प्रारुप नबन्दा गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ
2022/03/07, 11:08
 
ss

कैलालीमा गेटा मेडिकल कलेज निर्माण भए पनि प्रारुप नबन्दा सञ्चालनको अन्यौलता अझै कायमै रहेको छ । मेडिकल कलेज सञ्चालनका लागि आवश्यक भवनहरु तयार भइसकेका छन् । करिब साढे चार अर्बको लागतमा गत वर्षनै कलेज सञ्चालन गर्न चाहिने भवन निर्माण भए पनि मेडिकल कलेज सञ्चालन हुने सकेको छैन ।

सरकारले मेडिकल कलेज कुन मोडेलमा सञ्चालन गर्ने भन्नेनै टुङ्गो लगाएको छैन । मेडिकल कलेज, मेडिकल विश्वविद्यालय वा प्रतिष्ठान के बनाउने भन्ने टुङ्गो नलाग्दा सञ्चालनमा अन्यौलता देखिएको हो । अस्पताल, कलेज, छात्रवास, आवाशलगायत भवनहरु तयार भइसकेका छन् । तर सञ्चालनको प्रारुप (मोडालिटी) तय भएर ऐन नबन्दा जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा जडानलगायत व्यवस्थापकीय काम अगाडि बढेका छैनन् ।

सञ्चालनमा भइरहेको ढिलाइले बनेका संरचनाहरु पनि जीर्ण बन्ने जोखिम छ । भवन निर्माणबाहेक सरकारले अरु कुनै तयारी नगर्दा सञ्चालन अनिश्चित बनेपछि यहाँका स्थानीय निराश छन् । तत्काल प्रारुप तय गरेर सञ्चालन प्रकृया अगाडि बढाउन यहाँका स्थानीयको माग छ । सेती प्रादेशिक अस्पतालका पूर्वप्रमुख डाक्टर गणेशबहादुर सिंहले कुन मोडेलमा सञ्चालन गर्ने भनेर सरकारले निर्णय गर्न ढिलो भइसकेको बताए ।

सरकारले छिटो निर्णय नगर्ने हो भने सञ्चालन अझै केही वर्ष धकेलिने उनको भनाइ छ । ‘मेडिकल कलेजका नाममा भवनमात्र बनाएर भएन, अन्य तयारीमा पनि धेरै समय लाग्छ ।’ सिंहले भने, ‘जुन मोडेलमा सञ्चालन गर्ने हो त्यो अहिलेनै टुङ्गयाउन आवश्यक छ ।’

मेडिकल कलेज पूर्वाधार विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले सरकारले कुन मोडेलमा सञ्चालन गर्ने भनेर ऐन नबनाउँदा अन्यौलता रहेको बताए । पुजाराका अनुसार ऐन छिटो नआए सञ्चालनमा अझै डेढ÷दुई वर्ष जानसक्छ । ऐन चाँडो ल्याउन आफ्नो तहबाट पहल गरिरहेको उनले बताए । ‘ऐन नआउँदा उपकरण, जनशक्ति व्यवस्थापन आदिको तयारी सुरु गर्न सकिएको छैन ।’ पुजाराले भने, ‘मोडालिटी तय गर्न हामीले सरकारलाई बारम्बार आग्रह गरेका छाँै । प्रधानमन्त्रीसम्म पनि यो कुरा पु¥याएका छौँ ।’

अस्पताल, कलेज सञ्चालनका लागि आवश्यक भवनलगायत २९ वटा आधुनिक भवनहरु निर्माण भइसकेका उनले जानकारी दिए । खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनको काम भने हुन बाँकी छ । ऐन आएर जनशक्ति र उपकरणको व्यवस्थापन हुँदै गर्दासम्म खानेपानी, विद्युत र फोहरमैला व्यवस्थापनको तयारी पनि पूरा गर्न सकिने कार्यकारी निर्देशक पुजाराले बताए ।

यसैगरी, गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका नाममा संरचनाहरु निर्माण भएका छन् । मेडिकल कलेजको साटो विश्वविद्यालय वा प्रतिष्ठान बनाउनु पर्ने यहाँका स्थानीयको माग छ । स्थानीय र सरोकारवालाले मेडिकल विश्वविद्यालय बनाउनुपर्ने माग गरिरहेका छन् । मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका पूर्वअध्यक्ष लक्ष्मीराज पाठकले नेपालमा एउटा मेडिकल विश्वविद्यालय आवश्यक रहेको र त्यो गेटामा बनाउन सकिने बताए ।

‘नयाँ संरचना बनाउनुभन्दा संरचना बनिसकेको गेटालाई मेडिकल विश्वविद्यालय बनाउनु उपयुक्त हुन्छ ।’ उनले भने, ‘मेडिकल विश्वविद्यालय बनाउन सके स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धी हुन्छ ।’  डाक्टर सिंह पनि मेडिकल विश्वविद्यालयनै उपयुक्त हुने बताउँछन् । ‘यहाँका नागरिकको चाहाना मेडिकल विश्वविद्यालय बनाइयोस् भन्ने हो । त्यो संभव नभए स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनु पर्छ ।’ सिंहले भने, ‘संरचना बनिसक्यो, मेडिकल कलेजनै चलाउने हो भने पनि सरकारले छिटो निर्णय गरिदिनु प¥यो ।’ 

स्वास्थ्य विभागका पूर्वप्रमुख समेत रहेका पाठक मेडिकल विश्वविद्यालय बनाउँदा यहाँका जिल्ला अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न सकिने बताउँछन् । यसले जिल्ला अस्पतालहरुमा पनि स्वास्थ्य सुविधा बढ्ने उनको भनाइ छ । ‘निकै ढिलो भइसक्यो, सरकारले जे बनाउने हो तत्काल निर्णय गरिदिनु प¥यो ।’ उनले भने, ‘हामीले आफ्नो तहबाट पहल गरिरहेका छौँ, यहाँका जनप्रतिनिधि र नेताहरुले पनि सामूहिक पहल गरिदिनु पर्छ ।’

मेडिकल कलेजको गुरुयोजनामा आर्थिक वर्ष २०७६/०७७ मा मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर पूर्वाधार निर्माणमा ढिलाइ भएपछि सञ्चालनको लक्ष्य २०७८ मा सारिएको थियो । सरकारले २०६६ सालमा गेटा मेडिकल कलेज स्थापनाको निर्णय गरे पनि रुख कटानको आदेश नपाउँदा लामो समयसम्म पूर्वाधार निर्माण शुरु हुन सकेको थिएन । 

२०७१ मा प्रशासनिक भवनको शिलान्यास भएको थियो तर साइड विवादका कारण उक्त काम पनि अगाडि बढ्न सकेको थिए । रुख कटानको आदेश पाएसँगै २०७३ बैशाखदेखि नयाँ संरचना निर्माणको काम शुरु भएको हो । धनगढी र अत्तरियाको बीचमा पर्ने गेटास्थित ५१ दशमलव ८ हेक्टर क्षेत्रमा संरचनाहरु बनेका छन् । 
 

समिति गठन 
यसैबीच सञ्चालनको मोडालिटी तय नभए पनि मेडिकल कलेजको संरचनामा अस्पताल चलाउने तयारी भइरहेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल सञ्चालन स्वीकृति दिने तयारीअनुरूप स्वास्थ्य सचिव डा.रोशन पोखरेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले बुझाउने रिपोर्टका आधारमा अस्पताल सञ्चालनको तयारी अगाडि बढ्ने मन्त्रालयले जनाएको छ ।