करोडौं खर्चेर लगाइएको जैतुन खेती अलपत्र
2023/02/06, 1:45
 
dd

बाजुराको बूढीनन्दा नगरपालिका–२ को जनप्रकाश माध्यमिक विद्यालयको मैदानमा करोडौँ खर्चेर लगाइएको जैतुन खेती अलपत्र परेको छ ।  जैतुनको परियोजना सकिएसँगै अहिले जैतुनको बगैँचा पनि अलपत्र भएको हो । इटालियन सरकारको सहयोगमा सन् २००६ मा लगाइएको जैतुन सन् २०१६ मा सफल भएको भन्ने प्रतिवेदन तयार पारिएको थियो। सोही प्रतिवेदनका आधारमा परियोजनाले बाजुराको कोल्टीमा जैतुन खेती विस्तार गरेको थियो । त्यसपछि पिलुचौर जैतुन जोन कार्यालय स्थापना गरेर कुन्ना क्षेत्रका विभिन्न ठाउँमा जैतुनको खेती सञ्चालन गरिँदै आएको छ । 

परियोजना सकिएसँगै जैतुनमा लगानी नहुँदा कोल्टीको जैतुन सकिँदै पनि गएको छ । परियोजनाले स्थानीय सरकारलाई हस्तान्तरण गरे पनि स्थानीय सरकारले यसको संरक्षण र संवद्र्धन गर्न नसक्दा जनप्रकाश माविको प्राङ्गणमा रोपिएको जैतुन दिन प्रतिदिन सुक्दै जान थालेको छ ।   परियोजना सफल भएको भन्दै बाजुरामा जैतुन सम्भावनाबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशितसँगै सरकारले जैतुनका नाममा बाजुरा कार्यक्रम नै सञ्चालन गरेका थियो । इटालियन सरकारले बाजुरा, डोल्पा र काठमाडौँमा परीक्षण गरेको थियो । सो परीक्षणका लागि १४ लाख युरो खर्च भएको बताइन्छ । त्यसमध्येको ५० प्रतिशत रकम त बाजुरामा मात्रै खर्च भएको थियो । 

बाजुरामा सात लाख युरो खर्च भएको देखिन्छ । सो रकम नेपाली दरअनुसार नौ करोड १९ लाख २४ हजार हुन आउँछ । नौ करोडभन्दा बढी खर्च गरेको जैतुन अहिले बिरुवा सुकिसकेको छ भने अर्को जनप्रकाश माविका विद्यार्थीको शौच गर्ने ठाउँ बनिरहेको छ । परीक्षणका लागि कोल्टीमा लगाएको जैतुन ३।५ हेक्टर जमिनमा ६३६ बिरुवा रोपिएको छ । त्यसमा २८ प्रजातिका जैतुन लगाइएको थियो । त्यो बेला २४ प्रजातिका बिरुवा फलेको परियोजना अधिकृत जनेश भण्डारीले बताए । त्यसमध्ये नेपाल सरकारलाई सफल भएको भन्दै १० जातका जैतुन सिफारिस गरेको भण्डारीले बताए । सरकारले नेपालका १० जिल्लामा सम्भावित जैतुन खेती हुने बताएको थियो । कर्णाली अञ्चलका पाँच जिल्ला, सेतीका बाजुरा, बझाङ, अछाम र भेरीका रुकुम तथा जाजरकोटमा जैतुन खेती हुने बताएको छ ।