काठमाडौं -आम चुनावका बेला डडेलधुरामा उम्मेदवार धेरै उठ्छन्, र अन्तिममा ‘शेरबहादुर दाइ’ले जित्छन् । चुनावको यो अंकगणित सुदूरपश्चिमको यो दुर्गम जिल्लाका लागि ज्यामितिको स्वयंसिद्ध तथ्यजस्तो बनिसकेको छ ।
०४६ मा प्रजातन्त्र पुनर्बहालीयताका कुनै पनि चुनावले यो तथ्य बदल्न सकेनन् । अघिल्लो चुनावलाई नै हेरौं न । देशभरि कांग्रेसले नराम्रो क्षति व्यहोर्यो । आक्रोशित नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाको राजीनामा मागे । देउवा उल्टै कड्किए, ‘तिमेरु चुनाव हारेर आउने । अनि राजीनामा मैले दिनुपर्ने ?’
हुन पनि रामचन्द्र पौडेल, शेखर कोइराला, विमलेन्द्र निधि, रामशरण महत, पूर्णबहादुर खड्कालगायत शीर्षस्थहरु सबका सब चुनावमा हारेका थिए । नयाँ पुस्ता आउनुपर्छ भन्ने विश्वप्रकाश शर्मालगायत पनि उनकै शब्दमा ‘उपविजेता’ मात्रै बनेका थिए । तत्कालीन महामन्त्री शशांक कोइराला, नेता गगन थापा, मिनेन्द्र रिजाललगायत जितेर त आए, तर देउवालाई रोक्न सक्ने कोही भएनन् ।
देउवालाई ज्योतिषीले सातपल्ट प्रधानमन्त्री बन्छौ भनेका छन् । २०७४ मा प्रकाशमान सिंहलाई हराएर संसदीय दलको नेता चुनिँदासम्म उनलाई संसदको यो कार्यकालमा आफ्नो पालो आउला भन्ने कमै लागेकै थियो होला । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली असंवैधानिक रुपमा दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्दा देउवाका लागि सत्तारोहणको ढोका खोल्दै गयो ।
यति हुँदैगर्दा प्रधानमन्त्री समेत रहेका देउवालाई पार्टीभित्र हेर्ने स्पष्ट दुई दृष्टिकोण छन् । एक पक्ष देउवाको महिमागान गाउँछ । देउवा प्रधानमन्त्री बनेको समय देशलाई र सभापति हुँदा कांग्रेसले अग्रगति लिएकोे दलिल पेश गर्छ । अर्को खेमाले देउवाप्रति बनाउने दृष्टिकोण भने नितान्त भिन्न छ । पार्टीमा उनी बलियो हुँदा कांग्रेस कमजोर हुँदै गएको तथा सत्ताको बागडोर सम्हाल्दा दललाई थप क्षति पुगेको संस्थापनइतरका नेताहरुको विश्लेषण छ ।
आम नागरिकमा पनि सम्भवतः बहुसंख्यकले देउवाको शासन सत्ता सञ्चालन शैलीलाई मन पराउँदैनन् । कतिपयमा उनी पराजित भएको देख्ने अभिलाषा पनि छ । तर, कांग्रेसको एउटा तप्का र कतिपय नागरिकको रुचिले देउवाको भूमिका कमजोर हुने देखिन्न । कारण हो–डडेलधुरामा देउवा थप शक्तिशाली बन्नु । आसन्न निर्वाचनलाई लिएर विश्लेषण गर्दै कतिपय भन्छन्, ‘२०४८ सालपछिकै सर्वाधिक मतान्तरले देउवाले आसन्न निर्वाचनमा जित्दैछन् ।’
प्रधानमन्त्री पद, गठबन्धनको मियो, स्थानीय तहमा बढेको शक्ति, वृद्ध उमेरका कारण प्राप्त सहानूभूति, कमजोर एमाले, प्रभाव विस्तार गर्न नसकेको कांग्रेस बीपी लगायतका कारणले देउवाले सातौं पटकको चुनावमा झन् फैलिने अवसर पाएका छन् ।
देउवालाई सर्वाधिक अनुकूल समय
देउवा २०४८ सालपश्चात् निरन्तर सबै निर्वाचनमा डडेलधुराबाट विजयी हुँदै आएका छन् । उनी हालसम्म ६ पटक निर्वाचित भइसके । मंसिर ४ को निर्वाचन उनका लागि सातौं प्रतिस्पर्धा हुनेछ ।
संसदीय निर्वाचनमा देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा जीत निकालेर रेकर्ड कायम राख्न सफल भएका छन् । उनी सबैभन्दा कम मतान्तरले विजयी भएको ०६४ सालको पहिलो संविधान सभाको पहिलो निर्वाचनमा हो । तत्कालीन समयमा उनले माओवादीका उम्मेदवार खगराज भट्टलाई एक हजार ३६८ मतान्तरले पराजित गरेका थिए भने २०७४ मा ६ हजार ९२९ मतान्तरले हराए । अन्य निर्वाचनमा मतान्तर अझ बढी छ ।
हेर्नुहोस् तालिका–
पछिल्लो तीन वटा चुनावमा देउवाका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भट्ट नै थिए । तर यो पटक माओवादी केन्द्र नै सत्ता गठबन्धनमा सहयात्री भएकाले देउवालाई थप सहज बनेको छ ।
भट्ट स्वयम् देउवाको खुलेर प्रशंसा गर्नेे अवस्थामा आइपुगेका छन् । ‘सुदूरपश्चिमको एउटा कुनो र गरिब परिवारमा जन्मिएको व्यक्ति हो । काठमाडौं आएर कोइराला परिवारको जबरजस्त रहेको पार्टीमा आफ्नो शक्तिलाई केन्द्रीय समितिमा दुई तिहाइ पुर्याउनुभएको छ,’ भट्ट भन्छन्, ‘गणेशमान सिंहले पार्टीभित्र स्ट्रगल गर्नुभयो, बाहिरिनुपर्यो । कृष्णप्रसाद भट्टराईले स्ट्रगल गर्नुभयो, बाहिरिनुभयो । गिरिजाप्रसाद जस्तो युगपुरुषसँग टकराउन सक्ने हैसियत सुदूरपश्चिमको एउटा व्यक्तिले गर्नसक्यो । त्यो क्षमता उहाँको असाधारण र कलाकै विषय हो ।’
अर्थात उनी यो पटक देउवालाई टक्कर दिने होइन, सघाउने र आफ्नो पनि सिट सुरक्षित गर्ने मुडमा छन् । विगतमा देउवासँग भिड्दै आएका भट्ट मुख्यमन्त्री बनाउने शर्तमा प्रदेश सभाको उम्मेदवार बन्न तयार देखिएका छन् । डडेलधुरा ‘क’ आफ्ना लागि उपयुक्त प्रदेश सभा क्षेत्र भएको भन्दै उनले भने, ‘मुख्यमन्त्री बन्ने सुनिश्चित भए प्रदेश सभामा प्रतिस्पर्धा गर्न तयार छु ।’ मुख्यमन्त्रीको सुनिश्चितता नभए कैलाली वा कञ्चनपुरको कुनै क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि छुट्याउनुपर्ने भट्टको माग छ ।
देउवाका लागि थप शक्ति आर्जन गर्ने माध्यम एमालेको विभाजन पनि बनेको छ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको डडेलधुरामा ठीकै उपस्थिति छ । २०७० को चुनावमा देउवासँग प्रतिस्पर्धा गरेका एमालेका पूर्व जिल्ला अध्यक्ष तारा जोशी स्वयम् एकीकृत समाजवादीमा छन् र सत्तारुढ गठबन्धनमा रहेको यो दल कांग्रेससँग चुनावी तालमेल गर्ने पक्षमा छ ।
देउवाले यो पटक उमेरजन्य कारणले सहानुभूतिको मत प्राप्त गर्ने कांग्रेस नेताहरुको आकलन छ । देउवाको उमेर ७६ पुगेको छ । ‘उहाँका लागि यो अन्तिम चुनाव हो,’ डडेलधुराका जिल्ला तहका एक नेता भन्छन्, ‘यसपछि उम्मेदवार नहुने भएकाले फेरि एकपटक जिताऔं भन्ने सेन्टिमेन्टमा डडेलधुरावासी छन् ।’
देउवाको अर्को सबल पक्ष डडेलधुराका नेता कार्यकर्तादेखि नागरिकलाई सधैं ढोका खुला राखिदिन्छन् । राज्य तथा पार्टीमा देउवा ३२ वर्षसम्म केन्द्रीय भूमिका साथै त्यसको वरपर रहे । बुढानीलकण्ठ होस् वा बालुवाटार छिर्न अन्यलाई जस्तो कठिनाइ डडेलधुरावासीलाई नभएको कांग्रेसमा चर्चा हुने गर्छ । ‘जो गए पनि भेट्छन्, सहयोग गर्छन् । चुनावमा राम्रो भोट पाउने पक्ष यो पनि हो,’ देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘पढ्न, उपचार गर्न, जागिर खोज्न काठमाडौं आउनेहरुका लागि देउवाकहाँ सहज पहुँच हुन्छ ।’
चुनावमा ‘खर्चपानी’ पेल्नसक्नेमा देउवाको नाम अग्रपंक्तिमै सुनिन्छ । खर्चिलो चुनावी प्रणालीमा समेत देउवालाई आर्थिकले समस्या पार्दैन । खर्च गर्नसक्ने नेता भएकाले पनि उनका लागि थप सहज हुने नेताहरु बताउँछन् । डडेलधुराका एक नेता ढुक्कै भन्छन्, ‘चुनावमा पैसाको केही मतलबै नगरी बाँड्छन् ।’ डडेलधुराको सन्दर्भमा अर्को रोचक पक्ष २०४८ देखि अहिलेसम्म एमालेको मतलाई बढाउन नसक्नु हो । २०७० लाई बिर्सिने हो भने २०४८ देखि हालसम्म उस्तै हाराहारीमा एमालेको मत आइरहेको छ ।
एमाले जिल्ला नेता गजेन्द्र शाही भने त्यसको प्रतिवाद गर्छन् । ‘जिल्लामा हामी नै दोस्रो शक्ति हौं । स्थानीय तहमा कांग्रेस र माओवादीले अघोषित तालमेल गर्दा पनि हाम्रो मत घटेको छैन’ शाहीले भने, ‘२०४८ मा एमालेले ल्याएको मत र अहिलेको मत आफैं हेर्नुस् ।’ जिल्लाभर हाल १२ हजार नयाँ मतदाता थपिएका छन् । युवाहरुको प्रतिनिधित्व गर्ने भन्दै सागर ढकालले देउवासँग भिड्ने घोषणा गरेका छन् । डडेलधुराका विभिन्न क्षेत्रमा पुगेर फर्किएका ढकालले मतदातासँग भएको छलफलले आशा बढाएको बताए । देउवाप्रति मतदातामा नैराश्य भएको उल्लेख गर्दै नतिजा आफ्नो पक्षमा आउने उनले दाबी गरे । तर कांग्रेस नेताहरु भने ढकालको उम्मेदवारीले कुनै प्रभाव नपर्ने बताउँछन् । जिल्ला सभापति भीम साउदले ढुक्कैसँग दाबी गरे, ‘सागर ढकालले पाउने मत बढीमा १५० हो ।’
डडेलधुराको राजनीतिलाई नजिकबाट हेरिरहेका एक राजनीतिज्ञ पनि यो पटक देउवालाई सहज देख्छन् । भन्छन्, ‘विकास निर्माण लगायतका काम केही भएको छैन । काम भएन भनेर हामीलाई प्रश्न गर्छन्, तर भोट चाहिँ देउवालाई हाल्छन् । डडेलधुरावासीको यो मनोविज्ञान मैले अहिलेसम्म बुझ्न सकेको छैन ।’
स्थानीय तहको बलियो आड
३० वैशाखको स्थानीय तहको निर्वाचनमा देउवा गृह जिल्ला पुगेर चुनावको बेला चार दिन अड्डा जमाए । २४ वर्षसम्म देउवाको अति निकट रहेका कर्णबहादुर मल्ल नेतृत्वको समूहले विद्रोह गरेको थियो । कांग्रेस बीपीमा पुगेको यो समूहले एमालेसँग तालमेल गरेर जिल्लाभर निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । एमाले र कांग्रेस बीपीको तालमेललाई असफल बनाउन पुगेका देउवाले अघिल्लोपटक भन्दा यसपटक जिल्लामा कांग्रेसको शक्ति बढाए । सातमध्ये पाँच पालिकामा कांग्रेसले जित्यो । अमरगढीमा मात्रै कम मतान्तरले कांग्रेस विजयी भएको छ ।
देउवाको सर्वाधिक चासो पनि त्यही अमरगढीमा थियो, जहाँ सदरमुकाम समेत पर्छ । अघिल्लो पटक आफूले जितेको यो नगरमा एमालेले कांग्रेस बीपीका प्रभावशाली नेता हरि भट्टलाई समर्थन गरेको थियो, जसको गर्खा (भूगोल) मा बलियो प्रभाव थियो । कांग्रेस उम्मेदवारको गर्खा सानो र भट्टको गर्खा ठूलो भएकाले पनि देउवा दबावमा थिए । ‘अघिल्लो चुनावमा कांग्रेसबाटै आफ्नो उम्मेदवार हराउन भूमिका खेलेका थिए । त्यही कारण देउवाले अहिले पनि त्यस्तै हुन्छ कि सोंचे’ कांग्रेस डडेलधुराका नेता भन्छन् ।
कांग्रेसका डिल्लीराज जोशीले कांग्रेस बीपीबाट मेयरका उम्मेदवार हरि भट्टलाई १९३ मतान्तरले हराए । भट्ट भने सत्ताको स्रोत साधनको दुरुपयोग गरी कांग्रेसले जितेको बताउँछन् । ‘जसरी पनि अमरगढी जित्नुपर्छ भनेर शेरबहादुर लाग्नुभयो । अमरगढीको चुनाव त देउवा र म लडे जस्तो भयो,’ भट्टले अनलाइनखबरसँग भने, ‘देशको सारा स्रोत साधन लगाउँदा पनि १९३ मतले जित्नुभएको हो । उहाँ कति बलियो कति कमजोर आफैं बुझ्नुस् ।’
अमरगढी बाहेक गन्यापधुरा, नवदुर्गा, परशुराम र भागेश्वरमा पनि कांग्रेसले जितेको छ । स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको मत अन्य दलको तुलनामा धेरै माथि छ । वडाध्यक्षमा पाएको मत जोड्दा कांग्रेसको २१ हजार ७३५ हुन्छ भने माओवादीको मत १२ हजार ८७८ देखिन्छ । चौथो शक्ति रहेको एकीकृत समाजवादीले ५ हजार ४१ मत पाएको छ । गठबन्धनमै रहेको अर्को शक्ति जसपाले १५६ मत प्राप्त गरेको छ ।
यो पटक एमालेले पाएकोे १० हजार ४४९ र कांग्रेस बीपीले पाएको ३६०४ बाहेकका सबै मत देउवाकै पक्षमा खनिने सम्भावना रहन्छ । अर्थात गठबन्धन जोगाउन सक्ने हो भने डडेलधुरामा देउवाको पक्षमा ३९ हजार ८१० मत देखिन्छ ।
कर्ण मल्ल पक्षले प्रभाव पार्न सक्ला ?
लामो समय देउवा निकट रहेका र हाल बीपी कांग्रेसतिर लागेका कर्ण मल्लको पक्षमा जिल्लाभर नेता कार्यकर्ता छन् । कांग्रेस बीपी जिल्लाभर संगठन विस्तार गर्ने प्रयासमा छ । तर, कांग्रेसलाई टक्कर दिने हैसियतमा पुगेको छैन ।
कर्ण मल्ल
मल्लको समूहले देउवालाई असर पुर्याउन नसक्ने कांग्रेस संस्थापन पक्षका नेताहरु दाबी गर्छन् । स्थानीय तहको निर्वाचनमा कांग्रेस अघिल्लोपटक भन्दा झनै बलियो डडेलधुरामा देखिएकाले उनको दाबीलाई पुष्टि पनि गर्छ ।
मल्ल पक्ष नै थियो, जसले देउवा पाँच पटकसम्म प्रधानमन्त्री हुँदा जिल्लामा विकासै भएन भन्ने भाष्य स्थापित गराउन खोजेको थियो । तर २४ वर्षसम्म देउवाकै वरपर रहेका मल्ललाई नागरिकले नपत्याइदिएको एक नेता बताउँछन् ।
‘कर्ण मल्ल २४ वर्षसम्म देउवासँगै थिए । पीए बसे । आर्थिक कारोबार हेरे । जुन व्यक्तिले उनीसँगै बसेर ‘पावर एक्सरसाइज’ गरेका थिए । उनले चाहिं जिल्लाको लागि के गरे त ?’ उल्टै प्रश्न मल्ल तिर फर्किएको जिल्ला तहका नेता भन्छन्, ‘कर्ण जीहरुको मुभमेन्टले शेरबहादुरजीलाई कमजोर होइन कि बलियो बनाइरहेको छ ।’
मल्ल पक्ष भने देउवाको शक्ति बढेको स्वीकार्न तयार छैन । गैरजिम्मेवार मान्छेहरुको बाहुल्य बढेको र त्यसको संरक्षणकर्ता देउवा बनेको आरोप मल्ल पक्ष लगाउँछ । स्थानीय तहमा एमालेसँग तालमेल गरेको कांग्रेस बीपी संघ र प्रदेशमा पनि सहकार्य गर्ने पक्षमा छ । यद्यपि तालमेलको विषयले मूर्त रुप लिई नसकेको कांग्रेस बीपीका केन्द्रीय सदस्य समेत रहेका हरि भट्ट बताउँछन् । कांग्रेस बीपीको केन्द्रीय उपाध्यक्ष समेत रहेका कर्ण मल्ललाई एमालेको सहयोगमा उम्मेदवार बनाई देउवालाई चुनौती दिने पक्षमा उक्त दल छ ।
कांग्रेस बीपीले देउवालाई कुनै असर नगर्ने कांग्रेस जिल्ला सभापति भीमबहादुर साउद दाबी गर्छन् । एमालेसँग तालमेल गर्दा समेत जिल्लाभर एउटा पनि स्थानीय तह जित्न नसकेको कांग्रेस बीपीको जिल्लामा आधार नै नरहेको उनी बताउँछन् ।