जातीय छुवाछूत हटाउन गाउँपालिका भान्छेमा नेपाली
2023/01/22, 4:41
 
dd

स्थानीय तहका जनप्रतिनिधिले नातागोता र आफ्नै घरका सदस्यलाई भान्छे र स्वकीय सचिव राख्ने प्रवृत्ति बढेका बेला बैतडीको शिवनाथ गाउँपालिकाले समाजमा हुने जातीय छुवाछूत हटाउन दलित समुदायका व्यक्तिलाई खाना पकाउने भान्छे नियुक्त गरेको छ। 

समाजमा हुने जातीय विभेद हटाउनुपर्छ भन्ने सन्देश दिन गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई भान्छे नियुक्त गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । नेपाली कांग्रेसका नेता कर्ण साउद शिवनाथ गाउँपालिका अध्यक्षमा विजयी भएपछि उहाँले गाउँपालिकाको भान्छेमा प्रकाश नेपाली औजीलाई नियुक्त गर्नुभएको हो। साउद दोस्रो पटकको स्थानीय तहको निर्वाचन २०७९ मा पनि गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको छ। 

समाजमा व्याप्त कुरीति र कुसंस्कार हटाउने आफ्नो ध्येय रहेकाले प्रकाश नेपालीलाई गाउँपालिकामा खाना पकाउने भान्छे नियुक्त गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताए । गाउँ समाजमा अहिले पनि दलितले छोएको नखाने परम्परा कायमै रहेका बेला नेपालीलाई भान्सेमा नियुक्त गरेपछि समाजका टाठाबाठा कहलिएका व्यक्तिको आलोचना खेप्नु परे पनि अहिले सबैले कुरा काट्न छाडेको अध्यक्ष साउदले बताए । पढाइ छाडेर भारत जाने तयारीमा रहेका बेला गाउँपालिकाले बोलाएर भान्छेको नियुक्ति दिँदा सुरुमा त विश्वास नै नलागेको शिवनाथ गाउँपालिका–२, सनकोट गाउँका प्रकाश नेपालीले बताए । 

भने, “घरको आर्थिक अवस्था निकै कमजोर छ। पढाइ पूरा गर्न नसकेपछि जीविका चलाउन भारत जाने तयारी गरिरहेको थिए तर मलाई गाउँपालिकाले बोलाएर खाना पकाउने भान्छेको नियुक्ति दियो। सुरुमा त विश्वास नै लागेन। म पाँच वर्षदेखि शिवनाथ गाउँपालिकाको भान्छेका रूपमा कार्यरत छु। खाली समयमा कम्प्युटर सिक्दै पढाइमा खर्च गरिरहेको छु।”

गाउँपालिकाका भान्से प्रकाश नेपाली अहिले भान्छेका रूपमा काम गर्दै प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइसमेत पूरा गर्नुभएको छ। नेपालीले हालै शिक्षकसेवा आयोगको निमावि तहको लाइसेन्सको परीक्षासमेत दिएको बताए । समाज बदल्न भौतिक विकास निर्माणसँगै सामाजिक कुरीति र कुप्रथा हटाउनु पनि स्थानीय सरकारको दायित्व भएकाले दलितलाई भान्छे नियुक्त गर्न कार्यपालिकाको निर्णय नै गरेर कार्यान्वयन गरेको शिवनाथ गाउँपालिकाले जनाएको छ। 

स्थानीय तहका जनप्रतिनिधिले नातागोतालाई काखी च्याप्ने होइन, समाजको पिँधमा रहेका, शोषण र उत्पीडनमा परेका वर्गलाई अवसर दिँदा सानो कुराले पनि ठूलो परिवर्तन आउँछ भन्ने कुरा पुष्टि गरेको गाउँपालिका अध्यक्षले बताए ।  बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर कुल १० स्थानीय तह रहेका छन्। अधिकांश स्थानीय तहमा भान्छे र सहयोगीका रूपमा जनप्रतिनिधिले आफन्त र नातागोतालाई नियुक्त गरेर तलब खुवाउँदै आइरहेका छन्।