कोरोना परीक्षण प्रयोगशालामा धनगढी स्थित प्रयोगशाला शत प्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छड्के जाँच अर्था क्रस भेरिफिकेशनमा धनगढी स्थित सेती प्रादेशिक प्रयोगशाला शत प्रतिशत सही र विश्वासयोग्य रहेको पुष्टि भएको हो ।
धनगढी प्रयोगशालामा कोरोनाको परिक्षणपछि रिर्पोट आए पनि क्रस भेरिफिकेशनका लागि पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्ट आएकाहरुको नमुना काठमाण्डौं पठाईएको थियो । काठमाण्डौं स्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा पनि धनगढी प्रयोगशालामा पोजेटिभ आएका पाँच जनाको काठमाडौँमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएकाको काठमाडौँमा पनि नेगेटिभ रिर्पोट आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताए ।
संघीय सरकारले आरटी–पीसीआर मेसिन पठाएका चैत २९ गतेदेखि धनगढीमा कोरोना परिक्षण सुरु भएको थियो । अहिलसम्म धनगढी प्रयोगशाला मार्फत ८ हजार तीन सय जनाको कोरोना परीक्षण भएको छ ।
धनगढी प्रयोगशालाको नेतृत्व शाहीले गरिरहेका छन् भने उनको टीममा कञ्चन विष्ट, अर्जुन भुसाल, आनन्द मण्डल, योगेन्द्र शाह, कृष्ण गौतम, चन्द्र भट्ट, पवन धामी लगायतका रहेका छन । ईन्चार्ज शाहीले प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीहरुको हौसला बढाउन सवैलाई वधाई दिदैं सामाजिक सञ्जालमा पनि खुशी साटेका छन् ।