पूर्ण खोप घोषित पालिकाः अझै खोपको पहुँच बाहिर बालबालिका
तीन बालबालिकामा दादुरा पुष्टि
2023/02/01, 5:12
 
ss

कैलालीलाई २०७४ सालमा पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो । त्यसयता हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिदै आएको छ । धनगढी उपमहानगरपालिकालाई असार २९ गते पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरियो । धनगढीसंगै कैलाली जिल्लालाई असार ३१ र सुदूरपश्चिम प्रदेशलाई असोज ३० गते पूर्ण खोप घोषणा गरियो । 

राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरी विभिन्न रोगहरुबाट सुरक्षित हुन सकून् भन्ने उद्देश्यका साथ पूर्ण खोपको अवधारणा सुरु भएको हो । पूर्ण खोप सुनिश्चिता कार्यक्रम २०६९ साल बाट सुरु भएको हो । पूर्ण खोप भन्नाले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्थालाई बुझिन्छ । तर, बुधबार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ का तीन जना बालबालिकामा दादुरा पुष्टि भयो । धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले चार जनाको नमुना पठाएकोमा तीन जनामा दादुरा पुष्टि भएको जानकारी दिए । तीन बालबालिकामा दादुरा पुष्टि भएसंगै पूर्ण खोप घोषित पालिकाले दिगोपना कायम गर्नमा कमजोरी देखाएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

दादुरा देखिनुले पूर्ण खोप पालिका, जिल्ला तथा प्रदेशमै प्रश्न चिन्ह खडा भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । ‘सबै बालबालिका खोपको पहुँचमा रहेमात्र पूर्ण खोप पालिका, जिल्ला तथा प्रदेश भन्न मिल्छ’ उनले भने –‘बालबालिकामा दादुरा पुष्टिले खोपको पहुँच बाहिर अझै रहेको भन्ने देखाउँछ ।’  पूर्ण खोपको पहुँच बाहिर रहेका तीन बालबालिकामा दादुरा पुष्टि भएपछि महामारी प्रतिकारात्मक खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

दादुरा पुष्टि भएका बालक छ र चार वर्षका हुन भने एक बालिकामा पनि दादुरा पुष्टि भएको तर, बालिकाको उमेर भने खुलाइएन । ‘ठूलो बच्चालाई पहिले ९ महिनामा एक पटक खोप लगाएको भन्ने आएको छ,’ स्वास्थ्य शाखा प्रमुख अवस्थीले भने ‘सानो बच्चा ४ महिनाको हुँदा खेरीनै भारत गएको र कोभिडपछि फर्किन नपाएर नलगाएको भन्ने छ ।’ चार वर्षिय बालकले दादुराको एक खोप पनि लगाउन नपाएको उनको भनाई छ ।

उनीहरुमा दुई हप्ता अघि ज्वरो आएको थियो । बालबालिकालाई चेकजाँचका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लग्दा दादुराको लक्षणको आशंका गरिएको उनले बताए । ‘चार जना बालबालिकामा ज्वरोको साथै शरिरमा साना बिबिरा पनि देखिन थालेपछि उनीहरुलाई दादुरा पनि जाँच गर्न लगाइयो तर यहाँ त्यसको परिक्षण नहुने हुँदा नमुना काठमाण्डौ पठाइयो’ उनले भने –‘बुधबार मात्रै चार जनामध्ये तीन जनामा दादुरा नै भएको पुष्टि भइसकेको छ ।’  ‘वडाका केही बालबालिकालाई पूर्ण खोप नलगाई दिँदा दादुराका लक्षण देखियो’ उनले भने –‘दादुरा रोगको निवारण गर्न सो क्षेत्रमा दादुरा रुवेला खोप अभियान बिहिबारदेखि शुरु गरिने छ ।’

उनका अनुसार वडा नम्बर १ का तीन स्थानमा खोप केन्द्र राखेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रूवेला खोप बिहिबारदेखि तीन दिनसम्म लगाईने छ । पशुपति टोलमा देखिएको हुँदा १९ गते त्रिवेणीचोकमा रहेको सनराइज ईङलीस बोर्डिङ स्कुल, २० गते राष्ट्रिय मदरसा स्कुल र २२ गते सरस्वती आधारभूत विद्यालयमा खोप केन्द्र राखि सबै बालबालिकालाई दादुरा रुवेला खोप लगाईने छ ।  एक नम्वर वडामा कति जनाले खोप लगाएको छ वा छैन भन्ने कुराको तथ्याङक संकलन गर्ने काम भइरहेको र अर्को खोप अभियान सुरु भएको छ । खोप लगाएको वा नलगाएका जो सुकैलाई पनि एक डोज फेरी खोप लगाइने अवस्थीले बताए ।