कञ्चनपुर-गौमाता तथा सामुदायिक चौपाया व्यावस्थापनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाले संयुक्त कार्यदल गठन गरेको छ। आइतबार भीमदत्त नगरपालिकाका आर्थिक विकास समिति संयोजक एवम् वडा नम्बर ३ का अध्यक्ष गगनसिंह धामीको संयोजकत्वमा १३ सदस्यीय संयुक्त कार्यदल गठन गरिएको भीमदत्त नगरपालिकाले जनाएको छ।
भीमदत्तका नगर प्रमुख पदम बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, उपप्रमुख तुलसी जोशी, प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्ट लगायतको उपस्थितिमा बसेको संयुक्त बैठकले दुवै पालिकाका सामुदायिक चौपाया व्यवस्थापनका लागि कानुनी मस्यौदा तयार गर्न १३ सदस्यीय कार्यदल गठन गरेको भीमदत्तका नगर प्रवक्ता महेन्द्र खड्काले बताए। ‘आइतबार भीमदत्त र वेदकोट नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापनका लागि संयुक्त कार्यदल गठन गरेको छ,’ उनले भने, ‘उक्त कार्यदलले १५ दिनभित्र कानुनी मस्यौदा तयारी गरी पेश गरिसकेपछि थप काम अगाडि बढ्नेछ।’
भीमदत्तका नगर प्रमुख बोगटीले भीमदत्तले मात्रै गौमाता तथा सामुदायिक चौपाया व्यवस्थापन गर्दा वेदकोटबाट फेरि चौपाया आउने र वेदकोटले मात्र व्यवस्थापन गर्दा भीमदत्तबाट चौपाया उता जाने बताउँदै दुवै पालिकाले मिलेर व्यवस्थापन गरे मात्र समस्या समाधान हुने बताए। उनले सो विषयमा वेदकोटका प्रमुख, उपप्रमुखसँग छलफल गरी कानुनी मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको बताए। ‘भीमदत्त र वेदकोट दुवै पालिकाले गौमाता तथा नंदीको व्यवस्थापन गरे मात्र यो समस्या समाधान हुन्छ,’ नगर प्रमुख बोगटीले भने, ‘त्यसैले सहकार्य गर्ने विषयमा वेदकोटका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग छलफल भएको छ। संयुक्त कार्यदल समेत गठन गरिएको छ।’
केहीदिन अगाडि नगर प्रमुख बोगटीको नेतृत्वको टोलीले सामुदायिक चौपाया व्यवस्थापनका लागि वेदकोट नगरपालिका–४ बैतडास्थित सम्भावित जग्गाको अवलोकन समेत गरेको थियो। ‘केहीदिन पहिला चौपाया व्यवस्थापन गर्न दुवै पालिकाबीच सहकार्य गर्ने प्रारम्भिक निर्णय भएपछि बैतडास्थित रहेको जग्गाको अवलोकन गरिएको थियो,’ नगर उपप्रमुख निलम लेखक जोशीले भनिन्, ‘त्यही अवलोकन गरिएको जग्गामा दुवै पालिकाका चौपाया व्यवस्थापन गर्न छलफल भएको छ।’ उनले अगाडी भनिन्, ‘गौमाता तथा नंदी व्यवस्थापनका लागि हामी निर्वाचित भएदेखी निरन्तर लागिरहेका छौँ। प्रयास गरिरहेका छौँ र यसको व्यवस्थापनका लागि सबैको साथ सहयोगको पनि आवश्यकता छ।’
वेदकोटका उपप्रमुख जोशीका अनुसार साुमदायिक चौपाया व्यवस्थानका लागि बैतडामा रहेको १२ विघा भन्दा बढी जमिनको अवलोकन गरिएको छ। त्यही जग्गामा चौपाया व्यवस्थापन गर्न भीमदत्त र वेदकोटबीच छलफल भएको छ। साुदायिक चौपाया व्यवस्थापनका लागि भीमदत्त नगरपालिकाले यसअघि गौ संरक्षण अभियानका अभियन्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समयदेखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगायतसँग समेत छलफल गरेको थियो।