लाटोकोसेरोको महत्त्व र संरक्षणका लागि घोडाघोडीमा ‘लाटोकोसेरो महोत्सव’ हुँदै
2023/01/27, 5:43
 
लाटोकोसेरोको महत्त्व र संरक्षणका लागि घोडाघोडीमा ‘लाटोकोसेरो महोत्सव’ हुँदै

धनगढी - लाटोकोसेरोको महत्त्व र यसको संरक्षणका लागि कैलालीमा लाटोकोसेरो महोत्सव लाग्ने भएको छ । कैलालीको घोडाघोडीमा आगामी माघ २० र २१ गते नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव लाग्ने आयोजकले जनाएको छ । पछिल्लो समय लाटोकोसेरोको तस्करी र शिकार बढ्न थालेपछि महोत्सव आयोजना गर्नुपरेको आयोजकले जनाएको छ ।

धार्मिक हिसाबले देवी लक्ष्मीको वाहनका रूपमा चिनिने लाटोकोसेरो किसानको साथीका रूपमा पनि चिनिन्छ । बिहान उज्यालो भएको र रात परेको समेत संकेत गर्ने यो चरा पछिल्लो समय चोरी शिकारी र तस्करीका कारण लोप हुँदै गएको छ । पर्यावरणलाई सन्तुलित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने लाटोकोसेरो चरा पछिल्लो समय चोरी शिकारी तथा तस्करीको चपेटामा पर्दा विस्तारै लोप हुने खतरा बढ्दै गएको हो ।

मुसा, किरा, फट्याङग्रा, सर्प तथा भ्यागुताको संख्या नियन्त्रण गर्ने लाटोकासेरोले प्रकृतिलाई स्वस्थ बनाउने गर्दछ । यति मात्रै नभएर धार्मिक हिसाबले देवी लक्ष्मीको वाहनका रूपमा चिनिने लाटोकोसेरो किसानको साथीका रूपमा पनि चिनिन्छ । लाटोकोसेरोको महत्त्व नबुझेकै कारण पछिल्लो समय यसको चोरी तस्करी बढेपछि कैलालीमा यसको संरक्षणकै लागि लाटोकोसेरो तथा हुचिल उत्सव हुन लागेको चरा संरक्षण नेतवर्कका कैलाली जिल्ला अध्यक्ष डी आर चौधरीले जानकारी दिए ।

अध्यक्ष चौधरीले घोडाघोडी बर्ड स्यन्चुरी क्षेत्रमा हुने उत्सवमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरा सम्बन्धि म्युजियम प्रदर्शनी गरिने जानकारी दिए । महोत्सवमा साईं किचकिच, छुर टीटी, कोइली दीदी, भुरुङ लगायतका खेलको समेत प्रदर्शनी हुने छ ।

महोत्सवमा स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरूको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य समेत राखिएको छ । यसअघि, यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङजा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका, इटाली र भारतमा पनि मनाइन्छ ।

गैंडालगायत वन्यजन्तुकै हाराहारीमा शिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा समेत चासो बढेको प्रकृतिका साथहरु संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिए । उनले औषधि, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा यिनको अवैध कारोबार हुँदा वार्षिक दुई हजारभन्दा बढी लाटोकोसेरो मारिने गरेको बताए ।

कैलालीको घोडाघोडीस्थित माघी होमस्टेमा रहेको नवप्रभात विद्यालयमा आयोजना हुन लागेको लाटोकोसेरो महोत्सवले माघी होमस्टेको पनि प्रवर्द्धन हुने अपेक्षा लिइएको छ । नेपाल तथा भारतका चरा विशेषज्ञहरूको सहभागिता हुने उत्सवले बढीभन्दा बढी जानकारी दिने उद्देश्य राखेको छ ।