'स्वेच्छाचारी अध्यक्षसँग बसेर देश र जनताको पक्षमा काम गर्न सकिन्न'
2021/09/13, 2:22
 
11

देशको पछिल्लो राजनीतिक उतारचढाव चर्चामा छ । करिब दुई तिहाई बहुमत प्राप्त कम्युनिष्ट सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ । एमालेबाट फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको छ । सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादी पहिलो पार्टी बनेको छ । समाजवादी पार्टीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरिसेकेका छन् । एमालेबाट छुट्टिएर अर्कै पार्टी बनेपछि अबको यात्रा र कम्युनिष्ट राजनीतिमा आएको यो उतारचढावका विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसँग गरेको कुराकानी :

मन्त्री ज्यू, राजनीतिले निकै उतारचढाव लियो । के छ अहिलेको अवस्था ?

नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल बनेको छ । कम्युनिष्ट पार्टी फुट्नु राम्रो होइन । तर, विगतबाटै पार्टी फुट्ने श्रृंखला चलिरहेका छन् । अहिले पनि नेकपा एमाले फुट्नुको कारण नेतृत्वले पार्टीको विधान विपरीत स्वेच्छाचारी ढंगले अगाडि बढ्नु नै हो । त्यो स्वेच्छाचारी कदमको हामीले विरोध गर्दा-गर्दै गत पुस ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गर्नुभयो । सांसद नै विघटन गरेर मुलुकलाई अस्तव्यस्त बनाउने काम गर्नुभयो । पार्टीमा महत्वपूर्ण योगदान गरेका नेताहरुलाई उहाँले किनारा लगाउँदै जानुभयो । त्यति बेलाबाटै कार्यकर्ताहरुले कित्ता क्लियर गर्न थाल्नुभएको हो ।

यस्ता निरन्तर रुपमा भइरहेका गलत काम सहन नसकेर पार्टी विभाजनसम्म पुग्यो । माधव नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ता भएको छ । यसो हेर्दा पार्टी हिजो मात्र खोलेकोजस्तो लागे पनि कार्यकर्ताको उत्साहले पार्टी वषौं पुरानोजस्तै भएको अनुभव भइरहेको छ । २०७५ जेठ ३ गते पार्टी अध्यक्षले विघटन गर्दै नेकपा बनाइसक्नुभएको थियो । एमाले त त्यतिबेला नै सकिएको हो नि पछिल्लो समय अदालतले ब्यूँताइदिएको पो एमाले हो अहिले त । त्यसमा पनि उहाँहरुले एउटा हिस्सालाई स्थान नदिएपछि छुट्टिनु परेको हो । पार्टी दलाल पुँजीवादीको घेराबन्दीमा थियो । समाजवादउन्मुख भएर पार्टी अगाडि बढ्न सक्ने अवस्था नभएपछि हामी यो ठाउँमा आएका छौं । यो आन्दोलनलाई गम्भीरतापूर्वक अगाडि बढाउने योजनाअनुरुप देशभरबाट उत्साह छ, अब अरु कार्यकर्ताहरुले जतिखेर पनि आउन मिल्ने अवस्था छ । 

एमालेमा बसेर लामो राजनीति गर्नुभयो, सूर्य चिह्नबाटै चुनाव जित्नुभो । अहिले त्यही पार्टी छोड्नुपर्दा नराम्रो लागिरहेको छैन ?

नराम्रो त लाग्यो नि । वर्षौं पार्टीमा खारिएका हामी । आफूले बनाएको घर पार्टीको गुन, मप्रतिको योगदान उल्लेखनीय छ । तर, म कम्युनिष्ट पार्टीभन्दा बाहिर गएको छैन । पार्टीको उद्देश्यअनुरुप काम भएनन्, त्यही पार्टीमा बसेर काम गर्ने वातावरण पनि नहुँदा छोड्नुपर्‍यो । अहिले त्यो पार्टी छोडेको पनि त्यति धेरै पीडा छैन । पार्टी जुन उद्देश्यले बनेको हो, त्यो उद्देश्यअनुसार काम भएनन् । अब त्यो उद्देश्यलाई अर्को पार्टीबाट पूरा गर्छौं । पार्टी छोड्दा दुख लाग्नु स्वभाविक हो । तर, सूर्य चिह्न भनेर दुःखमा डुबेर हुँदैन । त्यही सूर्यलाई फेरि चम्किलो बनाउने गरी अब हामी काम गर्छौं ।

तपाईंहरुका नेता भीम रावल, घनश्याम भुसाललगायत १० बुँदे सहमति गर्दै पार्टी एकतामा जानुभयो । तपाईंहरु चाहिँ किन अर्कै पार्टीमा ?

१० बुँदेलाई बुझ्नुपर्ने छ । ०७५ जेठ ३ पछि हामी नेकपामा गयौं। दुइटै अध्यक्षहरुले आ-आफ्नो पार्टी विघटन गर्दै अर्को पार्टी बनाउनुभयो । तल्लो तहमा छलफल बिना नै पार्टी विघटन गर्दै नयाँ पार्टी बनाउनुभयो । त्यसमा विवाद गरेनौं । त्यसपछि त्यही पार्टीभित्र लडाईं सुरु भयो । एकातर्फ विधिविधान मान्ने नेता त अर्कोतर्फ शक्तिको पछि दगुर्दै विधान नै नमान्ने नेता रहनुभयो । त्यतिखेरै मुलुक दुई कित्तामा उभिएको थियो । पार्टी फुटेको अहिले देखिएको हो । आन्तरिक रुपमा पहिला नै फुटिसकेको थियो ।  प्रधानमन्त्रीको स्वेच्छाचारी, एकलौटीपनले यो अवस्था आएको हो । अहिले पनि जेठ ३ भन्नुहुन्छ । जेठ ३ मा आए पनि सबै संगठन पुनर्जीवित भएनन् । किन केपी ओली र ईश्वर पोखरेल मात्रै आए, अरु पुरानै संगठनमा किन आएनन् ? उहाँहरुको एकलौटीपनकै कारण हामी त्यो पार्टीमा बस्न नसकेका हौं। मुलुकभर समान उद्देश्य भएका कम्युनिष्ट कार्यकर्तालाई मिलाएर सिंगो कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने उद्देश्यले हामी अर्कै पार्टी खोलेर लागेका हौं ।

अनि हिजोका दिन तपाईंसँगै रहेका दोस्रो  तहका नेताहरु त १० बुँदे कार्यान्वयन भयो भनेर एमालेमै बस्नुभयो नि ?यो १० बुँदेको अर्थ नै छैन । १० बुँदेका नाममा मान्छेलाई अल्झ्याउने काम हो के यो । हाम्रो आन्दोलनलाई बहकाउने काम मात्रै हो १० बुँदे भनेको । उहाँहरुलाई अल्झ्याएर ‘१० बुँदे, १० बुँदे’ भन्नुभयो । उहाँहरु झुक्किनुभाछ भन्छु म त । पार्टी अलग भएको त थिएन नि । दुई नेताको एकता भन्नुभयो । के एकता गर्नु थियो र त्यसमा । खुरुखुरु अध्यक्षले जेठ ३ को बैठक बोलाइदिएको भए १० बुँदेको के काम । त्यसमा एकता भन्ने कुरै थिएन नि सहमति पो गराउनु थियो । अदालतले पुनर्जीवित गराएको एमालेको बैठक बसाएको भए भइहाल्थ्यो नि । 

२०७७ पुसयताका स्वेच्छाचारी कदम मेरा सबै गलत थिए भनेर माफ मागेको भए हुने थिएन र केपी ओलीले ? ति घटनाहरुलाई अझै पनि नराम्रा हुन भन्न सक्नुभएन । जुन अध्यक्षले गल्ती दोहोर्‍याउँदै जाने अनि स्वेच्छाचारी ढंगले अघि बढ्दै जान्छन् । उहाँसँग बसेर देश र जनताको पक्षमा काम गर्न सकिन्न भनेर हामी छुट्टिएका हौं ।

१० बुँदे सहमतिका लागि माधव नेपालले नै पठाउनुभएको हो नि ५ जना सदस्यलाई । अनि किन त्यही १० बुँदे सहमति नमानेको त ? भीम रावललगायत नेताहरु त माधव नेपालबाटै धोका भयो भन्नुहुन्छ ?

माधव नेपालले होइन नेपाललाई उहाँहरुले धोका दिनुभएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर अदालतसम्म धाएर हस्ताक्षर गरेर अन्तमा विश्वासको मत दिनुहुन्न रे । एक नेतालाई यत्रो विश्वास गरेर यत्रो आन्दोलनको जिम्मा दिइयो । पुस ५ यताको असंवैधानिक कदमविरुद्ध उभिएर जसले आन्दोलन सफल पार्‍यो, जसले दुई-दुई पटक संसद पुनर्बहाली गरायो, ति मान्छेहरुलाई भीरको टुप्पोमा पुर्‍याएर फर्केर हेर्दा साथ छोड्ने काम उहाँहरुले गर्नुभएको हो । 

एमालेलाई कायम गराउन उहाँहरुले भूमिका खेल्नुभएन कि माधव नेपाललाई छोड्नका लागि उहाँहरुले भूमिका खेल्नुभयो । केपी ओलीले खै उहाँहरुका कान-कानमा गएर के भन्नुभयो, अन्तमा बैगुनी मान्छे उहाँहरु हुन् । ‘दोस्रो अध्यक्षका लागि माधव नेपालले अपेक्षा गर्नुभो’ भन्नुभाछ, यो सरासर झुट हो । दशौं महाधिवेशनबाट हो नि नयाँ अध्यक्ष चुनिने हामीले केपी ओलीकै नेतृत्वको एमाले चाहेका हौं । पार्टीका संरचना जेठ ३ मा नफर्कने अनि हामी एमालेमा फक्यौं भन्नुको तुक छैन । भीम रावल हाम्रो नेता हो, सुदूरपश्चिमबाट । अबको नेता भीम रावललाई नै मानेका थियौं । यत्रो आन्दोलनमा उहाँकै साथमा थियौं हामी । उहाँहरुको पवित्र उद्देश्य थियो होला पार्टीलाई एक बनाउने तर केपी ओलीले खटाएका मान्छेबाट झुक्किनु पो भयो कि । अब उहाँहरु गइसक्नुभयो माधव नेपाललाई छोडेर । उहाँको अस्तित्व स्वीकार्न सक्नुभएन । अब हामी अलग भइसकेका छौं । सबैको अस्तित्व सहितको पार्टी बनाउने भए आउनुस् मिलेर जाऔं भन्न चाहान्छु ।

उहाँहरु केही स्वार्थका लागि जानुभो कि झुक्किनु भयो ?

स्वार्थ उहाँहरुका होलान् । मलाई चाहिँ झुक्किएकैजस्तो लाग्छ । माधव नेपाल सहितको एकता भन्नुहुन्थ्यो । अनि किन माधव नेपाललाई छोडेर आफू मात्रै जानुभयो । जेठ २ भन्नुभाछ, जेठ २ मै एमाले फर्केको भए लेखराज भट्टले म इन्चार्ज हुँ भन्नु हुन्थेन होला । जिल्ला-जिल्लामा नेकपा हुँदा समानान्तर कमिटी बनाएकाहरु नै अध्यक्ष भइरहेका छन् । यो १० बुँदे सबै भ्रम छर्ने कुरा हुन हामी भ्रममा पर्दैनौं । पार्टीको प्रजातान्त्रिक कारणलाई केपी ओलीले निजीकरण गरिसक्नुभाछ । खै हाम्रा नेताहरु के प्रलोभनमा पर्नुभयो । केपी ओलीको ‘जी हजुरी’ गर्नेहरु मात्रै उहाँसँग रहन्छन् र त्यस्तै महाधिवेशन प्रतिनिधिहरु जानुहुन्छ । उहाँको मान्छेबाहेक अरुले महाधिवेशन पनि जित्दैनन् ।

अनि सुदूरपश्चिममा भीम रावल एक्लिएकै हुन् ?

त्यस्तै देखियो । उहाँकै जिल्ला अध्यक्ष शेरबहादुर कुँवर हामीसँग हुनुहुन्छ । नेता एक्लिँदा हाम्रो पनि चित्त दुख्छ । त्यो क्षमता राख्ने नेता एक्लिनु हुन्न । माधव नेपालले भीम रावललाई जति अवसर दिनुभयो, केपी ओलीले त्यति दिनुहुन्न । हामीले उहाँलाई जति सम्मान गरेका थियौं, केपी ओलीका कार्यकर्ताले उहाँलाई त्यो सम्मान गर्ने छैनन् । उहाँ फेरि पनि हाम्रै टिममा आवद्ध हुन आउनुपर्छ ।

त्यतिबेला माधव समूह सुदूरपश्चिममै सबैभन्दा बलियो देखिएको भीम रावलका कारण भन्थे । अहिले रावलसँग ४ जना मात्रै रहे बलियो को रहेछ ?

बलियो वैचारिक समूह भयो । नवौं महाधिवेशनमा पनि यो समूहको नेतृत्व माधव नेपालले गर्नुहुन्थ्यो । प्राविधिक कारणले उहाँ पराजित हुनुभयो । भीम रावलदेखि घनश्याम भुसाल हामीसँगै थियौं । भीम रावल अत्यधिक मतले जित्नुभाको हाम्रै मतले हो । उहाँ हामीसँगै हुनुपर्थ्यो । तर, उहाँ उतातिर लाग्नुभयो । हामी एमालेको आन्दोलनलाई सार्थक बनाउन हिँडेका मान्छे हौं । नाम र सूर्य चिह्नसँगको मोहसमेत हामीले त्याग्यौं । हामी जनतालाई के कारण अर्कै पार्टी बनायौं भनेर प्रष्ट भन्न सक्छौँ, त्यसकारण भीम रावल हामीसँगै आउनुपर्छ ।

पार्टी बलियो बन्छ त तपाईंहरुको ?

हिजोका दिनमा जस्तो कार्यकर्ता जनतालाई सम्झाउन गाह्रो हुने अवस्था छैन । हरेक घरमा मास्टर गरेका मान्छे छन् । हाम्रा दस्तावेज उहाँहरुले पढ्न सक्नुहुन्छ । भोलि पार्टीलाई राम्रो बनाउने कुरा हाम्रो विधान, हाम्रा काम राम्रा हुनुपर्ने हो । वर्ग हितका मुद्दा नै उठेनन्, समाजवादमा जाने यात्रा दलाल पुँजीवादमा गएर अड्क्यो औषधिमा घोटाला गर्ने व्यक्तिलाई कारबाही भएन यस्तो अवस्थाबाट हामी मुक्त भएका छौं । त्यो हामीले बनाउन सके हामी बलियो बन्छौं । संसद विघटन भएको छ, केपी ओलीको डमी बनाएर जयजयकार छ । हामी यस्तो कार्यलाई पनि सही भन्दैनौं गलतलाई गलत र सहीलाई सही भन्छौं ।

सरकारमा टिक्नलाई मात्रै समाजवादीमा खुले भनेर टिप्पणी हुन थालेका छन् नि । मन्त्रीकै लागि समाजवादीमा लाग्नुभा हो ?

यो समय क्रमले देखाउँदैछ । दल नै ठूलो भइसकेपछि सरकारमा त जाने नै भयो । म समाजवादीको केन्द्रीय सदस्य बन्दा एमाले दलको नेताले कारबाही गर्न सक्थ्यो । म पद दाउमा राखेर खुलेको मान्छे हुँ । केही पाउनका लागि लागेको होइन । त्यो मन्त्री खानका लागि सरकार टिकाउनका लागि भन्ने कुरा गलत हुन् । हामी सिद्धान्तको राजनीति गर्छौं । 

सरकारको नेतृत्व गर्छ त समाजवादीले ?

अहिले दुईवटै पार्टीको सरकार रहन्छ । तेस्रो पार्टी सरकारमा आउनु परेन । अहिले सरकारको नेतृत्व परिवर्तनबारे छलफल नै भएको छैन । त्यो राजनीतिक सहमति हो । सुदूरपश्चिममा हामी स्पस्ट बहुमतमा छौं । कांग्रेस सरकारमा आउनु परेन । संघमा कांग्रेसको नेतृत्व भए पनि सबै प्रदेशमा भागबण्डा हुन्छ भन्ने छैन ।