सुदूरपश्चिम प्रदेशमा काल बन्दै छाडा चौपाया
2022/08/27, 2:21
 
ss

धनगढी- धनगढीको छ लेन सडकमा सोमबारराति छाडा चौपायासंग मोटरसाइकल ठोक्कियो । राजपुर क्षेत्रमा भएको सो दुर्घटनामा एउटा गाईमात्रै मरेन । सवारी चालक धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटीको पनि ज्यान गयो । 

अत्तरियाबाट धनगढीतर्फ आउने क्रममा छ लेन सडकमा रहेका चौपायामाथि मोटरसाइकल ठोक्किएको थियो । दुर्घटनमा परी मृतककी श्रीमती पछाडि सवार सर्मिला राई घाइते भएकी छन् । 

गएको साउन १२ गतेपनि छ लेन सडकको सोही स्थानमा त्यस्तै दुर्घटना भएको थियो । अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको मोटरसाइकल छाडा चौपायामा ठोक्किदा पछाडि सवार धनगढी उपमहानगरपालिका–१ का ५५ वर्षीय निर्मल हमालको ज्यान गयो । मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–३ विशालनगरका ४४ वर्षीय वीरेन्द्र शर्मा घाइते भएका थिए ।

पछिल्लो एक महिना यता छाडा चौपायाका कारण भएका यी त केही प्रतिनिधि दुर्घटनामात्रै हुन । तर, सुदूरपश्चिम प्रदेशमा अहिले छाडा चौपायाले गर्दा सडक दुर्घटना विकराल बन्दै गएको छ । यो समस्या सबैभन्दा बढी तराईका जिल्ला कैलाली, कञ्चनपुरमा रहेको छ । 

छाडा चौपायाकै कारण सडक दुर्घटना बढिरहेको छ । दुर्घटनामा मान्छेले ज्यान गुमाइरहेका छन् । साथै, सवारी साधनको ठक्करबाट छाडा चौपायाको मृत्यु हुनेक्रम पनि बढ्दो छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्षभरि छाडा चौपायाकै कारण कैलाली, कञ्चनपुरमा ३० वटा सडक दुर्घटना भयो । जुन दुर्घटनामा दुई जना मान्छेको ज्यान गएको थियो । ३३ जना सवारी चालक र सवार व्यक्ति घाइते भए । 

सो आर्थिक वर्षभरि सवारी साधनमा ठोक्किएका २५ छाडा चौपायाको ज्यान गएको थियो भने पाँच छाडा चौपाया घाइते भएका क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षको हालसम्म छाडा चौपायाले गर्दा पाँच वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जुन दुर्घटनामा दुई जना मानिसको ज्यान जानूका साथै पाँच जना घाइते भएका छन् । 

यसैगरी, सवारी साधनसंग ठोक्किएर आठ चौपाया मरेका छन् । तीन छाडा गाईगोरु घाइते भएका जनाइएको छ । सडक, खेत, वन क्षेत्रमा जथाभावी छोडिएका छाडा चौपाया किसानको लागिमात्रै नभइ ट्राफिक प्रहरी, स्थानीय तह सबैको टाउको दुखाइको विषय बनिसकेका छन् । 
 

दूध दिंदा र हलो जोत्ने कार्यमा प्रयोग आउँदासम्म घरमा राख्ने तर, दूध दिन र हलो जोत्न नसक्ने भएपछि जथाभावी गाईगोरु छाड्ने प्रवृत्तिले कैलाली, कञ्चनपुरमा छाडा चौपाया बढ्दै गएका छन् । बढ्दै गएका छाडा चौपायाले ठूलठूला समस्या निम्त्याइ रहेका छन् । राति राजमार्ग, चौक र सडक कब्जा गरेर बस्ने चौपाया दुर्घटनाको मुख्य कारक बनिरहेका छन् ।

राजमार्ग, सडक र सहरमा लस्करै देखिने छाडा चौपाया सडक दुर्घटना न्यूनीकरणमा ठूलो चुनौती बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वकिल सिंहको भनाइ छ । छाडा गाईगोरुका कारण दिनानुदिन दुर्घटना भइरहेको उनले बताए ।

‘छाडा चौपायाको व्यवस्थापन नभएसम्म यो समस्या न्यूनीकरण हुँदैन’, उनले भने,‘ट्राफिक प्रहरी एक्लै लागेरमात्रै दुर्घटना न्यूनीकरण हुँदैन । हामी सक्दो प्रयास गरिरहेका छौं । तर, नियम बनाउने, नियमन गर्ने सबै निकायसहित हरेक तह र तप्काबाट छाडा चौपाया व्यवस्थापनको काम हुन जरुरी छ ।’

मुलुक नयाँ संरचनामा गएपछि धेरै स्थानीय तह र जनप्रतिनिधिले छाडा चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेका थिए । छाडा चौपाया व्यवस्थापनका लागि बर्सेनि करोडौं बजेट पनि खर्च गरियो । तर, समस्या समाधान हुनुका सट्टा झन बल्झिदैं गएको छ ।एक ठाउँबाटमात्रै नभइ अन्य पालिका, जिल्ला र भारतबाटसमेत छाडा चौपाया आउने कारणले व्यवस्थापन गर्न कठीन रहेको धनगढी उपमहानगरपालिकाका पशु शाखा प्रमुख समिर ठाकुर बताउँछन् ।

‘छाडा चौपाया एक ठाउँकोमात्रै नभइ देशकै ठूलो समस्या हो’, उनले भने,‘भारतबाटसमेत यतै छाडा गाईगोरु आउने कारणले व्यवस्थापन गर्न गाह«ो छ ।’ गौरीफन्टा नाका लगायत क्षेत्रबाट भारतबाट हुलका हुल छाडा चौपाया आउने गरेको ठाकुरको भनाइ छ । ‘अन्य पालिका र कञ्चनपुरबाट त छाडा चौपाया आउँछन, आउँछन्’, उनले थपे,‘अहिले भारतबाट पनि आउने क्रम बढ्दो छ । सके जति हामीले व्यवस्थापनको प्रयास गरिरहेका छौं ।’ 

धनगढी नगरपालिकामा छाडा चौपाया व्यवस्थापनका लागि देवहरियामा गौशाला रहेको छ । त्यसमा साढे तीन सय जति गाईगोरु व्यवस्थापन गर्न सकिने जनाइएको छ । त्यस्तै, वडा नम्बर ३ मा पनि गौशाला सञ्चालन भएको छ ।