरू राखिएका थिए । हरेक क्याम्पसमा ६/६ प्राविधिक खटिएका थिए । एउटा ग्रिडमा १५ दिनसम्म स्वचालित क्यामरा राखेपछि संकलन गरिएको हो ।

‘अब फिल्डको काम सकियो, तस्बिरहरू संकलनपछि विश्लेषणको काम बाँकी छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने, ‘विश्लेषण तथा तथ्यांक सार्वजनिकको काम विभागमै हुन्छ ।’ उनले सामान्यतया स्वचालित क्यामराहरूमा बाघ परे नपरेको विश्लेषण भए पनि बाघको संख्याबारे अहिले नै भन्न सकिने अवस्था नरहेको बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गत वर्ष गरिएको गणनामा १९ बयस्क बाघ थिए । यसअघि २०१८ मा गरिएको राष्ट्रिय गणनामा यहाँ बाघको संख्या १६ थियो । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको शुक्लाफाँटा कम क्षेत्रफलमा बढी बाघ पाइने संरक्षित क्षेत्रका रूपमा चिनिन्छ । मंसिर १९ देखि चितवन–पर्सा कम्प्लेक्सबाट बाघ गणना सुरु भएको हो । चितवनपछि बर्दिया–बाँके कम्प्लेक्स हुँदै शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्प्लेक्समा अन्तिम चरणमा गाणना भयो ।

स्वचालित क्यामरामा कैद भएका सबै तस्बिरको विश्लेषणपछि वैशाखसम्म तथ्यांक सार्वजनिक गर्ने लक्ष्य रहेको निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा सम्पन्न बाघ पाइने राष्ट्रका प्रमुखहरूको सम्मेलनले २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने प्रतिबद्धता गरेको थियो । २०१० मा नेपालमा बाघको संख्या १ सय २५ थियो । २०१८ को राष्ट्रिय गणनामा बाघको संख्या उल्लेख्य रूपमा बढेर २ सय ३५ पुगेको छ ।