धनगढीमा यसपालि एमालेले जित्दैछ, त्यसका प्रशस्तै कारण छन्– रणबहादुर चन्द [अन्तर्वार्ता]
2022/04/28, 1:24
 
ss

धनगढी उप—महानरपालिका प्रमुखमा नेकपा  एमालेका तर्फबाट रणबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् । अघिल्लो चुनावमा धनगढीमा तेस्रो शक्ति रहेको एमाले अहिले पहिलो बन्ने लक्ष्यसहित चुनावमा होमिएको छ । यही वैशाख ३० गते हुने निर्वाचनका सम्बन्धमा एमाले उम्मेदवार चन्दसँग गरेको कुराकानीको सम्पादित अंश 

धनगढी उपमहानगरपालिका प्रमुख पदमा उम्मेदवार बन्नुभएको छ, तपाईंले जित्ने आधार के हो र ?

एमाले वडा तहदेखि पालिका हुँदै जिल्ला, प्रदेश र केन्द्रसम्म सुव्यवस्थित पार्टी हो । मैले धनगढी उपमहानगरपालिका जित्ने प्रमुख आधार भनेकै पार्टीको संगठन हो । पार्टीभित्रको एकता हो । हामी एकताका साथ चुनावमा होमिएका छौं । कुनै पनि फरक मत र विचार छैन । जित्ने पहिलो आधार यही हो ।

दोस्रो आधार भनेको हामीले वडा तहमा अब्बल, परिचित, जनताको काम गरेका र भिजेका उम्मेदवार उठाएका छौं । वडाहरूमा पनि हामीले जुन ठाउँमा जुन समुदाय र संरचना छ त्यहीअनुसार नै उठाएका छौं । अर्को कुरा एमाले पार्टीले लिएको नीति, दृष्टिकोण, सिद्धान्त जनतालाई बुझाउन सकेका छौं ।  गठबन्धन गलत स्वार्थ र निहीत स्वार्थका लागि बनेका कारणले जनताको काम गर्न सकेको छैन, त्यसैले पनि हामीले जित्छौं ।

माथि मिले पनि स्थानीय तहमा, गाउँमा, शहरमा गठबन्धनमा एकजुट हुन सकेको छैन । माथि भएको सत्ताको भागबन्डाले गर्दा पनि स्थानीय तहमा जनता रुष्ट भएका छन् । पदको भागबण्डा लगायतका कारणले गठबन्धनमा विवाद आएको देखिन्छ । मतदाताले गठबन्धनलाई स्वीकारेको देखिँदैन । त्यसले सिधै एमालेलाई फाइदा हुने हो । हामीले जित्छौं भन्ने आधार यो पनि हो । 

गठबन्धनलाई नरुचाउने मतदाताले एमाले नै रोज्छन् भन्ने हुन्छ र र ?

अघिल्लोपटक नेपाली कांग्रेसले प्रमुख जित्यो । त्यो जित्ने बेलामा उनीहरूले जनतालाई धेरै आश्वासन दिएका थिए ।  आश्वासन अनुसार काम गर्न नसकेकाले जनता रुष्ट छन् । कांग्रेस फेल भइसकेपछि विकल्प एमाले हो भन्ने जनतालाई थाहा छ ।

गठबन्धन र स्वतन्त्र उम्मेदवार बलिया देखिएका छन् । त्यसबीचमा एमालेले नै बाजी मार्छ भन्नुभयो । तपाईंसँग मतदाता आकर्षित गर्ने त्यस्ता एजेन्डा के छन् र ?

धनगढी सुदूरपश्चिम प्रदेशको एउटा मात्रै उपमहानगरपालिका हो । यसले जुन गतिमा विकास निमार्णको काममा गर्नुपर्ने थियो, त्यो सकेको छैन । योजना बनाएर विकास गर्नुपर्नेमा खालि तदर्थवादमा मात्रै चलेको छ ।

परम्परागत रूपमा चलेको छ । त्यसलाई नयाँ स्वरूप दिनुपर्छ भनेर म अगाडि आएको हुँ । यसलाई मेगा सिटी हुँदै महानगर बनाउनुपर्छ भन्ने योजनाका साथ हामी अगाडि आएका छौं । घोषणामार्फत हामीले धनगढीलाई सफा, सुन्दर र व्यवस्थित बनाउने योजना अगाडि सारेका छौं । यहाँ मुख्य यातायात व्यवस्थापन, सडकमा पार्किङको समस्या, ढलको समस्या छन् । सडकहरूमा पनि त्यस्तै समस्या देखिएका छन् । 

व्यवस्थित शहर बनाउनका लागि ती समस्या समाधान गर्नुपर्ने छ, हामी त्यसमा लाग्ने छौं । १९ वटा वडा रहेको उपमहानगरपालिकामा नागरिकका आधारभूत आवश्यकता पनि पूरा गर्न सकेका छैनौं, त्यसलाई पनि हामी पूरा गर्छौं ।

जनताहरू अझै पनि स्वच्छ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगारी लगायतका आधारभूत सेवाबाट वञ्चित छन्, त्यसलाई कसरी पूरा गर्दै लैजाने भन्ने कुराको योजना लिएर अगाडि बढ्छौं । धनगढीमा अव्यवस्थित बसोवासको धेरै ठूलो समस्या छ, त्यसलाई मुख्य एजेण्डा बनाएर जान्छौं । भूमि आयोगले काम गरेको थियो तर यो सरकारले त्यसलाई विस्थापित गरिदियो । अहिले त्यो काम अड्किएको छ, त्यसलाई पनि अगाडि लैजान्छौं ।

तपाईंहरू अघिल्लोपटक निकटतम् प्रतिस्पर्धी पनि हुनुहुन्थेन, एक्कासि जित्छौं भन्ने आत्मविश्वास पछाडिको कारण के हो  ?

पाँच वर्षअगाडि र अहिलेको अवस्था धेरै फरक छ । हिजो के थियो भन्ने नहेरौं अहिले के छ भनेर हेर्नुपर्छ । परिस्थिति परिवर्तन भएको छ । नेकपा भएको समयमा आउनुभएका माओवादीका साथीहरू अहिले पनि एमालेमै हुनुहुन्छ, त्यसले गर्दा पनि हाम्रो मतदाताको संख्या बढेको छ । नेकपाकै निरन्तरतासहित नयाँ एमाले हो पुरानो एमाले होइन ।

पार्टीको गतिले गर्दा पनि मानिसहरूले एमालेलाई विश्वास गरेका छन् । हाम्रै पार्टीको पहलमा भएको लिपुलेक लिम्पियाधुरा फिर्ता ल्याएको कारणले पनि मतदाता थपिएका छन् ।  चुनावमा एक्लै लड्नुपर्ने थियो तर गठबन्धनबाट लडेकाले पनि एमालेलाई फाइदा छ । 

तपाईंका प्रतिस्पर्धीले अघिल्लोचोटि पनि हामीले जितेका हौं, यसपालि त ७० प्रतिशत मत ल्याएर जित्छौं भन्नुहुन्छ नि ?

त्यो गलत हो । धनगढीमा नेकपा एमाले र गठबन्धनबीच नै प्रतिस्पर्धा हुने हो । हामी अगाडि आउँछौं ।  एमालेले विजय प्राप्त गर्छ भन्ने हाम्रो विश्वास हो, किनभने कांग्रेसले जित्यो तर जनतासामु गरेका वाचा पूरा गरेन । विकास निमार्णका कामको योजना ल्याउन सकेको छैन । उहाँहरूले जित्नुहुन्छ भन्ने हामीलाई लागेकै छैन । त्यसको विकल्प एमाले हो ।

स्वतन्त्र व्यक्ति अर्थात् संगठन नभएको व्यक्तिलाई जनताले विश्वास गर्ने कुरा भएन । कुनै पनि पार्टीको विकल्प स्वतन्त्र हुन सक्दैन । विकास गर्न संगठन चाहिन्छ, त्यो एमालेसँग छ । साभारः लोकान्तरबाट