धनगढी, २ भदौ – कैलाली धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयले राजनीतिक पूर्वाग्रही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै स्थानीय राजनीतिक दल र स्थानीय बासीले ताला बन्दी गरेका हुन् । उक्त वडामा ज्यालादारी कर्मचारीको रूपमा रामप्रसाद चौधरी र सहवीर खड्कालाई कामबाट हटाएर अरू कर्मचारी राखेको भन्दै स्थानीय जनता र राजनीतिक दलहरूले विरोधसँगै तालाबन्दी गरेका हुन् ।
स्थानीय राजनीतिक दलहरूले वडा कार्यालयमा ज्यालादारी कर्मचारी निकालिएको विषयमा वडा अध्यक्ष भुवन रिजालसंग कारण मागेका थिए । वडा अध्यक्ष रिजालले स्पष्ट जबाफ नदिएको र राजनीतिक पूर्वाग्रहीले कर्मचारी कर्मचारी हटाएको भन्दै ताला बन्दी गरेको नेकपा माओवादी केन्द्रका नेता मुरारी अधिकारीले बताए ।
विगत ५ बर्षदेखि निरन्तर ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई बिना कुनै जानकारी कामबाट हटाउनु गलत भएको नेपाली काँग्रेसका नेता लक्ष्मीप्रसाद देवकोटा बताए । कर्मचारी आवश्यक नभए हटाउनु स्वाभाभिक भएको बताउँदै देवकोटा कार्यरत कर्मचारी हटाएर सोही पदमा अर्को कर्मचारी राख्नु सरासर गलत कार्य भएकोले तालाबन्दी गरिएको उनको भनाई छ ।
यता धनगढी उप–महानरपालिका वडा नम्बर–१८ का वडा अध्यक्ष भुवन रिजालले नगर सभाको निर्णय बाहेक आफूले कुनै थप निर्णय नगरेको प्रतिक्रिया दिएका छन् । वडा कार्यालयमा तालाबन्दी भएसँगै वडाको दैनिक कामकाज भने प्रभावित भएको छ ।