अम्रिसोको कुचो बनाएर ३ लाख आम्दानी (भिडियो रिर्पोट)
2022/12/25, 12:57
 
ss

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका स्थानीय वासिन्दाहरु अम्रिसोको कुचोबाट आम्दानी गर्न थालेका छन् । चुरे फेदीमा रहेको गाउँका स्थानीय वासिन्दाहरु ऐश्वर्य सामुदायिक वनमा आबद्ध भएर अम्रिसोलाई आम्दानीको श्रोत बनाउन सफल भएका हुन् । अम्रिसोको कुच्चो बनाएर स्थानीय बजारहरुमा विक्री वितरण भईरहेको छ । 

वनभरी रहेको अम्रिसो चार बर्षदेखि स्थानीय वासिन्दाहरुको आम्दानीको प्रमुख माध्यम बनेको छ । अम्रिसोबाट कुचो बनाएर बिक्रीबाट सामुदायिक वन र स्थानीय वासिन्दाले आम्दानी गरिरहेको ऐश्वर्य सामुदायिक बवन उपभोक्ता समितिकी सचिव रत्नादेवी वोहोराले बताईन् ।
सामुदायिक वनले ४० हेक्टरमा अम्रिसो लगाएको छ । अहिले अम्रिसो काटनेदेखि कुचो बनाउन भ्याइ नभ्याइ भएको छ । सामुदायिक वनले गत वर्ष अम्रिसोबाट बनाइएका ३ लाख बढीको कुचो बिक्री गरेको छ । यस वर्ष ४ देखि ५ लाखसम्मका कुचो बिक्री गर्ने लक्ष्य राखिएको वनका कार्यालय सचिव दामोदर जोशीले बताए । 

अम्रिसो काटनेदेखि कुच्चो बनाउने काममा स्थानीय उपभोक्ताले नै रोजगारी पाएका छन । सामुदायिक वनले एउटा कुच्चो बनाए बापत १५ रुपैयाँसम्म दिने गरेको छ । उक्त कुचो ५० देखि ७० रुपैयाँमा थोक मुल्यमा बिक्री हुने गरेको वनका अध्यक्ष ईन्द्र बुढाले जानकारी दिए । 
यस वर्ष अम्रिसोका २० हजार बिरुवा रोपिएको छ । विगत चार बर्षदेखि ४० हेक्टर क्षेत्रफलमा अम्रिसो लगाउनदेखि भण्डार र बजारीकरणसम्म पश्चिमी तराई भुपरिधी कार्यक्रमले सहयोग गर्न थालेपछि स्थानीय वासिन्दाहरुलाई राहत भएको छ ।

निकुञ्ज नजिकै रहेका कारण हात्तीले अम्रिसो नष्ट गर्दै आएकोमा संरक्षणका लागि तारबार गरिएपछि उत्पादन र आम्दानी बढ्दै गएको छ ।