गठबन्धन भएकाले ८० प्रतिशत मत ल्याएर जित्छौं, धनगढीलाई महानगर बनाउँछौं: नृप वड [अन्तर्वार्ता]
2022/04/28, 1:28
 
ss

 

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनबाट मेयरको टिकट पाएका धनगढी उपमहानगरपालिकाका उम्मेदवार नृपबहादुर वड निवर्तमान मेयर समेत हुन् । यसपटक पुनः मेयर बन्ने चाहना गरेका वडलाई कांग्रेसले गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।उनको चुनावी योजना, हालसम्म भएका विकासका काम र आगामी चुनावी अवस्थाबारे गरेको कुराकानीको सम्पादित अंश :

एक कार्यकाल मेयर चलाइसकेको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभएको ?

– म दोहोरिनेभन्दा पनि मेरो पार्टीले निर्णय नै गरेर मलाई नै फेरि मेयरको जिम्मेवारी दिन खोजेको हो । एक कार्यकाल काम गरिसकेकाले मेरो सम्भावना पनि अरुको भन्दा बढी छ । हामीले स्थानीय तहको जिम्मेवारी लिँदा काम गर्ने अवसर पनि कम भयो । साढे २ वर्ष कोभिडकै समय भयो । यो बेला काम नै कम भयो भने कतिपय काम गर्न खोज्दाखोज्दै पनि भएन ।

६ महिना हावाहुरीको चपेटामा नै बित्यो । देशैभरमा सबैभन्दा बढी हावाहुरीको चपेटामा पर्ने ठाउँ नै धनगढी उपमहानगर हो । हावाहुरी र कोभिडको समयमा आइपरेका समस्या व्यवस्थापन गर्नुपर्ने भयो । त्यतिबेला कामै गर्न पाइएन । बाँकी रहेको २ वर्षमा हामीले ७५३ वटै नगरपालिकामध्ये नमूना काम गर्ने स्थानीय तह धनगढी उपमहानर नै हो ।

काम गरेको भनेर जनस्तरसम्म बुझाउने आधार के छ ?

– हामीले जुन गतिमा खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार सहितको क्षेत्रमा काम गरेको छौं । त्यसले निकै राम्रो नतिजा दिएको छ । जुन वडामा हिजो १ किलोमिटर पनि सडक कालोपत्रे थिएन, अहिले त्यहाँ १८–२५ किलोमिटर सडक कालोपत्रे भएको छ । खानेपानी ८००–८५० घरधुरीले मात्रै खानेपानी प्रयोग गरेका थिए, अहिले १० हजार घरधुरीले खानेपानी पाइसकेका छन् ।

निरन्तर रूपमा खानेपानी विस्तार भएको छ । हिजोको दिनमा खानेपानी ट्यांकी एउटा वडामा मात्रै थियो भने आज १६ वडामा खानेपानी पुगेको छ । कोभिडमा धनगढी उपमहानगरले जे काम गरेको थियो, विभिन्न निकायले मूल्यांकन गरेर दिएको सम्मानले पनि देखाएको छ ।

अरुभन्दा राम्रो गर्नुभएको हो भनेर दाबी गर्ने आधार के छ ?

– संघीय सरकार, प्रदेश सरकार र हाम्रो काम विश्लेषण गर्ने संस्थासहितले हामीलाई विभिन्न शीर्षकमा सम्मान गरेका छन् । यस्तो सम्मान हामीले गरेको काम तुलनात्मक रूपमा अरुको भन्दा उत्कृष्ट भएकाले पाइएको हो । हामी राज्यले दिएको नीतिनियमभित्र बसेर काम गर्ने निकाय पनि हौं । यस्तो कामले धनगढी उपमहानगर बनाउनमा थप सहयोग पुगेको छ ।

हामीले हरित क्षेत्रमा काम गरेकै धनगढी उपमहानगर नेपालका सबै स्थानीय तहभन्दा अगाडि आउन सफल भएको छ । अन्य पूर्वाधार पनि तीव्र गतिले निर्माण भइरहेको छ । विद्यालय भवन, स्वास्थ्य कार्यालय बनाउने काम भइरहेको छ । हामीले १८ वडामा स्वास्थ्य कार्यालय, १९ वडामा सामुदायिक भवन बनाएका छौं ।

विद्यालय भवन पनि पर्याप्त मात्रामा बनाइएको छ । जुन क्षेत्रमा आवतजावत गर्न असहज छ, त्यो स्थानमा पुल हाल्ने र बाटो मर्मत गर्ने पनि गरेका छौं । अहिले पनि ३०–३१ वटा प्रोजेक्टहरूमा हामीले काम गरिरहेका छौं ।

पहिले गरिरहेका काम पूरा गर्न नै दोहोर्‍याएर मेयर हुन्छु भन्न खोज्नुभएको हो ?

– हामीले सबै क्षेत्रमा काम गरिरहेका छौं । केही पूरा भएका पनि छन् भने केही पूरा हुने चरणमा छन् । केही काम महानगर बनाउन पनि गर्नुपर्नेछ । यसका लागि आवश्यक पूर्वाधार निर्माण सहितको तयारी भइरहेको छ । संविधानमा भएको एउटा प्रदेशमा एक महानगरपालिका भन्ने व्यवस्थाअनुसार नै धनगढीलाई स्तरोन्नति गर्ने गरी अगाडि बढिरहेका छौं । हामी सुदूरपश्चिम प्रदेशमा प्रदेशको पहिलो महानगर बन्ने प्रयासमा छौं । यीसहित काम गर्न यसपटक फेरि अवसर दिन अनुरोध गरेको छु ।

महानगर हुने गरी काम भइसकेको छ ?

– हामीले सबै क्षेत्रबाट गरेको विकास र महानगरलाई चाहिने आवश्यक पूर्वाधार पूरा गरेका छौं । महानगर हुन सक्ने क्षमतामा हामी पुगिसकेका छौं । हाम्रो महानगरमा आवश्यक सिटीहल तयार पारेका छौं । कोल्ड स्टोर, वडा कार्यालय, आम्दानीको दायरा बढाउने तथा राजस्व वृद्धि गर्ने काम गर्न सफल भइएको छ । कोभिड महामारीमा पनि यो ३० करोड रुपैयाँ संकलन गर्न सकेको छौं । अब यसको दायरा फराकिलो हुँदै महानगर बन्नसक्ने क्षमतामा यो उपमहानगरलाई पुर्‍याउँछु भन्ने छ ।

 

महानगर र उपमहानगरभन्दा पनि स्थानीयको अपेक्षाअनुसार विकास निर्माणको काम गर्न सक्नुभयो कि भएन भन्नेले अर्थ राख्ला नि ?

– स्वास्थ्यको क्षेत्रमा धनगढी महानगर हब भइसकेको छ । शिक्षाको क्षेत्रमा पनि हबकै रूपमा विकास हुँदैछ । अरु पूर्वाधारमा पनि कहीँकतै कमी हुन दिएका छैनौं, काम गरिरहेका छौं । हामीले उद्यमशीलतालाई बढी जोड दिएका छौं । हरेक घरमा एक जना व्यक्ति उद्यमशील हुने विषयलाई प्राथमिकता दिएका छौं । हाम्रो नारा नै एक घर एक उद्यमी भन्ने छ । उद्यमशीलतामा अगाडि बढ्न प्रेरित पनि गरिरहेका छौं ।

यसका साथै हामीले शिक्षामा पनि लगानी गरिरहेका छौं । निजी विद्यालयले ६–७ लाख लिएर दिने शिक्षालाई हामीले १ लाख ८० हजार रुपैयाँमै स्नातक तहको अध्ययन गराइरहेका छौं । सामुदायिक विद्यालयमा इन्जिनीयर, जेटीए उत्पादन गर्ने गरी शिक्षा दिइरहेका छौं । 

शिक्षामा लगानी बढाउने र उद्यमशीलतामा बढी केन्द्रित हुनु त राम्रो हो तर यही क्षेत्रका स्थानीयले काम भएन भनेर प्रश्न उठाउन छाडेका छैनन् त ?

– हाम्रो उद्देश्य हरेक व्यक्ति प्राविधिक हुनुपर्छ भन्ने हो । अहिलको अवस्थामा बेरोजगारी दर बढेको छ । यसलाई नियन्त्रण गर्न पनि हरेक घरबाट उद्यमशीलता विकास गर्नुपर्नेछ । वर्कशप खोल्ने, मोबाइल मर्मत गर्ने, कृषितर्फ व्यावसायिकीकरण गर्ने सहितको काम हामीले अगाडि बढाएका छौं । ४७ वटा ताललाई माछापालन गर्न अनुदान दिइएको छ ।

दलित समुदायलाई लक्षित गरेर उनीहरूको उद्यमशीलतामा जोड दिएका छन् । यो समुदायका सबै घरमा १–१ वटा बंगुर दिएका छौं, यसबाट १–१ वटा हामीलाई फिर्ता गर्छन् । फिर्ता आएको बंगुर अर्कोलाई दिएर उद्यमशीलता बढाउँदैछौं । यसले मासुको अभाव कम गर्ने भयो भने अर्कोतर्फ उद्यमशीलताको शुरूआत पनि हुन्छ । हामीले आफैं माछा, च्याउ उत्पादन गर्दैछौैं । सम्बन्धित क्षेत्रमा तालिम दिने र अनुसन्धान केन्द्र बनाउने गरी पनि जाँदैछौं । 

स्थानीयले खोज्ने उम्मेदवार विश्वासिलो र एजेन्डा पेश गर्न सक्ने हुनुपर्छ भन्ने छ । तपाईंको चाहिँ फेरि आफैंले जित्ने आधार के छ ?

– अहिलेको सबैभन्दा प्राथमिकताको एजेन्डा नै उद्यमशीलतामा जोड दिने हो । यसले युवाशक्ति विदेश पलायन हुनबाट जोगाउँछ भने हामीले पनि स्वदेशमै केही गर्ने भावना भएका व्यक्तिप्रतिको विश्वसनीयता बढाउन सक्छौं । युवासँग चाहना हुँदाहुँदै पनि सीप नभएर काम गर्न नसकिरहेको अवस्था छ । यसलाई हामीले विशेष ध्यान दिन्छौं । कृषि, घर बनाउने मिस्त्री उत्पादन गर्ने, अहिले गरिरहेको कृषिको कामलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने । ७ दिन, १८ दिन, ८ महिनासम्मको तालिम दिएर पनि कृषि क्षेत्रको प्रवद्र्धनमा बढी जोड दिने योजना छ । 

प्रतिस्पर्धी उम्मेदवार बलिया भइरहेका अवस्थामा तपाईंले नै जित्ने आधार के छ ?

– यहाँको महानगरपालिका कांग्रेसकै गढको रूपमा चिनिएको छ । पहिले एक्लै लड्दा पनि कांग्रेसले ७० प्रतिशत मत ल्याएर चुनाव जितेको थियो । यसपटक झन् गठबन्धनमा भएकाले मत बढेर ८० प्रतिशत पुग्ने अपेक्षा छ । गठबन्धन सफल हुने देखिइसकेकाले हामीसँग त अहिले प्रतिस्पर्धी नै कोही छैनन् । 

उसो भए यसपटक पनि फराकिलो मत अन्तर बनाउनुहुन्छ त ?

– यसपटक हामी ८० प्रतिशत मत ल्याउँछौं । हामीले नजित्ने र कम मत आउने त कल्पनै नगरौं । महानगरमा मात्रै नभएर वडामा पनि हाम्रो बहुमत हुने बलिया आधार छन् ।

वडा तहसम्म गठबन्धन नभएको अवस्थामा जित्ने आधार चाहिँ कसरी देख्नुभयो ?

– हाम्रो संरचना बलियो छ, वडा तहमा कांग्रेसको वर्चस्व बढी छ । त्यसैले पनि हामीले नै महानगरको मेयरदेखि वडासम्म सबै स्थानीय तह जित्छौं । गत चुनावमा हामीले १२ वडा जितेका थियौं । ५ वटा माओवादीले र २ वटा मात्रै एमालेले जितेको थियो । एमालेले जितेका ठाउँमा समाजवादीको भागमा परेको छ । माओवादीले जितेको सबै, समाजवादी र हाम्रो आफ्नो गरेर यसपटक झन ठूलो मतान्तर हुने पक्का छ । 

महानगरमा त केन्द्रबाटै टुंगो लागेर गठबन्धन बनेको छ तर वडामा गठबन्धन नहुनु र गठबन्धन भएका ठाउँमा पनि मतदाता असन्तुष्ट छन् भन्ने छ नि ?

– त्यस्तो छैन । गठबन्धन भएको ठाउँमा माओवादी र नेकपा एसका उम्मेदवार छैनन् । माथि मिलेर गएकाले तल्लो तहमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने नै हो । हामीले जितेको ठाउँमा र पहिलेभन्दा अहिले अझै राम्रो संरचना बनेकाले हामी कमजोर भएको भन्ने त कुनै तर्क नै छैन । साभारः लोकान्तरबाट