कैलालीमा ११ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ मा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक वर्षीय दिपेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।
कैलारी गाउँपालिका-२ का २९ बर्षिय दिपेन्द्र चौधरी (कुश्मि) लाई ११ वर्षीया बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको छ । ३२ जेठमा बालिकाको बलात्कार भएपनि राजनीतिक दबाबका कारण घटना गाउँमै मिलाउने प्रयास भएको स्रोतले बताएको छ। "प्रहरी अथवा बाहिर घटना सार्वजनिक नगर्नु बरु पैसा कति चाहिन्छ हामी दिन्छौ, यदि प्रहरीलाई भनेको खण्डमा राम्रो हुने छैन भनी धम्की आएका कारण प्रहरीकोमा उजुरी दिन सकेका थिएनौं", बालिकाको आफन्तले बताएका छन् । बलात्कारपछि चौधरीले बालिकालाई समेत धम्की दिएका कारण घटना ढीलो गरी सार्वजनिक भएको हो।
अत्यधिक रक्तस्राव भएपछि १० असारमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागी ल्याउँदा बलात्कारको रहस्य खुलेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक जबराले अस्पतालमा कार्यरत प्रहरीले जानकारी गराएपछि बालिकाको आफन्तलाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेको बताए ।
अहिले पनि बालिकाको गाउँमा मुद्दा मिलाउन दबाब आइरहेकोले आफूहरू गाउँमा असुरक्षित भएको बालिकाको परिवारले बताएका छन्।