कञ्चनपुर- कञ्चनपुरको माहाकाली प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सुरु भएको छ । अस्पतालमा भर्ना भएकी एक महिलाको पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको हो । भीमदत्त नगरपालिका–३ की ५४ वर्षीया कौशिला देवी कोलीको पित्तथैलीसंँगै एपेन्डिक्सको समेत शल्यक्रिया गरिएको डा.जनार्दन जोशीले बताए ।
जोशीका अनुसार माहाकाली अस्पतालमा एपेन्डिक्स, हर्नियाँ, भेरिकोशिल लगायतका शल्यक्रियाहरू यस अघिदेखि नै सुरु भएको थियो भने पित्त थैलीको शल्यक्रिया पहिलो पटक गरिएको हो । पित्तथैलीको पत्थरीको शल्यक्रिया प्राय दूरबिन विधिबाट गरिन्छ । तर अस्पतालमा दूरबिन विधिका लागि उपकरण अभाव रहेको उनले बताए ।
अहिले महाकाली प्रादेशिक अस्पतालमा सर्प दंशको उपचार पनि प्रभावकारी बन्दै गएको छ । विगतमा सघन उपचार कक्ष र भेन्टिलेटरको अभावमा यहाँ सर्प दंशका बिरामीको उपचारमा समस्या हुने गरेको थियो । अहिले जटिल अवस्थामा पुगेका बिरामीको समेत भेन्टिलेटरमा राखेर उपचार हुने गरेको हो ।