धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडमा पुल भत्किएको दुई बर्ष हुन लाग्दा पनि मर्मत तथा निर्माणमा कसैको ध्यान जान सकेको छैन् । वडा नम्बर १२ जुगेडा ए गाउँको महाकाली टोलमा रहेको पुल भत्किएको दुई बर्ष हुँदा पनि मर्मत तथा नयाँ निर्माण हुन नसकेको हो । नयाँ पुल निर्माणका लागि कुरा भएको सुनिएको लामो समय भएपनि निर्माण तर्फ ध्यान नदिईएको स्थानीय वासिन्दा छविराज जोशीले खबरकुञ्जलाई ईमेल मार्फत जानकारी दिएका छन् ।
पुल मर्मत नहुँदा बिरामी भएमा एम्बुलेन्स लगायतका कुनै पनि सवारी साधन चल्न नसकिने अवस्थाको पुल रहेको छ । बिरामी, किसान र विद्यार्थी लगायत टोलका बासिन्दहरु मर्कामा परेको स्थानीय वासिन्दा जोशीले बताए । ‘न त वडा कार्यालयले चासो देखाएको न त उपमहानगरपालिकाले वास्ता गरेको छ । पुल कहिले बन्छ थाहा छैन ।’ उनले भने–‘छिटो बनेमा आवतजावतमा सहज हुने थियोे । टोलका वासिन्दाहरुलाई राहत हुने थियो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेश जोशीले भने ग्राबेलको टिप्पर चढ्दा पुल भत्केकोले ठुला गाडीलाई आवतजावत रोकिएको बताए । सो गाउँमा जानका लागि अर्को वाटो समेत नभएका कारण धनगढी उपमहानगरपालिकाले चैतमा नै मर्मत र निर्माण गर्ने निर्णय भएपनि लकडाउनका कारण बनाउन नसकिएको वडाध्यक्ष जोशीले जानकारी दिए । आगामी आर्थिक बर्षको बजेटमा सो पुल निर्माणका लागि ५ लाख बजेट विनियोजन भएको र आगामी बर्ष निर्माण हुने उनले बताए ।