उनी बस व्यवसायी मात्र थिएनन । नेकपाको प्रतिबद्ध कार्यकर्ता पनि थिए । र उनले आफ्नो पहिचान भने कुनै पार्टीको कार्यकर्ताका रुपमा सिमित राखेनन । उनी भ्याएसम्म सबैको मलामी जान्थे । विवाह तथा सामाजिक कार्यहरुमा सहभागिता जनाउन पनि उनी चुक्थेनन । कोरोना संक्रमित भईसक्दा पनि उनको सक्रियता कम भएन । किनकी उनलाई संक्रमित भएको थाह थिएन । त्यहीबीचमा पनि बिबाहमा गए । मलाम गए ।
थाहै नपाई उनलाई कोरोनाले गलाईसकेको थियो । तर उनी थाकेका थिएनन । अन्तिम समयसम्म पनि परिवारले उनलाई काठमाण्डौं लैजाने हरसंम्भव प्रयत्न ग¥यो । परिवारका सदस्यहरुले हेलिकोप्टर तथा एयर एम्बुलेन्सको व्यवस्थापनका लागि स्थानीय सरकारलाई गुहारे । प्रदेश सरकारसंग अनुनय बिनय गरे । संघीय सरकारसंग आग्रह गरिरहे ।
निकै मिहिनेतपछि वुधवार उनलाई काठमाण्डौं लैजान वायु सेवा निगमको सानो जहाजको व्यवस्थापन भएको थियो । तर त्यतिबेला सम्म ढिला भईसकेको थियो । राति ७ बजेर ५२ मिनेटमा उनले सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा अन्तिम सास छोडे । गोदावरी नगरपालिका—४ का ४६ वर्षीय बस व्यवसायीको कोरोनाको मृत्यु भएपछि यतिबेला सामाजिक सञ्जालमा उनको मृत्युमा समवदेना र परिवारप्रति सहानुभूति दिने क्रम जारी छ । यद्दपि यति धेरै मान्छेले समवेदना र श्रद्धाञ्जली दिईरहदा उनको लाशमा धुप चढाउने कोही थिएन । उनको शवमा दागवत्ती दिने कोही थिएन । जो भ्याएसम्म सबैको मलामी गए । उनकै मलामी कोही थिएन ।
मृत्यु भन्दा ठूलो क्षति अर्को छैन । र यो भन्दा ठूलो पीडा परिवार र प्रियजनका लागि अर्को हुदैन । कोरोनाको संक्रमण र यसबाट हुने मृत्यु कति पीडादायी हुन्छ, त्यसको उदाहरण हो, उनको मृत्यु । बिहीवार दिउँसो धनगढी उपमहानगरपालिका—२ मोहना नदीको घाटमा उनको शवको अन्त्येष्टि हुदै गर्दा परिवारका १० जना मात्र त्यहाँ थिए । उनीहरुले पनि नजिकबाट शव हेर्न पाएनन ।
नेपाली सेनाको टोलीले शवको अन्त्येष्टि ग¥यो । सेनाले अन्तिम संस्कारका लागि पण्डित पनि संगै लगेको थियो । केही दिनअघि मात्र कोरोनाको मृत्यु भएकाको शव व्यवस्थापन गर्ने तालिम लिएको नेपाली सेनाको भवानी दल गणको टीमले उनको शवको अन्त्येष्टि ग¥यो । कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाउन जोखिम हुने भएकोले गाड्ने गरिएको छ । त्यही कारण उनको शव जलाईएन । सेनाले नै अन्तिम संस्कारका सबै बिधि पु¥याएर शव गाडे । र सेना व्यारेकमा फिर्ता भयो ।