व्यवस्थित बनाइदै बैतडीको खोड्पे बजार
2023/01/25, 2:44
 
ss

बैतडीको खोड्पेबजार व्यवस्थित पार्न थालिएको छ । तीन जिल्ला बैतडी, दार्चुला र बझाङको यात्रुहरू आउने मुख्य चौराहाका रुपमा चिनिएको यो बजारलाई अहिले व्यवस्थित पार्न थालिएको हो । खोड्पे बजारलाई सुन्दर व्यवस्थित बनाउन अहिले सरोकारवालाहरुले विभिन्न प्रयास गरिरहेका छन् । खोड्पे बजार व्यवस्थापन समिति, जनप्रतिनिधि, खोड्पे प्रहरी चौकी लगायत सरोकारवालहरुको सर्वपक्षीय बैठेकले मंगलबार बजार क्षेत्रमा जथाभावि पार्किङ् गर्न र ठुलो आवाजमा गाडीका हर्न बजाउन नपाइने निर्णय गरेको वडा अध्यक्ष हरिश विष्टले जानकारी दिए ।

अध्यक्ष विष्टले बजारलाई प्रदुषणमुक्त र दुर्घटना रहित बनाउन मंगलबार बसेको बैठकले हर्न निषेध र पार्किङ गर्न नपाइने निर्णय गरेको बताए । मंगलबार  गरिएको निर्णय  कसैले  उल्लंघन गरेमा कारवाही गरिने बजार व्यवस्थापन समितिले जनाएको छ । यस्तै टिकट काउन्टरमा मात्रै काट्ने, पसलहरुमा मुल्यसूची राख्ने र बजार क्षेत्रमा लुडो खेल्न नपाइने समेत निर्णय भएको उनले बताए । साथै उनले  निर्णयको कार्यान्वयनका लागि पनि सबैलाई अनुरोध गरेका छन् ।

बुधबार देखि लागु हुने गरि निर्णय भएकाले कार्यान्वयनका लागि उनले सबैमा आग्रह गरेका हुन् । यस्तै वडाको सहयोगमा बजार क्षेत्रलाई सुन्दर बनाउन र  नागरिकलाई  जानकारी सहित सचेत पार्न स्वागतम लेखिएको बोर्ड, हर्न निषेध, फोहोर निषेध,सीमा प्रारम्भ,सीमा समाप्त, लेखिएका बोर्ड र सरसफाइ सामग्री सहित ६० वटा डस्टबिन खरिद गर्ने निर्णय समेत भएको वडा अध्यक्ष विष्टले बताए । ध्वनी प्रदुषणमुक्त बनाउने उदेश्यले जिल्लाका  अन्य बजारहरुमा पनि अहिले हर्न बजाउन निषेध गरिदै छ ।