सुदूरपश्चिम सरकारले किनेका तीन वटा पीसीआर मेसिनका सामाग्री धनगढी पुगे
2020/06/28, 7:05
 
korona

सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका तीन वटा पीसीआर मेसिनका सामग्री धनगढी पुगेका छन । प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका मेसिनका सामाग्री धनगढी आइपुगेका हुन ।

चार करोड २७ लाख ९२ हजारमा डिवी मेडिसिन धनगढीले प्रयोगशालाका लागि आवश्यक सामाग्री आपूर्ति गरेको आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए । 
आपूर्तिकर्ताले सामग्री ढुवानीसँगै जडानको काम समेत गर्ने छ । प्रयोगशालाका लागि आवश्यक केही सामग्री आपूर्ति केन्द्रमा राखिएको भएपनि मुख्य मेसनीहरु आउन र  प्रयोगशालामा जडान हुने क्षेत्रमा लगिने उनले बताए ।

सेती प्रादेशिक अस्पतालले स्वास्थ्य कार्यालय कैलालीको भवनमा कोरोना परिक्षणका लागि प्रयोगशाला सञ्चालन गर्ने बताएको छ । यस्तै जिल्ला अस्पताल डोटी र बैतडीमा पनि प्रयोगशालाका लागि भौतिक संरचना तयार पारिएको दावी गरिएको छ । सुदूरपश्चिम प्रदेशको मन्त्री परिषदले प्रदेशका तीन ठाउँमा कोरोना परीक्षण प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो । सेती प्रादेशिक अस्पताल, जिल्ला अस्पताल डोटी र बैतडीमा मेसिन जडान गर्ने योजना प्रदेश सरकारको छ ।