मृगौला रोगपीडितको डायलाइसीस गर्ने सात वटा नयाँ मेसिन छ महिनादेखि सेती प्रादेशिक अस्पतालमा थन्किएका छन् ।गत असोजमा आएका ती मेसिन अस्पताल भवनको सिढीमुनि थन्क्याएर राखिएका छन् । मेसिन प्रयोगमा ल्याउन सरोकारवाला निकायले चाँसो दिएका छैनन् ।आपूर्तिकर्तालाई मेसिनको रकम भुक्तानी नहुँदा जडान कार्य हुन सकेको छैन । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डायलाइसीस गर्ने मेसिन खरिदका लागि सेतीलाई गत जेठमै बजेटको सुनिश्चितता दिएको थियो । तर मन्त्रालयले भुक्तानीका लागि बजेट नपठाउँदा मेसिन हस्तान्तरणनै नभएको अस्पालले जनाएको छ ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले संघले बजेट निकासा नदिएकाले मेसिन हस्तान्तरण नभएकाले प्रयोगमा ल्याउन नसकिएको बताए । मन्त्रालयलाई बजेट निकासाका लागि बारम्बार आग्रह गरिए पनि ढिलाइ भएको उनले बताए ।
‘आपूर्तिकर्ताले सामानमात्र राखेको हो । भुक्तानी दिन नसकिएकाले जडानको काम हुन नसकेको हो ।’ पाण्डेयले भने, ‘हामीले बारम्बार आग्रह गरेका छौँ तर संघले बजेट पठाउन ढिलो गरेको छ ।’
जेएस मेडिहेल्थ कन्सर्न भक्तपुरसँग सात वटा मेसिन खरि गर्न अस्पतालले एक करोड ४६ लाख रुपैयाँमा गत असारमा सम्झौता गरेको थियो । खरिद सम्झौता भएपछि जेएस मेडिहेल्थ कन्सनले गत असोजमा मेसिन ल्याएर राखेको अस्पतालले जनाएको छ । कोरोना संक्रमणको दोस्रो लहरमा बेला कोरोना संक्रमित मृगौला रोगपीडितको डायलाइसीस गर्न भएको समस्यालाई मध्यनजर गर्दै सरकारले मेसिन खरिदका लागि अनुमति दिएको थियो । आपूर्तिकर्ताले नै मेसिन जडान गरेर हस्तान्तरण गर्ने सम्झौता छ ।
संघीय सरकारले बजेट नदिँदा मेसिन थन्किए पनि अस्पतालमा मेसिन जडान गर्ने संरचना र तिनलाई सञ्चालन गर्ने जनशक्ति तयारी अवस्थामा छैन । अस्पतालले जनशक्ति र पूर्वाधार व्यवस्थापन तयारी अवस्थामा राख्न सकेको छैन । ठाउँको अभावले मेसिन कहाँ राखेर सञ्चालन गर्ने भन्ने समस्या देखिएको छ । सात वटा डायलाइसीस मेसिन सञ्चालन गर्ने जनशक्ति पनि अस्पतालसँग छैन ।
मेसु पाण्डेयले भने अस्पतालमा भवनको अभाव भए पनि डायलाइसीस मेसिन जडानका लागि ठाउँको व्यवस्थापन भइरहेको दावी गरे । ठाउँ अभावकै कारण मेसिन जडान नरोकिएको उनले बताए । मेसिन सञ्चालन गर्ने जनशक्ति व्यवस्थापनको पनि तयारी भइरहेको अस्पतालले जनाएको छ ।