शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ‘कोर एरिया’ मै बस्ती
2022/08/02, 6:42
 
ss

चारैतिर जंगल, बीचमा घाँसेमैदान र बिरुवाहरू । तिनै बिरुवाका वरिपरि घना बस्ती । यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ढक्का क्षेत्र हो, जुन निकुञ्जको कोर एरिया पनि हो । बाघ, हात्ती, गैंडा, चित्तललगायत वन्यजन्तु ओहोरदोहोर गर्ने उक्त क्षेत्रमा बाक्लै मानव बस्ती विस्तार भएको छ ।तत्कालीन आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू अहिले निकुञ्जको ढक्का शिविरमा बसोबास गरिरहेका हुन् । यहाँ ६०४ परिवारको बसोबास छ । उनीहरू २०६४ देखि छाप्राहरू बनाएर यहाँ बस्न थालेका हुन् ।

छाप्रा मात्रै होइनन् उनीहरूले खनजोत गरेर खेतीपाती पनि गरिरहेका छन् । आरक्षको पूर्वी क्षेत्र विस्तारका क्रममा दर्जनौं बस्तीहरू विस्थापित भएका थिए । तीमध्ये थोरैको मात्रै सट्टाभर्ना पाएर पुनःस्थापना भयो । निकुञ्जभित्र ढक्कासँगै तारापुर र लल्लरे डाँडामा शिविर बनाएर बसोबास गरिरहेका छन् । आरक्ष विस्थापितहरूको सबैभन्दा ठूलो शिविर ढक्का नै हो ।

तारापुरमा १८० र लल्लरे डाडामा १३ परिवार बसोबास गर्दै आएका छन् । ‘हाम्रो त बास नै वन्यजन्तुसंँगै भएको छ, यो जंगलमा नारकीय जीवन विताइरहेका छौं,’ ढक्का शिविरमा बसोबास गर्दै आएका हिरासिंह भण्डारीले भने । उनका अनुसार स्थानीयले लगाएको अन्नवाली समेत जोगाउन सकिदैन । हात्तीको बथान आएका बेला खेतीपाती मात्रै होइन ज्यान जोगाउनसमेत गाह्रो हुन्छ । गतवर्ष ढक्कामै एकको ज्यान गएको थियो ।

१५० वर्गकिलोमिटर क्षेत्रमा रहेको शुक्लाफाँटा वन्यजन्तु निकुञ्जको पूर्वी क्षेत्र विस्तार गरेर ३०५ वर्गकिलोमिटर पुर्‍याइएको हो । उक्त क्षेत्र विस्तारका क्रममा करिब एक दर्जन बस्ती विस्थापित भए । तिनै परिवार अहिले ढक्का शिविरमा हुन् । निकुञ्जको कोर एरियामै मानववस्ती हुँदा एकातर्फ जनजीवन कष्टकर बनेको छ । अर्कोतर्फ वन्यजन्तुको आवागमनमा समेत अवरोध सृजना हुने गरेको छ ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार बाघको संख्या ३६ पुगेको छ । सानो क्षेत्रफलमा बढी बाघ भएको संरक्षित क्षेत्रको रूपमा शुक्लाफाँटा चिनिन्छ । तर संरक्षित क्षेत्रभित्रै पनि बस्तीहरू हुँदा बाघ लगायतका वन्यजन्तुको विचरणमा अवरोध सृजना हुने गरेको संरक्षणकर्मीहरू बताउँछन् ।

यसै वर्षको बाघ गणनाले समेत यसलाई पुष्टि गरेको छ । ‘चौधर नदी पूर्व बाघको घनत्व कम छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोषका शुक्लाफाँटा संरक्षण कार्यक्रम प्रमुख लक्ष्मीराज जोशीले भने । लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई जोडने साँघुरो ठाउँ ढक्का र र तारापुर हो । यही क्षेत्रमा मानव बस्ती भएका कारण करिडोर नै अवरुद्ध हुन पुगेको निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐर बताउँछन् ।

उनका अनुसार विगतमा भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीहरू एकरदुई महिनामै फर्किने भए पनि एकरदुई वर्षदेखि फर्किन पाएका छैनन् । जसका कारण हात्ती र मानवबीचको द्वन्द्व बढ्दै गएको छ । निकुञ्ज किनारका बस्तीमा हात्तीले बर्सेनि धनजनको क्षति पुर्‍याउँदै आएको छ ।‘सीमा बैठकमा पनि भारतको पिलिभित टाइगर रिजर्भका अधिकारीले हात्ती बढी देखिन थालेका बताएका छन्,’ ऐरले भने । उनका अनुसार निकुञ्जभित्रै मानवबस्ती भएका कारण पूर्वी क्षेत्रमा वन पनि घना हुन सकेको छैन ।

आरक्ष विस्तारका क्रममा विस्थापित भएकाको पुनःस्थापनाका लागि हालसम्म ३१ आयोग तथा कार्यदलहरू गठन भएका छन् । कुनै आयोगले विस्थापितको संख्या बढाउने त कुनैले घटाउने बाहेक केही काम भएको छैन । पछिल्लो पटक ३० औं आयोगले विस्थापित परिवारलाई १० कट्ठा जमिन वा ६० लाख मुआब्जा दिन सिफारिस गरेको थियो ।