दार्चुलामा निर्माण भैरहेको माथिल्लो चमेलिया जलविद्युत आगामी वैशाखभित्र सञ्चालनमा आउने
2023/01/13, 5:56
 
dd

दार्चुलामा निर्माण भैरहेको माथिल्लो चमेलिया जलविद्युत निर्माण आगामी वैशाखभित्र सञ्चालनमा आउने तयारी भएको छ। अपि पावर कम्पनी लिमिटेडले आफ्नो छैठौं आयोजनाका रूपमा निर्माण गरिरहेको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।

कम्पनीका कार्यकारी सञ्चालक सञ्जिव न्यौपानेका अनुसार कम्पनीले आफ्नो छैठौं आयोजना स्वरुप ४० मेगावट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दार्चुला जिल्लामा बहने चमेलिया नदीमा उक्त आयोजना निर्माण भइरहेको छ। आयोजनाको निर्माण कम्पनीले २४ महिना भित्रै सम्पन्न गर्न लागेको हो। कम्पनीको यो छैठौं आयोजनाको निर्माण पश्चातकम्पनीले शेयरधनीहरूलाई अझ आकर्षक लाभांश दिनसक्ने जनाएको छ।

यो आयोजना २०८० वैशाखभित्र सञ्चालनमा आउने र हाल आयोजनाको विद्युत गृह, सर्ज ट्यांक, सबस्टेसनको निर्माण कार्य शतप्रतिशत सम्पन्न भइसकेको कम्पनीले बताएको छ। एलान्मेण्टतर्फ ८०० मिटर पाइप जडानको अन्तिम कार्य तथा बाँधस्थलको अन्तिम सिभिलकार्य भइरहेको छ। आयोजनामा जेपर्ट, अष्ट्रलिया आयात गरिएका मेसिनहरू साइटमा जडानको कार्य समेत सुरु गरिएको छ। आयोजनामा हिमालयन बैंकको अगुवाईमा रहेका कन्सोर्टियम बैंकहरूको लगानी रहेको छ।उक्त आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको चमेलिया जलविद्युत आयोजनाको बलाँच सवस्टेशनमा १३२ केभिका टावरहरूबाट जडान गरिनेछ।

दार्चुला जिल्लामा कम्पनीले यस अघि ८।५ मेगावट क्षमताको नौगड गाढ जलविद्युत् आयोजना र ८ मेगावट क्षमताको माथिल्लो नौगडगाढ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिरहेको छ। दुईवटा जलविद्युत आयोजनाहरू र तीनवटा सौर्य आयोजनाहरू सञ्चालन गरिरहेको यो कम्पनीले आफ्नो संस्थापनकालबाट नै सेयरधनीहरूलाई लाभांश वितरण गरिरहेको नेपालको यो एक ठूलो उर्जा कम्पनी रहेको छ। कम्पनीले मिश्रित उर्जा नीतिलाई आत्म साथ गर्दै ४ मेगावट क्षमताको चन्दनिगापूर सौर्य आयोजना, १ मेगावट क्षमताको ढल्केवर सौर्य आयोजना र १ मेगावट क्षमताको सिमरा सौर्य आयोजनाको निमार्ण सम्पन्न गरी यी सौर्य आयोजनाहरू समेत राष्ट्रिय प्रशारण लाइनमा प्रवाह गरिरहेको छ।