आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आव्हान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ । नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आवेदन दिनेमध्ये सात हजार ४६ महिना छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन भरेका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिए । सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी प्रहरीमा दरखास्त दिएका छन् ।
२०७४ सालको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ काम गरेका एक हजार ८७१ जनाले पनि आवेदन दिएका प्रहरी निरिक्षक बिष्टले जानकारी दिए । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ । कैलालीमा म्यादी प्रहरीका लागि दरखास्त दिनेको घुँइचो लागेपछि प्रहरीलाई आवेदन संकलन र भीड व्यवस्थापनमा हम्मेहम्मे परेको थियो ।
यस्तै कञ्चनपुरमा एक हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा पाँच हजार ९३५ जनाको आवेदन परेको छ । डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीको फाराम भरेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यी जिल्लामा क्रमशः आठ सय १०, एक हजार २३१ र छ सय ६८ जना म्यादी प्रहरी माग भएको छ ।
बझाङमा एक हजार ९३ जना म्यादी प्रहरी माग भएकोमा एक हजार ६५६ जना र बैतडीमा आठ सय १५ जना म्यादी प्रहरी माग भएकोमा दुई हजार २४ जनाले आवेदन दिएका छन् । यस्तै डडेल्धुरामा एक हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाको आवेदन परेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा छ सय ५२ र दार्चुलामा सात सय ४२ जना म्यादी प्रहरी भर्नाका लागि कोटा तोकिएको छ ।
म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका बेरोजगार युवायुवतीहरुको संख्या बढी छ ।
‘एक महिना काम गरेर घर खर्च त होला भनेर भर्ना हुन खोजेको हुँ ।’ धनगढीका सन्तोष जोशीले भने, ‘घरमा बेरोजगार बस्नुभन्दा म्यादी प्रहरी हुन पाए केही सिकाइ पनि हुन्छ र केही पैसा कमाइ पनि हुन्छ ।’ काम नपाइदा बेरोजगार भएर बस्नु परेको उनले बताए ।
नाबालक छोराछोरी काखमा च्यापेर म्यादी प्रहरीको आवेदन दिन घण्टौँ लाइनमा लागेका दृश्यहरु प्रहरी कार्यालयहरुमा देखिन्थे । आवेदन दिनेमध्ये उच्च शिक्षा अध्ययन गरे पनि रोजगारी नपाएकाहरुको संख्या पनि धेरै छ । एक महिनाको जागिरका लागि बीए, एमए गरेकाहरु पनि तछाडमछाड गर्नुले नेपालमा बेरोजगारीको अवस्था झल्कने नागरिक समाजका अगुवाहरु बताउँछन् । म्यादी प्रहरीका लागि आवेदन दिने अन्तिम म्याद गत शुक्रबारसम्म थियो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभरनै म्यादी प्रहरी भर्ना गर्न लागेको हो । म्यादी प्रहरीका लागि देशभरबाट दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन फारम भरेका बताइएको छ । जसमा ५९ हजार चार सय ८९ महिला छन् । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरिएकोमा दुई लाख ८९ हजार चार सय ३१ जनाले आवेदन फारम भरेका हुन् । फारम भरेकाबाट १४ गतेदेखि छनोट सूची प्रकाशनको कार्य सुरू हुने छ ।
अन्तिम नामावली २६ गतेसम्म प्रकाशन भएर २७ गते नियुक्तिको काम थालिने र त्यही दिनबाट तालिम सुरू हुने बताइएको छ । म्यादी प्रहरीका लागि हरेक जिल्ला प्रहरी कार्यालयहरूले फारम लिएका छन् । म्यादी प्रहरीका लागि १८ देखि ५४ वर्ष उमेर भएकाले निवेदन दिन पाउने व्यवस्था थियो ।
म्यादी छनोटमा पूर्वप्रहरी, पूर्वसैनिकलगायत राष्ट्रिय अन्तर्राष्ट्रिय फौजी संगठनमा काम गरेका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । त्यसबाहेक मापदण्डभित्र पर्नेहरूलाई समावेश गरिन्छ । प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको सरह तलब, खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुनेछ ।
प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा धेरै दरखास्त मधेसमा ६८ हजार ४९ तथा लुम्बिनीमा ५६ हजार एक सय ७४ दरखास्त परेको छ । त्यस्तै, प्रदेश १ मा ४९ हजार ३४२, बागमतीमा ४४ हजार ३८२ र गण्डकीमा २४ हजार ३६९ जनाले दरखास्त दिएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा कम कर्णालीमा १८ हजार पाँच सय १४ जनाले म्यादी बन्न दरखास्त दिएका बताइएको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै १३ हजार ९५० जनाको आवेदन परेको छ । शारीरिक तन्दुरुस्ती र अन्तर्वार्तामार्फत् छनोट हुनेछ ।