‘समाजवादी र माओवादीमा दम्भ छ, आगामी निर्वाचनमा गठबन्धन हुँदैन’ (अन्तर्वार्ता)
2022/03/17, 12:14
 
dd

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी र नेकपा एकीकृत समाजवादी मात्रै सहभागी छन् । गठबन्धन भित्रै रहेका अन्य दुई दल नेपाली कांग्रेस र जनता समाजवादी सरकारमा सहभागी छैनन् ।

सत्तामा जान नपाएपछि अहिले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका नेताहरूले गठबन्धनको औचित्य नरहेको बताउँदै आइरहेका छन् । केही दिन पहिले कांग्रेस सुदूरपश्चिम सभापति वीरबहादुर बलायरले प्रदेशमा गठबन्धन नभएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धन नहुने प्रष्ट पारेका थिए ।

प्रदेश सभापति बलायर र नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटन मन्त्री प्रेम आलेको एउटै निर्वाचन क्षेत्र हो । यसअघि बलायरलाई आलेले प्रतिनिधिसभामा हराएका थिए । गठबन्धन नगरे बलायर यहाँबाट कांग्रेसको उम्मेदवार बन्ने सम्भावना छ भने गठबन्धन भए एउटै निर्वाचनमा बलायर र आलेलाई समेट्न नेतृत्वलाई सकस पर्ने देखिएको छ । उनी अहिले कांग्रेसको अभियान लिएर आफ्नो निर्वाचन क्षेत्रमा छन् । त्यहाँ उनले गठबन्धन नहुने भन्दै आइरहेका छन् ।

प्रस्तुत छ, गठबन्धनको अवस्था, प्रदेश सरकारमा कांग्रेसको भूमिकालगायतका विषयमा कांग्रेस प्रदेश सभापति बलायरसँग गरिएको कुराकानी 

तपाईंले पछिल्लो समय कांग्रेस गठबन्धन बनाएर चुनाव नलड्ने बताइरहनु भएको छ । पार्टी केन्द्रबाट केही संकेत पाएर भन्नु भएको कि मनोगत कुरा हो ?

त्यो यर्थात हो । म सुदूरपश्चिम प्रदेशको पार्टी सभापति हुँ । गठबन्धन भएको भए त देशभर हुनु पर्छ नि ! अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा गठबन्धन भएकै छैन । अनि यही गठबन्धन अगाडि बढाउनु पर्छ भन्ने कहाँ हुन्छ ?

अरु सबै प्रदेशमा हामी सरकारमा छौं तर, सुदूरपश्चिम प्रदेशमा छैनौं । यसअर्थमा अहिले नै हामी गठबन्धनमा छैनौं भने आगामी निर्वाचनमा गठबन्धनको कुरा परिकल्पना गर्ने कुरै हुँदैन ।

सरकार बाहिर रहनुपर्दाको आक्रोश त होला नि यो, होइन त ?

यो आक्रोश होइन । हामीलाई कोसँग आक्रोश पोख्नु छ र ! हामी त सबैको भावना समेट्ने गरी जनताको प्रगतिमा अगाडि बढौं भनिरहेका छौं । तर, उहाँहरूले केही गर्न चाहिरहनु भएको छैन । गठबन्धनलाई बलियो बनाउन र गठबन्धन अनुसार अघि बढ्न उहाँहरु नै तयार हुनुहुन्न भने हामी मात्र किन गठबन्धनको कुरा लिएर अगाडि जाने ? हामी त हाम्रो पार्टीलाई सक्रिय बनाएर अगाडि लैजाने अभियानमा छौं । हामी जनताको पक्षमा हाम्रा प्रतिबद्धताहरु पूरा गरेर आगामी निर्वाचनलाई एक्लै फेस गर्ने तयारीमा छौँ ।

सुदूरपश्चिम सरकारमा सहभागी हुने कुरा उहाँहरूले चाहनु भएको वा नचाहेको कुरा मात्रै होइन । यो गठबन्धनसँग जोडिएको कुरा पनि हो । हामीसँग बहुमत छ भन्ने क्षणिक कुरालाई उहाँहरूले बुझ्नु भएको छ । उहाँहरूको त्यो बुझाइलाई पनि हामीले सहज स्वीकार गरेका छौं ।

यहाँ कांग्रेस कमजोर भएरै सरकार बाहिर हुनपरेको सत्य त हो नि !

कांग्रेस नेताहरू कमजोर छैनन्, कांग्रेस कमजोर छैन । त्यो कुरा त निर्वाचनपछि सबैले थाहा पाइहाल्ने छन् । सरकारमा सहभागी हुने कुरा उहाँहरूले चाहेमा पनि सम्भव नहुन सक्छ । यतिका वर्षमा उहाँहरूले गर्नु भएको कामको अन्तिममा हामी जश वा अपजश लिन हामी चाहन्नौं ।

पार्टी सभापति एवं प्रधानमन्त्रीकै प्रदेशमा कांग्रेस किन यति कमजोर हुन पुग्यो ?

सुदूरपश्चिममा समाजवादी र माओवादीको एउटा दम्भ छ । अहिले अंकगणितले हामी बहुमतमा छौं भन्ने लाग्यो होला र त्यही दम्भ देखाइरहनु भएको छ । त्यसमा हाम्रो कुनै आपत्ति छैन । तर, हामी सत्तापक्ष हौं कि विपक्ष हौं भन्ने कुरा पार्टीले निर्धारण गर्छ । सारमा हामी सरकारमा छैनौं ।

पटक–पटक मुख्यमन्त्री माग्न काठमाडौं जानुभयो । तर अहिले पन्छन खोज्नु भएको हो ?

हामी त्यो बेलासम्म गठबन्धन प्रति पूर्ण प्रतिबद्ध थियौं, जतिबेला ठूला तीन दल गठबन्धनमा थिए र उनीहरूबीच दुई–दुई प्रदेशमा एउटा–एउटा मुख्यमन्त्री र मधेस प्रदेशमा समाजवादीलाई एउटा मुख्यमन्त्री दिने सहमति भएको थियो । त्यो समझदारीलाई हामीले स्वीकार गरेका थियौं । तर त्यसो नहुने भएपछि हामीले मुख्यमन्त्री मागेका छैनौं ।

अर्काे कुरा, योभन्दा पहिले सुदूरपश्चिम प्रदेशमा पार्टीको संरचना थिएन । १४ औँ महाधिवेशनले संरचना ल्याइसकेपछि आफ्नो पार्टीलाई सफल र सक्षम बनाउनु मेरो कर्तव्य हो । म त्यहींअनुसार अघि बढिरहेको छु ।

तपाईंको निर्वाचन क्षेत्रमा नेकपा एसका नेता तथा अहिलेका मन्त्री प्रेम आले पनि हुनुहुन्छ । यसअघि तपाईं उहाँसँग पराजित हुनु भएको थियो । गठबन्धन भए आफू टिकट नपाउने सम्भावना देखेपछि विरोध गर्नुभएको भन्ने आरोप पनि छ नि !

त्यस्तो केही होइन । टिकट जसले ल्याए पनि भयो । जनताको बीचमा को छ भन्ने कुरा हो । जनताले अनुमोदन गर्ने कुरा हो । म अहिले पनि जनताकै बीचमा छु । डोटीको दूरदराजमा संगठन र जनताको काम गर्दै हिँडिरहेको छु । यहाँ हामीले पार्टीको अभियानलाई तीव्र रूपमा अगाडि बढाइरहेका छौं । लोकतान्त्रिक प्रक्रियामा अन्तिममा जनताले निर्वाचनमार्फत फैसला गर्ने कुरा हो । अहिले कसले के भने भन्ने कुरातर्फ धेरै ध्यान दिन आवश्यक छैन ।

तपाईं सुदूरपश्चिममा मात्रै गठबन्धन विरोधी हो कि देशैभरको ?

कांग्रेसले देशैभर क्षति बेहोर्ने गरी गठबन्धन गर्दैन । कसरी र कहाँ–कहाँ गठबन्धन गर्ने भन्नेबारे केन्द्रीय कार्य समिति र पदाधिकारीबाट निर्णय हुन्छ । यो एकलरूपमा र व्यक्तिगत रूपमा भनिने र गरिने कुरा होइन । नीतिगत रूपमा आउँछ । तर कांग्रेसलाई सबल र सक्षम बनाउन गठबन्धन उपयुक्त छैन भन्ने अधिकांशको बुझाइ छ । नेपाल प्रेसबाट