स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै कैलालीको धनगढी उपमहानगरपालिकालाई पनि चासोका साथ हेरिएको छ । यसपालि निर्वाचनमा गठबन्धन (कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी), नेकपा एमाले र स्वतन्त्रबाट उठेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलनले पनि धनगढीलाई चासोका साथ हेरिएको हो ।
अघिल्लो पटक पनि धनगढीको मेयरका लागि कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको थियो । ३० वैशाखमा हुन लागेको चुनावमा पनि अघिल्लोपटककै उम्मेदवार उठेकाले चुनावी प्रतिस्पर्धा थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको नेतृत्वका लागि हुने प्रतिस्पर्धा हेर्न मतदाता पनि व्यग्र प्रतीक्षामा छन् ।
गठबन्धनको तर्फबाट यसपटक पनि धनगढीको मेयरका लागि कांग्रेस केन्द्रीय सदस्य नृपबहादुर वड चुनावी मैदानमा छन् । गठबन्धनको साथ रहेको भन्दै चुनावी प्रचारप्रसारमा जुटेका उनले अघिल्लो कार्यकालमा गरेका र आगामी दिनमा गनुपर्ने कामको सूची बोकेर हिँडिरहेका छन् । प्रस्तुत छ तिनै मेयरका प्रत्यासी वडसँग गरेको कुराकानीको सम्पादित अंश :
एक कार्यकाल मेयर भएको व्यक्ति फेरि किन दोहोरिन खोज्नुभयो?
पाँच वर्षको कार्यकालमा राम्रोसित काम गर्ने वातावरण भएन । कोरोनादेखि हावाहुरीले गर्दा चाहेजति काम गर्न सकेन । त्यसले गर्दा पाँच वर्षको विकासे अनुभवलाई नगर बनाउने मेरो उद्देश्य हो । धेरै योजनाहरू अधुरा रहेका छन् । ती अधुरा योजना पूरा गर्न फेरि मेरो उम्मेदवारी हो । बसपार्कदेखि गौरीफन्टा स्तरोन्नति र एयरपोर्टको विकास गर्ने मेरो मुख्य एजेण्डा रहेका छन् ।
हावाहुरी र कोभिडको समयमा आइपरेका समस्या आउँदा पनि धेरै कामको सुरुवात गरेका छौँ । त्यसले गर्दा दुई वर्षमा हामीले ७५३ वटै नगरपालिकामध्ये नमूना काम गर्ने स्थानीय तह धनगढी उपमहानगर बनायौँ ।
यसपालि पनि जित्नुहोला त चुनाव ? अनि गठबन्धनको साथ पाउने सम्भावना कति ?
राष्ट्रको आवश्यकताका आधारमा गठबन्धन भएको हो । माथि मिलेर गएकाले तल्लो तहमा मित्रवत प्रतिस्पर्धा गर्ने भन्ने नै हो । हामीले जितेको ठाउँमा र पहिलेभन्दा अहिले अझै राम्रो संरचना बनेकाले अहिले हामीलाई धेरै सहज भएको छ ।
वडा तहसम्म गठबन्धन नभएको अवस्थामा जित्ने आधार चाहिँ कसरी देख्नुभयो ?
वडा तहमा कांग्रेसको बर्चस्व बढी छ । त्यसैले पनि हामीले नै उपमहानगरको मेयरदेखि वडासम्म सबै स्थानीय तह जित्छौँ । गत चुनावमा हामीले १२ वडा जितेका थियौं । पाँचवटा माओवादीले र दुईवटा मात्रै एमालेले जितेको थियो । त्यसले गर्दा अहिले ठूलो मतान्तरले जित्नेछौँ । अहिलेको सबैभन्दा प्राथमिकताको एजेण्डा नै उद्यमशीलतामा जोड दिने हो । यसले युवा शक्ति विदेश पलायन हुनबाट जोगाउँछ भने हामीले पनि स्वदेशमै केही गर्ने भावना भएका व्यक्तिप्रतिको विश्वसनीयता बढाउन सक्छौं ।
युवासँग चाहना हुँदाहुँदै पनि सीप नभएर काम गर्न नसकिरहेको अवस्था छ । यसलाई हामीले विशेष ध्यान दिन्छौं । कृषि, घर बनाउने मिस्त्री उत्पादन गर्ने, अहिले गरिरहेको कृषिको कामलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने । सात दिन, १८ दिन, ८ महिनासम्मको तालिम दिएर पनि कृषि क्षेत्रको प्रवद्र्धनमा बढी जोड दिने योजना छ ।
पार्टीभित्रबाटै बागी उम्मेदवार उठेका छन्, यस्तो अवस्थामा कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
पार्टीभित्र भएका असन्तुष्टि समाधानका लागि छलफल चलाएका छौँ । धेरै ठाउँमा कुरा मिलेको छ । कुरा नमिलेको ठाउँमा पनि मिलाउने छौँ ।
अघिल्लोपटक यहाँलाई स्वतन्त्र उम्मेदवारले टक्कर दिनुभएको थियो, यसपालि चाहिँ तपाई आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई ठान्नुहुन्छ ?
नेपाली कांग्रेस एक्लै लड्दा पनि कसैसँग प्रतिस्पर्धा थिएन । त्यसमा पनि अहिले गठबन्धन रहेको छ । त्यसले गर्दा अहिले मेरो प्रतिस्पर्धा कसैसँग पनि छैन । त्यसमा पनि स्वतन्त्र व्यक्तिसँग प्रतिस्पर्धा हुने कुरै छैन । दलीय व्यवस्थामा स्वतन्त्रसँग प्रतिस्पर्धा हुँदैन । यसपटक झन् गठबन्धनमा भएकाले मत बढेर ८० प्रतिशत पुग्ने अपेक्षा छ ।
गठबन्धनभित्र पनि विवाद कायमै छ भन्ने सुनिन्छ, यस्तो अवस्थामा तपाइँलाई चुनाव जित्न अप्ठ्यारो हुँदैन ?
पाँच दल बीच गठबन्धन भएको छ । त्यसले कुनै अप्ठ्यारो पर्दैन । गठबन्धन दलभित्र भएको केही समस्याहरूलाई हामी सुल्टाइसकेका छौँ ।
धेरै नगरवासीले तपाइँले पहिलो कार्यकालमा आफ्नै चुनावी नारा बिर्सिएको आरोप पनि लगाउँछन्, के साँच्चै तपाइँले आफ्नै वाचा बिर्सिनुभएको हो ?
पाँच वर्षको असहज परिस्थितिका बाबजुद पनि हामीले खानेपानी, स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधारसहितको क्षेत्रमा काम गरेको छौं । त्यसले निकै राम्रो नतिजा दिएको छ । जुन वडामा हिजो एक किलोमिटर पनि सडक कालोपत्रे थिएन, अहिले त्यहाँ १८/२५ किलोमिटर सडक कालोपत्रे भएको छ । खानेपानी ८००/८५० घरधुरीले मात्रै खानेपानी प्रयोग गरेका थिए, अहिले १० हजार घरधुरीले खानेपानी पाइसकेका छन् ।
हिजोको दिनमा खानेपानी ट्यांकी एउटा वडामा मात्रै थियो भने आज १६ वडामा खानेपानी पुगेको छ । विद्यालय भवन पनि पर्याप्त मात्रामा बनाइएको छ । जुन क्षेत्रमा आवतजावत गर्न असहज छ, त्यो स्थानमा पुल हाल्ने र बाटो मर्मत गर्ने पनि गरेका छौं । अहिले पनि ३०/३१ वटा प्रोजेक्टहरूमा हामीले काम गरिरहेका छौं ।
नगरमा केही पूरा भएका पनि छन् भने केही पूरा हुने चरणमा छन् । केही काम महानगर बनाउन पनि गर्नुपर्नेछ । यसका लागि आवश्यक पूर्वाधार निर्माण सहितको तयारी भइरहेको छ । संविधानमा भएको एउटा प्रदेशमा एक महानगरपालिका भन्ने व्यवस्थाअनुसार नै धनगढीलाई स्तरोन्नति गर्ने गरी अगाडि बढिरहेका छौं । हामी सुदूरपश्चिम प्रदेशमा प्रदेशको पहिलो महानगर बन्ने प्रयासमा छौं । यीसहित काम गर्न यसपटक फेरि अवसर दिन अनुरोध गरेको छु ।
स्वतन्त्रसहित अन्य मेयरका प्रत्यासीले पनि धनगढीको मुहार फेर्नका लागि विभिन्न योजना अगाडि सारेका छन् । साथै, धनगढीलाई महानगर बनाउनका लागि पहल गर्ने भनेर तपाई पनि प्रचार गर्दै हिँड्नुभएको छ । के धनगढी महानगर बन्नलायक भइसकेको हो त ?
धेरै हदसम्म धनगढीमा पूर्वाधार निर्माण भएका छन् । हाम्रो उपमहानगरमा आवश्यक सिटी हल तयार पारेका छौं । कोल्ड स्टोर, वडा कार्यालय, आम्दानीको दायरा बढाउने तथा राजस्व वृद्धि गर्ने काम गर्न सफल भएका छौं । कोभिड महामारीमा पनि ३० करोड रुपैयाँ संकलन गर्न सकेका छौं । अब यसको दायरा फराकिलो हुँदै महानगर बन्नसक्ने क्षमतामा यो उपमहानगरलाई पुर्याउँछु भन्ने छ । हिजोका दिनमा गाउँमा विकास भएको थिएन । अहिले सबैतिर विकास भएको छ । धनगढी सहरभित्रका पनि धेरै सडक निर्माण भइरहेका छन् ।
तपाइँले पहिलो कार्यकालमा रोजगारको क्षेत्रमा काम गर्न नसुक्नुभएको गुनासो छ नि ?
स्वास्थ्यको क्षेत्रमा धनगढी उपमहानगर हब भइसकेको छ । शिक्षाको क्षेत्रमा पनि हबकै रूपमा विकास हुँदैछ । अरू पूर्वाधारमा पनि कहीँकतै कमी हुन दिएका छैनौं, काम गरिरहेका छौं । हामीले उद्यमशीलतालाई बढी जोड दिएका छौं । हरेक घरमा एकजना व्यक्ति उद्यमशील हुने विषयलाई प्राथमिकता दिएका छौं । हाम्रो नारा नै ‘एक घर एक उद्यमी’ भन्ने छ । उद्यमशीलतामा अगाडि बढ्न प्रेरित पनि गरिरहेका छौं ।
यसका साथै हामीले शिक्षामा पनि लगानी गरिरहेका छौं । निजी विद्यालयले ६–७ लाख लिएर दिने शिक्षालाई हामीले १ लाख ८० हजार रुपैयाँमै स्नातक तहको अध्ययन गराइरहेका छौं । सामुदायिक विद्यालयमा इन्जिनियर, जेटिए उत्पादन गर्ने गरी शिक्षा दिइरहेका छौं ।
दलित समुदायलाई लक्षित गरेर उनीहरूको उद्यमशीलतामा जोड दिएका छौं । यो समुदायका सबै घरमा एक/एकवटा बंगुर दिएका छौं, यसबाट एक/एक वटा हामीलाई फिर्ता गर्छन् । फिर्ता आएको बंगुर अर्कोलाई दिएर उद्यमशीलता बढाउँदैछौँ । यसले मासुको अभाव कम गर्ने भयो भने अर्कोतर्फ उद्यमशीलताका सुरुवात पनि हुन्छ । हामीले आफैं माछा, च्याउ उत्पादन गर्दैछौँ । सम्बन्धित क्षेत्रमा तालिम दिने र अनुसन्धान केन्द्र बनाउने गरी पनि जाँदैछौं । फरकधारबाट