डोटीमा ८४ हजारबढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप
2022/04/14, 1:58
 
ss

८४ हजारबढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप डोटीमा तीव्रता साथ लगाइँदै छ। चैत २५ देखि वैशाख १८ सम्म चल्ने राष्ट्रिय खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइन लागेको हो।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई पहिलो चरणमा विद्यालयमै पुगेर उक्त खोप दिइन लागेको छ। जसका लागि विगतमा सञ्चालित खोप केन्द्रसँगै जिल्लाभरिका विद्यालयलाई खोप केन्द्र बनाइएको छ। 

नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप अभियान सुरु गरिन लागेको हो। अभियानपछि बालबालिकाहरूलाई १५ महिनाको अवधिमै यो खोप दिइनेछ। ‘स्थानीय तहहरूले बालबालिकाको संख्याका आधारमा विद्यालय र हाल सञ्चालित खोप केन्द्रसॅगै थप केन्द्र पनि सञ्चालन गर्न सक्नेछन,’ राष्ट्रिय खोप अभियानबारे जानकारी दिँदै स्वास्थ्य कार्यालय प्रमुख जोशीले भने, ‘पहिलो चरणमा बिद्यालयमा लगाएर विद्यालय बाहिर रहेका बालबालिकालाई स्वास्थ्य केन्द्रमा खोप दिइनेछ।’

टाइफाइड संक्रमणको जोखिम १५ वर्षमुनिका बालबालिकालाई बढी हुने र प्रभावित पनि बढी हुने भएकाले उक्त उमेर समूहलाई लक्षित गरी खोप अभियान सुरु गरिन लागेको हो। हालसम्म बालबालिकालाई ११ किसिमका खोप दिइने गरिएको छ। टाइफाइडसहित अब १२ किसिमका खोप दिइने भएको छ।