भारतको बैङ्लोर घुम्न गएका कञ्चनपुरका एकजना मृत भेटिए
2022/12/15, 3:15
 
भारतको बैङ्लोर घुम्न गएका कञ्चनपुरका एकजना मृत भेटिए

कञ्चनपुर - भारतको बैङ्लोर घुम्न गएका कञ्चनपुरका एकजना मृत भेटिएका छन् । भारतको बैङ्लोर घुम्न गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका हेमराज अवस्थी मृत फेला परेका हुन्। बुधबार राति बैङ्लोरस्थित सडकमा उनको शव सडकमा भेटिएको आफन्तले बताएका छन्।

नेकपा एमालेका वडा कमिटी सदस्यसमेत रहेका करिब ४० वर्षीय अवस्थी एक साताअघि ठूलो बुबाको छोरा (दाजु) सँग बैङ्लोर गएका थिए। दाजु त्यहीँ जागिरमा छन्। उनका काका नाता पर्ने एमालेका नेता जनकराज अवस्थीका अनुसार बैङलोरस्थित दाजुको घरबाट साँझ घुम्न निस्किएका उनको शव फेला परेको हो। मृत्युको कारण भने खुलेको छैन। शव घर ल्याउन प्रक्रिया सुरु गरिएको छ। पूर्व नेपाली सैनिक अवस्थी बागफाँटास्थित घरमै बसेर एमालेको राजनीतिमा सक्रिय थिए।