स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी बढ्न थाल्यो
2022/03/31, 11:04
 
dd

सुदूरपश्चिम प्रदेशको शक्ति केन्द्रको रुपमा रहेको कैलालीमा स्थानीय तह निर्वाचनको चुनावी सरगर्मी बढ्न थालेको छ ।निर्वाचनको मिति नजिकिदैँ जाँदा जिल्लाको गाउँ, सहरमा चुनावी गतिविधि बढ्न थालेको हो ।

दलहरुले आ–आफ्नो पकड बढाउनका लागि सबै क्षेत्रमा चुनावी गतिविधिलाई तीव्रताका साथ सञ्चालन गर्न थालेका छन् ।नेपाल सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । सो चुनावमा सकेसम्म बढी पालिकामा आफ्नो जित प्राप्तीका लागि राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा जुटेका हुन् ।

जिल्लामा क्रियाशील ठूलासहित नयाँ साना दलले पनि चुनावी गतितिविधिलाई तीव्रताका साथ अगाडि बढाएका छन् । दलहरुले टोल कमिटी गठन गर्ने, सदस्यता वितरण गर्ने र विभिन्न एजेण्डा लिएर जनतामाझ पुग्ने कार्य गरिरहेका छन् । 

२०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा कैलालीमा सबैभन्दा बढी सात पालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जित हात पारेको थियो । यसैगरी, नेपाली काङ्ग्रेसले तीन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दुई पालिकामा जित दर्ता गरेको थियो । एउटा पालिकामा तत्कालीन थरुहट पार्टी जितेको थियो ।

१३ मध्ये नेकपा एमालेका उम्मेदवार गोदावरी नगरपालिका, गौरीगङ्गा, घोडाघोडी, टीकापुर, लम्कीचुहा नगरपालिका, मोहन्याल र चुरे गाउँपालिकामा प्रमुखमा जितेका थिए । यसैगरी, नेपाली काङ्ग्रेसका उम्मेदवार धनगढी उपमहानगरपालिका, जोशीपुर गाउँपालिका र बर्दगोरिया गाउँपालिकामा जित हात पारेका थिए । माओवादी केन्द्रका उम्मेदवार कैलारी गाउँपालिका र भजनी नगरपालिकामा जितेका थिए । जानकी गाउँपालिकामा भने थरुहटले बाजी मारेको थियो । यो पार्टी नेपाली काङ्ग्रेसमा समाहित भएको छ । 

दलहरुले १३ वटै पालिकामा आ–आफ्ना चुनावी गतिविधि गरिरहेका छन् । नेकपा एमाले विरासत जोगाउने र थप बाजी मार्ने कसरतमा रहेको छ भने, काङ्ग्रेस र माओवादीले पहिलेकोभन्दा राम्रो नतिजा ल्याउने प्रयासका साथ अगाडि बढेका छन् । 

एमालेबाट फुटेर गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नवगठित नागरिक उन्मुक्ति पार्टी पनि विभिन्न पालिकामा बाजी मार्ने दाउमा रहेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीको गतिविधि पनि सञ्चालन भइरहेको छ । 

२०७४ को निर्वाचनमा सबैभन्दा बढी पालिकामा जित हात पारेको नेकपा एमालेलाई यस पटक विरासत जोगाउन अप्ठ्यारो पर्ने देखिएको छ । सो पार्टी विभाजन भएपछि अब पहिलेको जस्तो बलियो छैन । एमालेबाट फुटेर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले नै एमालेको भोट काट्न सक्ने सम्भावना रहेको छ । 

यद्यपि, स्थानीय तहको निर्वाचनमा बढीभन्दा बढी पालिकामा आफ्नो उम्मेदवार जिताउनका लागि एमालेले विभिन्न रणनीतिका साथ तयारी गरिरहेको सो पार्टीका कैलाली अध्यक्ष रतन थापाले बताए । उनले एमाले कमजोर भएको पालिकामा चुनावी गठबन्धन गरेर अगाडि बढ्ने भन्ने कुरा पनि भइरहेको उल्लेख गरे । 

‘हाम्रो पार्टी कमजोर देखिएको पालिकामा त्यसै छोड दिने भन्ने हुँदैन’, उनले भने । ‘बरु अन्य पार्टीसंग मिलेर चुनाव लड्ने कि भनेर कुरा चलिरहेको छ ।’ थापाका अनुसार एमालेले कैलालीको विभिन्न पालिकामा गरेर ६४० वटा टोल कमिटी गठन गरिसकेको छ । यसैगरी, २९ हजारभन्दा बढी मान्छेलाई सो पार्टीमा आबद्ध गराइएको छ । एमालेका संगठित सदस्यमात्रै २२ हजार रहेका छन् । एमालेले स्थानीय तहको चुनावका लागि धेरै पहिलेदेखि तयारी थालेको थापाले उल्लेख गरे । 

स्थानीय तहको अघिल्लो निर्वाचनमा तीन पालिकामात्रै चित्त बुझाएको नेपाली काङ्ग्रेस यस पटक पहिलेकोभन्दा राम्रो नतिजा ल्याउने कसरतमा जुटेको छ । जितेको पालिमामात्रै हैन, हारेका पालिकामा सो पार्टीले चुनावी गतिविधिलाई व्यापक पारेको छ । धनगढी उपमहानगरपालिकालाई प्राथमिकतामा राखेर चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको काङ्ग्रेस ‘घर, घर जाउँ, नेपाली काङ्ग्रेस जिताउँ’ अभियान लिएर जनतासम्म पुगिरहेको छ । 

नेपाली काङ्ग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले चुनावलाई मध्यनजर गरेर जिल्लाको १२६ वटै वडामा प्रतिनिधि खटाइसकेको बताए । उनले बाहिर चुनावी प्रचारप्रसार तीव्र रुपमा भइरहेको उल्लेख गरे । 

अघिल्लो निर्वाचनमा दुई पालिकामामात्रै जित हात पारेको नेकपा (माओवादी केन्द्र) ले पनि विभिन्न पालिकामा आफ्नो चुनावी गतिविधिलाई व्यापक पारेको छ । सो पार्टीले पनि वडा, टोल कमिटी गठन गर्ने, जनतामाझ आफ्नो एजेण्डा राख्ने कार्य गरिरहेको छ । यस पटक २०७४ को चुनावकोभन्दा पनि राम्रो परिणाम निकाल्ने उद्देश्यका साथ माओवादीले चुनावी गतिविधि गरिरहेको सो पार्टीका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरी ‘उत्सव’ ले बताए । ‘हिजोको भन्दा पनि राम्रो परिणाम ल्याउने गरी चुनावी गतिविधि गरिरहेका छौं’, उनले भने । 

त्यसो त, नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका दलको चुनावी गठबन्धनको कुरा पनि अगाडि बढाइएको छ । सबैको सह अस्तित्वलाई स्वीकारेर आवश्यकतानुसार चुनावी गठबन्धन गरिने माओवादीको प्रदेश अध्यक्ष चौधरीले बताए । ‘आवश्यकतानुसार गठबन्धन गर्छौ, भएन भने छुट्टाछुट्टै चुनाव लड्न सक्षम छौं’, उनले भने । यस्तै, नेपाली काङ्ग्रेसका कैलाली सभापति भट्टले पनि पालिकाहरुमा चुनावी गठबन्धन गरेर जाने कि नजाने भनेर छलफल चलिरहेको बताए । 

सरकार घटक गठबन्धन दलहरुबीच स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गरेरै अगाडि बढ्ने वा के गर्ने भनेर छलफल भइरहेका बेला यी दलहरुले चुनावी प्रचारप्रसार भने छुट्टाछुट्टै गरिरहेका छन् । 

त्यस्तै, रेशम चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले पनि कैलालीको विभिन्न पालिकामा कमिटी, संगठन विस्तारदेखि लिएर प्रसारप्रसारलाई तीव्रता दिएको छ । रेशमका श्रीमती रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा सो पार्टी यसैवर्ष गठन भएको हो ।

रेशम चौधरीको पकड क्षेत्रमा आफ्नो गतिविधिलाई व्यापक पारेको यो पार्टीले कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकामा पनि वडा, टोल समिति गठन गरेको छ ।  दलहरुले गाउँ गाउँमासमेत आफ्नो चुनावी प्रचारप्रसारलाई अगाडि बढाइ सकेका छन् ।