भरखरै नेकपा एकिकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमै फर्केका तारालामा तामाङलाई एमालेले प्रतिनिधीसभाका लागी सिफारिश गरेको छ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट तामाङ सहित ३ जनाको नाम सिफारिश भएको हो । एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले आइतबार तामाङ, खेम सुवेदी र बीर बहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिश गरेको हो ।
प्रतिनिध सभा सदस्यका लागि सिफारिश गरिएकामधये तामाङ सुदूरपश्चिम प्रदेश सभा सदस्य छन् । एमाले विभाजनपछि एकीकृत समाजवादी गएका तामाङ केही दिन अघि मात्रै एमाले फर्किएका थिए । २०७४ को निर्वाचनमा उनी एमालेबाट निर्वाचन क्षेत्र नं १ क मा प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । सुदूरपश्चिम प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला मन्त्री तामाङ एमाले कञ्चनपुरका पूर्व जिल्ला अध्यक्ष हुन् । उनी विघटित नेकपाका जिल्ला सचिव थिए ।
२०५४ को स्थानीय निकाय निर्वाचनमा सानै उमेरमा तत्कालिन कालिका गाविसको अध्यक्षमा निर्वाचित भएका उनी २०७० को संविधान सभा सदस्य निर्वाचन लडेका थिए । उनी थोरै मतले हारेका थिए । प्रतिनिधि सभा सदस्यका अर्का उम्मेदवारद्वय सुवेदी र थापा प्रदेश कमिटी सदस्य छन् । सुवेदी एमाले अखिल नेपाल किसान संघको राजनीतिमा सक्रिय छन् । माओवादी छाडेर एमाले आएका थापा एमालेका निवर्तमान जिल्ल्ला अध्यक्ष हुन् ।