स्वास्थ्य चौकीको फार्मेसीमा ब्युटीपार्लर
2020/06/27, 4:34
 
beauty

कैलालीको एक स्वास्थ्य चौकीको फार्मेसीमा औषधी होइन, ब्युटीपार्लरका सामान पाइन्छ भन्दा पत्यार नलाग्ला । तर यथार्थ हो ।  जिल्लाको कैलारी गाउँपालिका ८ पृथ्वीपुरस्थित प्राथमिक स्वास्थ्य चौकीको फार्मेसीमा ब्युटीपार्लरका टिप्सका साथै सामान पाइन थालेको हो । सो स्वास्थ्य चौकीले फार्मेसी बन्द गरेर एक व्यक्तिलाई ब्युटीपार्लन सञ्चालन गर्न दिइएपछि फार्मेसी सञ्चालनमा आएको हो ।

स्वास्थ्य चौकीका प्रमुख रुपा बिकले फार्मेसी हटाएर फार्मेसी राखिएको भवनमा एक ब्यक्तिलाई ब्युटीपार्लर पसल सञ्चालन गर्न दिएको बताइन् । जनशक्ति अभावका कारण सञ्चालनमा रहेको फार्मेसी बन्द भएको बताउँदै उनले सो फार्मेसी भवन खाली भएपछि भाडामा ब्युटीपार्लर सञ्चालन गर्न दिएको स्थास्थ्य चौकीकी प्रमुख बिकले जानकारी दिइन् ।

सञ्चालनमा रहेको फार्मेसी बन्द भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । स्वास्थ्य चौकीबाट दैनिक करिब ५० जना बढीले सेवा लिदै आएका विरामीहरु मारमा परेका छन् । फार्मेसी बन्द भएपछि स्वास्थ्य चौकीले निजी क्लिनिकबाट औषधी खरिदको लागि समझौता गरेको स्वास्थ्य चौकी प्रमुख बिकले जानकारी दिइन् ।

जुन क्लिनिकबाट सेवाग्राहीहरु महंगोमा औषधी किन्न बाध्य भएका छन् । त्यस्तै स्वास्थ्य वीमा कार्यक्रम सञ्चालन हुँदै आएको सो स्वास्थ्य चौकीमा सो कार्यक्रम प्रभावित भएको छ । सो कार्यक्रम अन्तरगत औषधी बिक्रि वितरणको जिम्मा पनि सो क्लिनिकलाई नै दिइएको बताइएको छ ।

स्वास्थ्य चौकीको सो कार्यप्रति स्थानीयहरु विरोध जनाउँदै आएका छन् । स्थानीय अजित चौधरीले स्वास्थ्य चौकीले सेवाग्राहीलाई प्रभावकारी तथा सुलभ सेवा दिनुको साटो निजी क्षेत्रलाई पोस्ने काम गरेको बताए । स्वास्थ्य चौकीले विरामीको स्वास्थ्य सम्बन्धी अधिकार कुण्ठित गरिरहेको पनि स्थानीय अजित चौधरीको भनाइ छ ।

स्वास्थ्य चौकीले पछिल्लो ८ महिनादेखि फार्मेसी बन्द गरेर ब्युटीपार्लर सञ्चालन गर्न दिएको जनाइएको छ । जसबाट मासिक १५ सय रुपैया ब्युटीपार्लर सञ्चालकबाट स्वास्थ्य चौकीले असुली गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कैलारी गाउँपालिका वडा नंं ८ का वडा अध्यक्ष दुखीराम कठरियाले बताए ।

अध्यक्ष कठरियाले भने–‘फार्मेसी बन्द भएपछि केही आम्दानी होस भएर ब्युटीपार्लर सञ्चालन गर्न दिएका हौ । अब पुुनः फार्मेसी सञ्चालनको पहल भैरहेको छ । सम्भवतः २ महिनाभित्रै सञ्चालन गर्ने तयारीमा छौ ।’

  • लखन चौधरी, लोकान्तर