सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको अभियोगमा तमोली पक्राउ
2023/01/31, 4:32
 
सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको अभियोगमा तमोली पक्राउ

डडेल्धुरा  -  सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा डडेल्धुराका सुरत तमोली पक्राउ परेका छन् । विगत लामोसमयदेखि जथाभावी लेखेर सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका अमरगढी नगरपालिका वडा नम्बर १ मालमका तमोलीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो ।

 

पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए ।

 

पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र यहाँका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले निवेदन दिएको थियो ।

 

तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए । पटकपटक सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले जानकारी दिए ।