विष्ट मृत्यु प्रकरणः वर्तमान र पूर्व वडाध्यक्षसहित तीन जना पक्राउ
2022/12/08, 4:34
 
ss

भोट हाल्न गाउँ जाने क्रममा नरसिंह विष्टको हत्या गरिएको प्रकरणको अनुसन्धानका लागि वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्।मंसिर ३ गते रातिदेखि बेपत्ता भएका दार्चुलाको ब्यास गाउँपालिकाका विष्ट निर्वाचनको दिन हत्या गरिएको अवस्थामा फेला परेका थिए।

विष्टको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आधारमा थप अनुसन्धानका लागि प्रहरीले गाउँपालिकाका वर्तमान वडाध्यक्ष ४३ वर्षीय झुनसिंह विष्ट, पूर्व वडाध्यक्ष ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय स्थानीय मोहनसिंह विष्टलाई नियन्त्रणमा लिएको हो।

बुधबार उनीहरूलाई नियन्त्रणमा लिई सोधपुछका लागि ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। दार्चुलाको सदरमुकाम खलंगामा होटल चलाउँदै आएका विष्ट निर्वाचनमा भोट हाल्न भन्दै मंसिर ३ गते घर जान हिँडेको परिवार स्रोतले जनाएको छ। 

भोलिपल्ट पनि घर नपुगेपछि उनको खोजी सुरू गरिएको थियो। सो क्रममा मंसिर ४ गते घर नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेका थिए।मृतकको शरीरमा चोटपटक पनि देखिएको थियो। अनुसन्धानका लागि प्रहरीले सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरेको थियो। मंसिर १२ गते प्रहरीले दीपकको घटनामा संलग्नता पुष्टि भएको भन्दै सार्वजनिक गरेको थियो। 

दीपकले प्रहरी समक्ष आफूले मादक पदार्थ सेवन गरी विवाद भएका बेला टाउकोमा ढुंगा प्रहार गरेर हत्या गरेको भनेका थिए।यस विषयमा प्रहरीले अन्य केही व्यक्तिको संलग्नता रहेको सूचना पाएपछि अनुसन्धान जारी राखेको छ।