बडिमालिका धार्मिक तथा पर्यटकीय दुवै दृष्टिबाट चर्चित गन्तव्य । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । सो क्षेत्रबाट बाजुरा सहित अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा कर्णाली प्रदेशका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । सुदूरपश्चिमको धरोहर बडिमालिका राज्यको उदासिनता र बेवास्ताले भने ओझेलमा छ ।
स्थानीयले यस क्षेत्रको धार्मिक तिर्थ स्थलमा रुपमा चिन्ने गर्दछन् । १४ हजार फिटको उचाईमा रहेको छ । बडिमालिका क्षेत्रलाई ४ महिना हिउँले ढाक्ने गर्दछ । बर्षातका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । बडिमालिका क्षेत्रको वास्तविक महत्व कतैबाट कुनै निकायले पनि अध्ययन गरेका छैनन् । विकास र प्रवद्र्धन कसैले ध्यान नदिएको गुनासो जिल्लाबासीको छ ।
बडिमालिकामा वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भव्य मेला लाग्ने गरेको छ । त्यो समयमा सुदूरपश्चिम तथा अन्य जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेको मन्दिरका पुजारी भानुभक्त पाध्यायले बताए । बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ । बडिमालिका क्षेत्र जिल्लाको बडिमालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने गर्दछ । बडिमालिका त्रिवेणी नगरपालिकाको स्वामित्वमा रहेछ ।
मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । २०६८÷६९ को आर्थिक वर्षको बार्षिक बजेटमा बडिमालिका सँरक्षित क्षेत्र घोषणा गरेता पनि आवश्यक पहल अझै सुरु भएको छैन । प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ती पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको ईच्छा पुरा हुने विश्वास छ ।
सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुइ सय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटीहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् । शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्धार आस्थाको केन्द्र विन्द जस्तै बनेको छ ।
गंगा दशहरामा तत्कालिन राज परिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए । बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको पुजारी भानुभक्त पाध्याय सुनाउँछन् । हाल पनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्ने गरेका छन् । धार्मिक आस्थाको धरोहरको पुजा पाठसँगै सम्म परेका पाटन र अन्य मनोमहक दृश्यको अवलोकन गर्नु प्रमुख लक्ष्य हुने गरेको सैनिक अधिकारी बताउँछन् । बडिमालिका क्षेत्रमा हयिालीफाँटमा भेंडा र घोडा खच्चडका बथानहरु बर्षातका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातिका वन्यजन्तु तथा पशुपंक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि भेटिन्छन् ।
पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराञ्चलका विभिन्न क्षेत्रबाट आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यले पनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ । निसन्तानीलाई सन्तान, गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मिक विश्वास छ । यही आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने गरेका छन् । बडिमालिका क्षेत्रमा मार्तडीबाट तीन दिनमा पुग्नु पर्ने मान्यता छ । बीचमा भैसी गोठ र पाल टाँगेर बस्नु पर्ने बाध्यता छ । त्रिवेणीमा पीतृ कार्य पनि गरिन्छ । सो ठाउँमा कालीकोट र बाजुराले धर्मशाला निर्माण गरेपनि त्यो मासलाई धान्न सक्ने छैन् ।
दर्शनार्थीको आवास र बसोबासका लागि कुनै व्यवस्था गरिएको छैन् । राज्यको प्रमुख निकायमा बस्ने व्यक्तीबाट हेलिकप्टरबाट पुजापाठ र दर्शन गरिन्छ । तर त्यसको विकास र प्रवद्र्धनमा ध्यान गएको छैन । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन् । बडिमालिका क्षेत्रको महिला र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन्, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु । बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो, भन्छन्,। राजनीतिक स्तरबाट पनि जिल्लाका बडिमालिका लगायतका गन्तव्यको प्रवद्र्धनमा पहल गरिएको छैन् ।
आर्थिक श्रोत संकलन र जिल्लाको पहिचानमा योगदान पुग्ने गन्तव्यलाई नै बेवास्ता गरेको प्रति नागरिक अगुवाहरु गुनासो गर्ने गरेका छन् । बडिमालिका क्षेत्रको विकास गर्नसके सुदूर पश्चिमका अन्य गन्तव्यलाई पनि राज्यको मुल प्रवाहिकरणमा लिन सकिने निश्चित छ ।