महाकाली नदीमा अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी
2022/12/16, 12:07
 
महाकाली नदीमा अस्थायी तटबन्ध हटाउनमा भारतको आनाकानी

दार्चुला – भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा बनाएको अस्थायी तटबन्ध हटाउनमा ढिलाइ गरिरहेको छ । मंसिर २१ मा भएको सहमति भारतले कार्यान्वयन गर्न आनाकारी गरिरहेको हो । मंसिर २१ गते नेपाली र भारतीय प्रशासनका बीच भारतको धारचुलामा अस्थायी अर्थात कृतिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो। तर १० दिन बित्न लाग्दासमेत भारतले उक्त ढुंगामुगां र तारजालीसहितको तटबन्ध हटाएको छैन् ।

यदि सो तटबन्ध भारतले नहटाए वर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ । जिल्ला सदरमुकाम खलंगापारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र त्यत्तिकै नापमा चौडा पक्की तटबन्ध बनाइरहेको छ । तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर होचिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनुभएको छ। नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको भारतलाई सो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन भनिने उनले बताए । नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने मंसिर २१ गतेमा सहमति भएको उनले बताए ।भारतले पक्की तटबन्ध भन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुदै आएको छ ।